• काठमाडौं, १३ कात्तिक

    दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ ।

    प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ । देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो ।

    यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । फिल्मले शुक्रबार देशभर एक करोडको ग्रस कलेक्सन गरेको थियो । शनिबार फिल्मको व्यापार साढे एक करोड रहेको निर्माता रविन्द्रसिंह बानियाँले जानकारी दिए । दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन गरेको फिल्मले यो साता लगानी सुरक्षित गर्दै निर्मातालाई मुनाफाको बाटोमा डोर्याउने पक्का छ ।

    आइतबार पनि सार्वजनिक बिदा परेको छ । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । आइतबारको बिहानी शो उच्च अकुपेन्सी रहेको र दिउँसोको शो हाउसफुल रहेको निर्देशक भट्टराईले जानकारी दिए । टिकट बिक्रीका आधारमा आइतबार ‘महापुरुष’ ले एक करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने देखिएको छ । यदि त्यति व्यापार गरेमा फिल्मले तीन दिनमा साढे तीन करोड ग्रस कलेक्सन गर्ने देखिन्छ । यो नेपालमा भएको फिल्मको व्यापार मात्र हो । निर्माण पक्षले विदेशमा फिल्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छैन ।

    एकल बाबुको कथा, बुढ्यौली प्रेम तथा पारिवारिक घटनालाई फिल्ममा राम्रोसँग प्रस्तुत गरिएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतको मुख्य भूमिका रहेको छ । 

    फिल्म हेर्न सम्पूर्ण परिवार नै आउने गरेको देखिएको छ । शनिबार भक्तपुरमा एउटै परिवारका २८ जना फिल्म हेर्न हल पुगेका थिए । जतिले फिल्म हेरे सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    हास्यकलाकार मनोज गजुरेलले ‘महापुरुष’ राम्रो बनेको भन्दै निर्माण पक्षलाई बधाई दिएका छन् । फिल्म हेरुञ्जेल कथा आफ्नै जस्तो लागेको उनले उल्लेख गरेका छन् । ‘आफ्ना सन्तानको सुखकालागि संघर्ष गर्ने ‘महापुरुष’ लाई हार्दिक बधाई । आफ्ना एकल बाबाको खुसीका लागि त्याग गर्ने महापुत्रहरुलाई बधाई । एकल बाबाका कथा, व्यथा, त्याग र योगदानलाई सुन्दर ढंगले पस्कने ‘महापुरुष’ टीमलाई बधाई । फिल्म हेरुन्जेल फिल्मको कथा बोलिरहेको थिएन, हाम्रै भोगाइ ब्यक्त भइरहेको थियो । मन र मस्तिष्कलाई एउटै डोरोमा बाँध्नु भएकोमा प्रदीपजीलाई बधाई । महजोडी, गौरी मल्ल लगायत नयाँ पुस्ताका सबै कलाकारलाई बधाई,’ फिल्म हेरेपछि गजुरेलले फेसबुकमा लेखेका छन् ।
     

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …