• बैतडी, १६ साउन

    बैतडीको सुर्नया गाउँपालिका–१ हटैराजका कृतबहादुर चन्द २०७३ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गए । पाइप कम्पनीमा अपरेटरको काम गर्न गएका उनलाई मजदुरको काममा लगाइयो । साथै उनलाई मासिक १८ सय साउदी अरबियन रियाल पारिश्रमिक हुने भनिए पनि १४ सय रियाल मात्रै दिइयो । यसबाहेक खान बस्नसमेत आफैंले व्यहोर्नु पर्दथ्यो । र पनि यही सुविधामा चित्त बुझाएका चन्दलाई आफ्नै गाउँलेले भने रातदिन दुःख दिइरहे । 

    ‘मेरै गाउँका मोहन चन्दले मलाई खाल्डोमा हाल्ने, पासोमा झुण्ड्याउनेदेखि करेन्ट लगाउनेसम्म यातना दिए । अन्तिममा काम गर्ने क्रममै मेरो हातका औँलाहरू काटिएपछि म घर फर्किएँ,’ उनले भने । ४६ वर्षीय चन्दका बायाँ हातका औलाहरू चल्दैनन् । 

    काम गर्ने बेला मेसिनले थिचिएर औलाहरू काटिएको उनले बताए । आफू घाइते हुँदा बिमाबापतको रकम वा अन्य कुनै राहत नपाएको बताए । 
    उनले भने, ‘म घाइते हुँदा नेपाली १५ लाख रकम पाइन्छ भन्ने सुनेको थिएँ । तर, एक रुपँयाँ पनि पाउन पाइँन ।’ आफूलाई झुक्याएर बिमाबापत पाउने रकम अरुले नै खाइदिएको हुन सक्ने उनको आशंका छ । 

    ‘म अनविज्ञ रहेको अरबी भाषामा केही कागजातहरू पनि बनाइए । त्यही कागजमा मलाई दस्तखत र औँँठाछाप गर्न भनियो । मैले जे भन्यो त्यही गरेँ । तर रकम भने पाइएन । मेरो रकम मलाई फसाउने मान्छेहरूले खाएको हुनसक्छ,’ उनले आशंका व्यक्त गरे । 

    चन्दले साढे ३ वर्ष साउदी अरबमा काम गरेर पनि बिना पैसा घर फर्किन बाध्य भएको बताए । उनले भने, ‘मेरै गाउँलेले मलाई रातदिन सताउने, खान र सुत्न नदिने, मेरो घरका मान्छेहरूसँग मान्छेले झगडा गर्ने भएकाले कोरोना कहरका बेला जसोतसो ज्यान जोगाएर घर पुगेँ ।’ 

    घर फर्किन ६० हजार रकम खर्च गरेको उनले बताए । गाउँकै नरेन्द्र चन्दले मेनपावर कम्पनीसँग गरिदिएको सम्पर्कका आधारमा एक लाख ५० हजार रकम खर्च गरेर वैदेशिक रोजगारीमा गएको उनले बताए । 

    विदेशमा काम गर्दा घाइते भएका चन्दलाई बिमा रकम वा राहत रकम लिन कहाँ जाने के गर्ने भन्ने विषयमा जानकारी नै छैन । 

    विदेशमा घाइते भएका व्यक्तिले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत केही रकम प्राप्त गर्न सक्ने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । 

    उनले भने, ‘विदेशमा काम गर्दागर्दै घाइते भएकोमा बिमा लगायत कुनै राहत पाउने व्यवस्था हुनसक्छ । त्यसका लागि राजदूतावासमार्फत कारबाही प्रक्रिया थाल्न सकिन्छ । माग भएका कागजातहरू तयार गरेर रकम पाउन सकिनेछ ।’

सम्वन्धित समाचार

लन्डन, २ असोज परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजक…

लन्डन । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्…

लण्डन, १ असोज गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मे…

लन्डन,  २१ भदौ बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री …