• भैरहवा,  ३० भदौ

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा छाडा चौपायाको व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको छ । छाडाचौपायाका कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको हो ।

    नगरमा छाडाचौपायाको रूपमा विशेष गरी गाई-गोरु र कुकुर छन् । बुधवार वडा नम्बर ६ स्थित शिवदास हलुवाईको फर्ममा ५ वटा गाई-गोरुको कानमा ट्याग लगाएर योजनाको सुरुवात गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । 

    सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खानले नगरमा छाडाचौपायाको व्यवस्थापन योजना अन्तर्गत नगरमा कृषक र पालन गरिएका गाई-गोरुको तथ्यांक संकलन गरी छाडा छाडिने गाई-गोरुको नियन्त्रणका लागि उनीहरूको कानमा ट्याग लगाइएको बताए । 'अहिले हामीले कृषकले पालन गरेका गाई-गोरु छाडा नछाडुन् भन्ने उद्देश्यले पहिचानका लागि गाई-गोरुको कानमा ट्याग लगाउन सुरु गरेका छौँ', नगर प्रमुख खानले भने । यसले छाडा छाडिने चौपाया (गाईगोरु) को संख्यामा नियन्त्रण हुने उनको विश्वास छ ।

    कृषकले पालन गरेका गाई-गोरुको पहिचानका लागि नम्बरको आधारमा उनीहरूको कानको ट्याग लगाइएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् । 'कानमा ट्याग लगाइएकोले कृषकहरूले अब गाईगोरु छाडा छाड्दैनन् भन्ने विश्वास छ' उनले भनिन्, 'ट्याग लगाइएको पशु कसैले छाडेको पाइएमा सजिलै पहिचान हुने र पहिलो पटकको लागि दस हजार जरिवाना कारबाही गरिनेछ ।' नगरमा छाडाचौपायाका कारण सवारी दुर्घटना हुनुका साथै अनेक समस्या छन् ।

    सिद्धार्थनगरमा खुल्ला सीमाका कारण भारत र छिमेकी पालिकाहरूबाट पनि छाडा चौपाया आउने गरेका छन् । नगर क्षेत्रका सडकमा रहेका छाडा चौपाया (गाईगोरु) को व्यवस्थापनका लागि कान्जी हाउस निर्माणको योजना रहेको र छिट्टै निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । जसका लागि वडा नम्बर ११ मा स्थलगत निरीक्षण गरी स्थलको पहिचान गरिएको छ ।

    यस्तै छाडाचौपायाको व्यवस्थापन अन्तर्गत नगरका सडक क्षेत्रमा रहेका भुस्याहा कुकुरको पनि व्यवस्थापन गर्ने योजना रहेको र सञ्चालित यस योजना पश्चात् भुस्याहा कुकुरको व्यवस्थापन तर्फ लागिने उनको भनाई छ ।

    छाडा चौपायाको व्यवस्थापनका लागि सिद्धार्थनगरको एकल प्रयासले मात्र नभई छिमेकी पालिकाहरूले पनि योजना सञ्चालन गर्नुपर्ने र यसले समग्र क्षेत्रलाई नै फाइदा पुग्ने सरोकारवालाहरूको भनाई छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…