• खोटाङ,  १६ साउन 

    खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ मेग्नेच्युडको भूकम्पले ४७ वटा घर चर्किनुका साथै एक घर भत्किएको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु मात्तिमविर्तामा मात्र ४५ घर चर्किएको वडाध्यक्ष जीवन न्यौपानेले बताए । 

    मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बस्नै नमिल्नेगरी चर्किएको छ । ५ वडा रहेको साकेला गाउँपालिकाका अन्य वडामा पनि भूकम्पको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले बताए । 

    प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईका अनुसार मात्तिमविर्तामा २७ वटा घर चर्किएको छ । सोही भूकम्पका कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको छ । 

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गंगा राईको घर बस्नै नमिल्नेगरी चर्किएको वडाध्यक्ष कमल गिरीले बताए । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ध्रुव पौडेलको पुरानो घर चर्किएको छ । २०७२ सालको भूकम्पले चर्किएको सो घर आइतबारको भूकम्पले थप चर्किएको हो । 

    क्षति मूल्यांकनका लागि पत्राचार

    हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गए लगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरेको हो । 

    भूकम्पबाट भौतिक एवं मानवीय क्षतिको तत्काल एसेसमेन्ट गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगरप्रमुख विमला राईले बताइन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…