• कालीगण्डकी नदीको तटमा अवस्थित  केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको छ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व)लाई जोडेको यस धामले सबैलाई लोभ्याएको छ । 

         निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेकाले पनि विभिन्न जिल्लाबाट दर्शन गर्न आउने गरेका छन् । केलादीधामको दर्शन गर्न नसके पनि नाम उच्चारण गरेपनि पुण्य मिल्ने जनविश्वास छ । मुक्तिनाथबाट उत्पत्ति भई बगेको कालीगण्डकी नदीको किनारमा अवस्थित रहेकाले विशेषगरी हिन्दु धर्म संस्कारका कार्यका लागि यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यस्थल बनेको छ । 

        मन्दिर पुनःनिर्माण, ज्येष्ठ नागरिक भवन निर्माण, महन्त निवास, भान्छाघर, खानेपानी ट्याङ्की निर्माण लगायतका पूर्वाधार विकास भइरहेकाले पछिल्लो समय धार्मिक पर्यटक बढ्दै गएको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाम संरक्षण समितिका सचिव घनश्याम खनालले बताउनुभयो ।

         “केलादीधाम क्षेत्रलाई देवघाटधाम जस्तै बनाउने संकल्पका साथ भौतिक संरचना तयार पारेपछि पछिल्लो समय हरेक उमेर समूहका नागरिक दर्शन गर्न आउने क्रम बाक्लिदै गएको छ”, उहाँले भन्नुभयो, “पहिला काम विशेषले मात्रै आउने नागरिक हिजोआज घुमफिर, अवलोकनका निम्ति आउने गरेको पाइएको छ ।” 

         शनिबार र बिदाका दिन अवलोकन गर्न आउनेको चहलपहल बढ्दो रहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार कालीनदीको धार्मिक तथा ऐतिहासिक महत्वसँग जोडिएको हँुदा यहाँ केलादीधामका बारेमा चासो राख्दै अध्ययन अवलोकनका लागि आउने गरेको पाइएको छ । 

         सडक सुबिधाले अहिले देशका विभिन्न स्थानबाट धार्मिक अवलोकन भ्रमणमा सवारी साधनमा धार्मिक पर्यटक आउन थालेका छन् । बस, कार, भ्यान, जीप मन्दिरसम्म पुग्ने सुविधा भएपछि गाडी रिजर्भ गरेर कालीगण्डकी नदी स्नान गरी केलादीधाम दर्शन गरेर फर्कने गरेको पाइएको छ । 

        पहिला हिँडेर बास बसेर दर्शन गर्न आउने गरेकोमा अहिले सडक सुविधाले सवारी साधनमा आएर फर्कने गरेका छन् । यहाँ गौशाला, ज्येष्ठ नागरिकको बसोबासका लागि ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । 

        आश्रममा हाल २२ ज्येष्ठ नागरिक हुनुहुन्छ । विसं २०१० मा निर्माण भएका पुराना कुटीहरू (ज्येष्ठ नागरिक बस्ने घर) अझै पनि भेटिन्छन् । आश्रममा चार दशकदेखि आश्रयस्थल बनाएर बसोबास गर्दै आइरहेको ८० वर्षीय श्यामदासी सिग्देलले बताउनुभयो । 

        तनहुँको किहुँ घर बताउने उहाँ श्रीमान्को मृत्यु पश्चात् केलादी आएर बसोबास गरिरहनुभएको छ । १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभएकी सिग्देल १५ वर्षको उमेरमा श्रीमान्को मृत्यु भएपछि केलादीधामलाई आश्रयस्थलका रुपमा लिनुभएको छ । 

         “सानै उमेरमा बिहान बन्धनमा बाँधियो, श्रीमान्को मृत्यु भएपछि एक्लो जीवन जीउन सकिएन”, उहाँले भन्नुभयो, “श्रीमान् नभएपछि आफन्त छरछिमेक सबैबाट अपहेलित भइयो, आश्रममा आएर बस्न थालेपछि कसैको अपहेलना सहनु परेको छैन” । 

         उहाँले सरकारले उपलब्ध गराएको ज्येष्ठ नागरिक भक्ताबाट आफ्नो जीविकोपार्जन गरिरहनुभएको छ । मन्दिरको आश्रममा आफैले पकाएर खाना खाने गर्नुहुन्छ । उहाँहरू जस्ता विभिन्न ठाउँका ज्येष्ठ नागरिकले आश्रयस्थल बनाएर वर्षौदेखि बसिरहेका छन् । जीवनको अन्तिम समय नै यही बिताउने संकल्पका साथ मन्दिरको पूजाआजा, भजनकृतनमा सहभागी भएर जीवन व्यतित गरिरहेको पाइन्छ ।

         ज्येष्ठ नागरिक आश्रममा बस्न थालेपछि एक्लोपनको महसुस नभएको बताउनुहुन्छ, ९१ वर्षीय गोपालदासी । मन्दिरमा भजनकृतनमा सहभागी हुँदा समय बिताउन सजिलो भएको उहाँले अनुभव सुनाउनुभयो । बिहे गरेको एक वर्षमा नै श्रीमान् बितेपछि साहाराविहीन हुनुभएकी उहाँ बाँकी जीवन बिताउन केलादीधाम आश्रममा आउनुभएको हो । यस क्षेत्रमा करिब चार दशकदेखिक आश्रय लिएर बसिरहनुभएको छ । 

        “खाने उपचार खर्च आफैँले जुटाए पनि बास बस्ने सुविधा पाउँदा हामी असाध्यै खुसी छौँ, कसैको दुव्र्यवहार सहनु परेको छैन, हामीजस्ता साहाराविहीनका लागि यसरी बस्ने आश्रम पाउँदा धेरै सजिलो भएको छ, घरमा छोराछोरी भएर पनि हेरेनन् भनेपनि यही आएर बस्न पाइने व्यवस्था छ”, उहाँले भन्नुभयो । 

         ज्येष्ठ नागरिक भत्ता बुझेको रकमले यहाँ बसोबास गर्ने नागरिकले बिहान साँझको जोहो गरिरहेका छन् । पहिला यहाँ एक सय २० कुटी (ज्येष्ठ नागरिक बस्ने घर) थिए । यस कुटीमा १५० ज्येष्ठ नागरिकले केलादीधाम क्षेत्रलाई बासस्थान बनाएर बसोबास गर्ने गरेको बुढापाका बताउँछन् । 

        दुई दशकअघिसम्म यहाँ बसोबास गर्ने ज्येष्ठ नागरिकको ठूलो सङ्ख्या हुन्थ्यो । पहिलाको तुलनामा आश्रममा बसोबास गर्ने अहिले घटेका छन् । प्राचीन पूर्वीय धर्मग्रन्थमा पनि यसको महिमा र गरिमा वर्णन गरिएको छ । शालिग्राम पाइने विश्वको एक मात्र नदी कालीगण्डकीको किनारमा रहेको यो स्थानमा पुगेपछि मनको बोझ हट्ने र शान्ति प्राप्त हुने विश्वास लिइन्छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…