• धनगढी,  २९ वैशाख

    कैलालीमा सार्वजनिक सवारी अभावका कारण मतदाता आफ्नो निर्वाचन क्षेत्रमा जानबाट वञ्चित हुन थालेका छन् ।

    मतदानका लागि अन्तिम समयमा मात्रै धनगढी छोड्नेको संख्या उच्च हुँदा सार्वजनिक सवारीको अभाव हुन थालेको बुझिएको छ । ‘दुई दिन देखि बसपार्क धाइरहेको छु,’ धनगढीका धुर्बराज जोशीले भने, ‘तर पनि टिकेट पाइएन, टिकट नपाएपछि मतदान गर्न जान समस्या भएको छ ।’ 

    बझाङको छबिस पाथिभेरा गाउँपालिका घर भएका जोशीले टिकट नपाएर धेरै मतदाता धनगढीमै रोकिएका बताए । ‘३–४ दिन अघि सम्म उम्मेदवारले बस बुकिङ गरेर मतदाता ओसार्ने काम गरिरहेका थिए,’ उनले भने, 'व्यवसाय छिट्टै बन्द हुने भएका कारण अन्तिम समयमा जानुपर्छ भनेर रोकिएँ, अहिले बस नपाएर समस्या भयो ।’

    मतदानकै लागि भारतबाट आएका बाजुराको त्रिवेणिका हर्कबहादुर अयडीले पनि बस नपाएर धनगढीमा रोकिनुपरेको गुनासो गरे । ‘मंगलबार राती हामी नेपाल पुगेका हौं,’ उनले भने, ‘तर यहाँ बस नपाएर बसिरहेका छौं, बुधबार बिहानै जाने सोच भए पनि धनगढीमै बस्नु परेको छ ।’ समितिले एउटा अतिरिक्त बसको व्यवस्था गरेको भए पनि सो बसमा यात्रु नअटाएका उनले बताए । ‘मतदान गर्नका लागि नोकरी छोडेर भारतबाट नेपाल आयौं,’ उनले भने, ‘तर यहाँ बस नपाएर समस्या भएको छ, भारत फर्कौं भनेपछि सीमा नाका बन्द भएका छन्, धनगढीको होटेलमा बसेर कमाएको पैसा सकिने जस्तो छ ।’

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मंगलबार र बुधबार पहाडी क्षेत्रमा जाने सवारीको चाप अन्य समयको भन्दा बढेको छ । नियमित सवारी बाहेक अतिरिक्त सवारी मार्फत पनि यात्रुहरू आ–आफ्नो गन्तव्य तर्फ जान थालेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । केही यात्रुले भने सवारी नपाएर अत्तरिया बसपार्कमा लामो समय बस्नु पर्ने समस्या रहेको जनाइएको छ । 

    यातायात व्यवसायीका अनुसार मतदाता अन्तिम समयमा मात्रै धनगढी छाड्न थालेका  र उम्मेदवारहरूले केही सार्वजनिक सवारीका साधनलाई बुकिङ गरेर लगेका कारण सर्वसाधारणका लागि सार्वजनिक यातायातको अभाव हुन थालेको हो ।

    ‘अहिले यात्रुको चाप पनि उच्च छ,’ सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम साप्कोटाले भने, ‘त्यसमाथि पनि सबै यात्रु अन्तिम समयमा मात्रै आ–आफ्नो क्षेत्रमा जान खोजेका कारण सार्वजनिक सवारीको अभाव भएको देखिन्छ, त्यसका लागि व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।’
    व्यवसायी र दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग अन्तिम समयमा मात्रै आ–आफ्नो मतदान स्थल जान थालेका उनले बताए । ‘भारतबाट पनि अन्तिम समयमा मात्रै मतदाता भित्रिए,’ अध्यक्ष साप्कोटाले भने, ‘काठमाडौंबाट पनि धेरै मानिस आए एकैपटक धेरै मानिस आउँदा अहिले धनगढीमा सार्वजनिक यातायातका साधनको अभाव भएको हो ।’

    यात्रुको चाप धेरै भएपछि ६ वटा अतिरिक्त बस पहाडी क्षेत्रमा पठाइएको उनले बताए । अन्य यातायात व्यवसायी संघहरूले पनि केही अतिरिक्त सवारी पठाएका छन्,’ उनले भने, ‘तर पनि पुगिरहेको छैन, अव काठमाडौं जाने सवारीलाई पनि पहाडी क्षममा पठाउने तयारी गर्दै छौं ।’

    चुनावी समयमा उम्मेदवारले समेत धेरै सवारी बुकिङ गरेर राखेका कारण यस्तो समस्या भएको अध्यक्ष सापकोटा बताउँछन् । उनले यात्रुको चाप बढेका थप अतिरिक्त सवारीको व्यवस्था गर्न सकिने बताए । ‘सवारी अभावका कारण मतदान गर्ने अधिकारबाट कोही पनि वञ्चित नहोउन् भन्ने कुरामा हामी गम्भीर छौं,’ अध्यक्ष साप्कोटाले भने, ‘बिहीबार सम्म सबै यात्रुका लागि सवारीको व्यवस्थापन गरिने छ ।’

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…