•  बेनी, ८ जेठ  : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ । 

    नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार भएपछि पदमार्ग हुँदै पर्यटकको आगमन बढाउन गाउँपालिकाले प्रवद्र्धन अभियान सञ्चालन गरेको हो । 

    अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगको नामबाट पहिचान गरिएको आधार शिविर पुग्ने पदमार्गको प्रचारप्रसार र प्रर्वद्धनका लागि यही जेठ ४ गतेदेखि ७ गतेसम्म सरोकारवालाको सहभागितामा स्थलगत अध्ययन अवलोकन भ्रमण गरिएको छ । जिल्लास्थित पत्रकार, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पर्यटन व्यवसायी, स्थानीयवासी, लगायतका सरोकारवालासमेतको ३६ जनाको टोलीले पदमार्ग हुँदै आधार शिविर पुगेर स्थलगत अवलोकनसहित पर्यटन सम्भावना र चुनौतीका विषयमा अन्तक्र्रिया गरेकाहुन् । 

    नारच्याङदेखि कूल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गसँगै पर्यटकका लागि ठाउँ ठाउँमा आश्रयस्थललगायतका पूर्वाधार निर्माण भएपछि एकै दिनमा आधार शिविर पुग्न सकिने अवस्था तयार भएकाले यस क्षेत्रको प्रचारप्रसारका लागि प्रवद्र्धन अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । 

    “मौरिस हर्जोगले अन्नपूर्णको आरोहण गर्दा प्रयोग गरेकै बाटोलाई समेटेर पदमार्ग तयार भएको छ, प्राकृतिक सुन्दरताले भरिएको अन्नपूर्ण आधार शिविरमा एकै दिनपुग्न सकिने भएपछि यसको प्रवद्र्धनमा गाउँपालिकाले अभियान चलाएको छ, अध्ययन टोलीको सुझाव र प्रतिवेदनका आधारमा यस क्षेत्रका समस्याको पहिचान र निराकरणमा हाम्रो पहलकदमी रहन्छ”, उहाँले भन्नुभयो । 

    गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको टोलीले आधार गत महिना शिविर क्षेत्रको स्थलगत अवलोकन गरेपछि सरोकारवालालाई समेटेर प्रवद्र्धनात्मक कार्यक्रम तय गरिएको थियो । गाउँपालिकाले आयोजना गरेको नर्थ अन्नपूर्ण प्रवद्र्धन टोलीमा सहभागीमध्ये १५ जनाको टोली गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि एकै दिनमा आधार शिविर पुग्न सफल भएका थिए । टोलीले आधार शिविर क्षेत्रको सम्भावना, समस्या र चुनौतीका विषयमा समुद्री सतहदेखि चार हजार तीन सय पाँच मिटरको उचाइँमा रहेको अन्नपूर्ण प्रथमको आधार शिविरमा अन्तक्र्रियासमेत गरेका थिए । सम्भावनाले भरिपूर्ण नर्थ अन्नपूर्ण आधार शिविरलाई प्रचार प्रसारका माध्ययममार्फत आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन प्रवद्र्धन अभियानलाई व्यापक बनाउने टोलीले निष्कर्ष निकालेको टोलीमा सहभागी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । 

    “नर्थ अन्नपूर्णको प्रवद्र्धनमा गाउँपालिकाबाट भएको यो पहिलो प्रयास हो, यहाँ लुकेर रहेको अथाह सम्भावनालाई उजागर गर्नसके यस क्षेत्रमा पर्यटन विकासको मूल फुटाउन सकिन्छ, गाउँपालिकाले समेत यसका लागि आवश्यक योजना तयार गरिरहेको छ”, उहाँले भन्नुभयो । उक्त टोलीमा सहभागीले गाउँपालिकाले आधार शिविरको चार हजार एक सय मिटरमा आयोजना गरेको मैत्रीपूर्ण एक सय मिटर दौड, छेलो फाल्ने र अन्ध निसान प्रतियोगितामा समेत सहभागिता जनाएका थिए । 

    उच्च उचाइँमा आयोजित खेलकुद प्रतियोगिताले अन्नपूर्ण आधार शिविरको महत्वलाई थप उजागर गरेको अध्ययन अवलोकन टोलीले निचोड निकालेको छ । पदमार्ग र झोलुङ्गे पुलको मर्मत सुधारका लागि गाउँपालिकाले पहल थालिसकेको छ । अहिले आधार शिविर, धरमढुङ्गा, भुसकेटमेला, गुफाफाँट, सांधीखर्क, हुमखोला र छोटेपा गरी सात ठाउँमा आश्रयस्थलका पूर्वाधार तयार भएका छन् । पर्यटकको आगमन बढ्ने सम्भावनालाई मध्यनजर गर्दै आधार शिविर र भुसकेट मेलामा थप आश्रयस्थल निर्माण, खानेपानीको सुविधा विस्तार, मोबाइल फोनको पहुँच विस्तारलगायतका काम गर्न आवश्यक रहेको नारच्याङका पर्यटन अगुवा तेज गुरुङले बताउनुभयो । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…