• अत्तरिया, २४ फागुन 

     कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा जमिन अतिक्रमण बढेको छ । सडक किनारमा जमिन अतिक्रमण गरी बनेका टहरा भएका स्थानमा यतिबेला पक्की घर निर्माण हुन थालेका छन् । अत्तरियामा जनघनत्व बढेसँगै अतिक्रमण पनि बढेको स्थानीयको आरोप छ । 

    कैलालीमा अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको स्वीकार गर्दै धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले  अतिक्रमण रोक्ने काम वन कार्यादय एक्लैको प्रयासले मात्र सम्भव नहुने बताउनुभयो । “सो क्षेत्रमा वनको खाली जमिन अतिक्रमण गरिन थालिएको छ, यसलाई कसरी हटाउने भन्ने विषयमा योजना बनाइहेका छौँ”, उहाँले भन्नुभयो, “छिट्टै कुन क्षेत्रमा कति वन अतिक्रमण भएको छ । सत्यतथ्य बाहिर ल्याउने छौँ ।”

    सुदूरपश्चिम प्रदेश वन निर्देशनालयको तथ्याङ्क अनुसार कैलालीमा हालसम्म २१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको तथ्याङकका आधारमा यो २१ प्रतिशत हो । 

    सुदूरपश्चिम प्रदेश सरकारले २०७५ सात असोज १२ गते तेघरी जङ्गलमा राजधानी तोकेलगत्तै यस क्षेत्र अतिक्रमणको उच्च चपेटामा पर्न थालेको हो । जिल्लाको गोदावरी नगरपालिका–३ गैरीगाउँमा रहेको नवज्योति सामुदायिक वनको खाली क्षेत्रमा जग्गा हड्पने उद्देश्यसका साथ यतिबेला टहरा निर्माण भएको स्थानीयको आरोप छ । 

    अतिक्रमण बढेसँगै सामुदायिक वनको क्षेत्रफल घट्दै गएको गोदावरी–३ खमौराका  पार्वती महराको भनाइ छ । गैह्रीगाउँ क्षेत्रमा जङ्गलको जमिन कब्जा गरेर बिक्री समेत भइसकेको आरोप लगाउँदै आफूहरुको विरोधको कुनै सुनुवाई नभएको बताउनुभयो । 

    वनको क्षेत्रफल मासिँदै गएपछि एकतर्फ नदी कटानको जोखिम बढेको छ भने अर्कोतर्फ घाँस दाउराको समस्या हुन थालेको छ । नगरपालिकाले जग्गा नापीको काम अघि बढाउँदा अत्तरिया आसपासका सामुदायिक वन र सडक किनारका खाली जमिनमा अतिक्रमण बढेको स्थानीय टिकेश्वरी पनेरुको भनाइ छ । 

    “जग्गा नापीको काम भइरहेको बेला अतिक्रमणकारीले वन क्षेत्रमा कब्जा जमाउन थालेका छन्”, उहाँले भन्नुभयो । अत्तरियाको महेन्द्रनगर सडकमा रहेको गोदावरी खोला पारिको सडक किनार अतिक्रमण हुन थालेको छ । गोदावरी नगरपालिका–३ मा रहेको बडिमालिका सामुदायिक वनको तारबार गरिएको सीमा नजिकै सडक किनारको जमिन अतिक्रमणमा परेको छ । 

    सुदूरपश्चिम प्रदेशको राजधानीस्थल तोकिएको तेघरी जङ्गल नजिकै रहेको हनुमान मन्दिरक्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधि गडा, भ्यागुत्तेपानी, बाँसपानी, गाईमारा क्षेत्रमा बढी वन क्षेत्रमा पनि अतिक्रमण बढेको छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…