• कमलामाई (सिन्धुली), १ कात्तिक : स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । “दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,” उहाँले भन्नुभयो । तामाङ हिजो मङ्गलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटार र वडा नं ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चटपटे पसलमा भेटिनुभएको थियो ।    

        जिल्लाको सदरमुकाम सिन्धुलीमाडी क्षेत्रका चोक–चोकमा व्यवसायी ठेलागाडामा चटपटेका सामान राखेर बिक्रीका गर्न बस्छन् । साथीहरुसँग भेटघाट हुँदा होस् वा दिउँसोको खाजा खाने समय तन्नेरी तामाङ त्यतै पुगिहाल्नु हुन्छ । उहाँजस्तै चटपटे, पानीपुरी खाने ग्राहकको रहरलाग्दो उपस्थितिले व्यवसायीलाई जाँगरिलो बनाएको छ । ठेलागाडामा चटपटे, पानीपुरी मात्रै बेच्दै आएका व्यवसायी तथा व्यापारीले खाजाका ‘आइटम’ थप्दै गएछन् ।  

        चटपटे, पानीपुरीसहित समोसा, जुलेवी, चनाभुजा, आलुचप, पकौडा, कचौडी एकै ठाउँमा राख्न थालेका छन् । ठेलागाडामा व्यवसाय गर्नेहरुले बनाएका खानेकुरा स्वादिष्ट हुने उपभोक्तामा छाप बस्दै गएको छ । जति नै प्रकारका खानेकुरा बोके पनि सबैभन्दा बढी बिक्ने पिरो, अमिलो जिब्रोमा च्वास्सै लाग्ने चटपटे र ट्वाक्क परेको पानीपुरी हो । यसको व्यापार सदाबहार हुने व्यवसायी समिरा सुब्बाले बताउनुभयो ।

        “चटपटे, पानीपुरी सबैले मन पराउँछन्,” विशेषगरी दिउँसो खाजा खाने समय र विद्यार्थीहरुको विद्यालय छुट्टी भएपछि बनाएर दिन भ्याइनभ्याइ नै हुन्छ । विद्यार्थी, कर्मचारी, युवायुवती बढी आउँछन्,” उहाँले भन्नुभयो ।

        दुधौली नगरपालिका–११ पत्रिङ्गामा उहाँको घर छ । पाँच वर्षदेखि छोराछोरी पढाउन जिल्ला सदरमुकामस्थित मधुटारमा कोठाभाडामा लिएर बस्दै आउनुभएकी सुब्बाले आफ्नो कोठा नजिकै चटपटे व्यापार गर्न थाल्नुभएको दुई वर्ष पुग्नै लाग्यो ।

        एक छोरा र एक छोरीकी आमा सुब्बा कोठाको कामधन्दा सकाएर दिउँसो १२ बजे मात्रै व्यापार गर्न निस्कनुहुन्छ । साँझ ६ बजेसम्म ठेलागाडामा चटपटे, पानीपुरी बेच्न खटिनुहुन्छ । यसको व्यापार कम लगानीमा गर्न सकिने भएकाले जो कोहीले गर्न सक्ने उहाँको बुझाइ छ । उहाँले २५ हजारबाट व्यवसाय सुरु गर्नुभएको हो । 

        “पन्ध्र महिनाअघि २० हजार ठेलागाडा र पाँच हजार चटपटे, पानीपुरीको सामानमा लगानी गरेर यो व्यवसाय सुरु गरेको थिएँ,” उहाँले भन्नुभयो, “व्यापार, व्यवसायले हामीलाई आत्मानिर्भर बनाउने रहेछ । दुई वर्षदेखि रोजगारी नपाएर श्रीमान् घरैमा हुनुहुन्छ । चारजना परिवारको खर्च यसैको कमाईले टारिराखेको छु ।” 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…