• काठमाडौं ।  २०७४ फागुन १ गते माओवादी जनयुद्धको २२ औं बर्षगाँठ मनाउँदै माओवादी केन्द्रका सुप्रिमो प्रचण्डले पेरिसडाँडा मुख्यालयमा दश किलोको केक काटे । वि.सं. २०५२ सालताका जनयुद्ध सुरु गर्दाको सेकेण्डम्यान मोहन वैद्य किरण(जो प्रचण्डका गुरु मानिन्छन्) र पहलकर्तामध्ये एक विप्लव छुट्टाछुट्टै माओवादी घटकको नेतृत्व गरेपनि हाल एकीकरणको तयारीमा जुटेका छन् ।

    वि.सं.२०५१ साल जेठमा एकताकेन्द्र विभाजित भएर नेकपा(माओवादी) निर्माण भएपछि वि.सं. २०५२ फागुन १ गते जनयुद्ध सुरु भयो ।

    जनयुद्ध सुरु गर्दा तात्कालीन महामन्त्री प्रचण्ड, किरण, राम.ब.थापा ‘बादल, डा.बाबुराम भट्टराई, सीपी गजुरेल ‘गौरव’ र पोष्टबहादुर बोगटी ‘दिवाकर’ सम्मिलित ६ जनाको पोलिटव्यूरो टिम थियो । उक्त पोलिटव्यूरोका सदस्यहरू मध्ये पोष्टबहादुरको निधन भइसकेको छ भने सीपी गजुरेल वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका सेकेण्डम्यान अर्थात् उपाध्यक्ष छन् ।

    २०५१ सालमा स्थापना भएको तात्कालीन नेकपा(माओवादी) मा १९ जना केन्द्रीय सदस्य थिए । पोलिटव्यूरोका ती ५ जना बाहेक देव गुरुङ(कान्छा बहादुर), यानाप्रसाद गौतम(आलोक), दण्डपाणि न्यौपाने, अग्नि सापकोटा(कञ्चन), टोबहादुर रायमाझी(अनिल), हरिबोल गजुरेल(शितलकुमार), फणिन्द्र आचार्य(अनल), लोकेन्द्र बिष्टमगर(अभ्यास), पम्फा भुसाल(विद्युत), हरिभक्त कँडेल(प्रतीक), दिनेश शर्मा(सागर), नारायण शर्मा(कमलप्रसाद), मातृका यादव(रामसिंह) केन्द्रका हर्ताकर्ता थिए ।

    ती केन्द्रीय सदस्यहरूमध्ये एकताका अत्यन्तै चर्चित भाषणमा प्रचण्डलाई समेत उछिन्न सक्ने प्रखर वक्ता यानप्रसाद गौतम(आलोक) आलोक प्रकृतिको दोषी बन्दै रहस्यमय तरिकाले २०५९ सालमा जनयुद्धकै मैदानमा मारिए ।

    दण्डपाणि न्यौपाने श्री ५ को सरकारबाट बेपत्ता पारिए । देव गुरुङ, टोपबहादुर, अग्नि, हरिबोल, पम्फा, लोकेन्द्र र मातृकाहरूले पटक पटक मन्त्री बन्ने सौभाग्य पाए । त्यसो त, तात्कालीन पोलिटव्यूरोमा महामन्त्री रहेका प्रचण्ड र बरिष्ठ नेता डा.बाबुराम प्रधानमन्त्री बने ।

    वि.सं. २०६५ सालताका प्रचण्ड सरकारमा रक्षामन्त्री रहेका बादल अहिले राष्ट्रिय सभा अध्यक्ष बन्ने लाइनमा छन् । स्वर्गीय बोगटी पनि मन्त्री हुन सफल भए । सीपी गजुरेल परराष्ट्रमन्त्री बन्न नपाएको पीडामा रन्थनिँदै वैद्य टिममा अटाएका छन् ।

    जनयुद्ध सुरुवात गर्ने केन्द्रीय टिमका सदस्यहरूमध्ये चितवनका फणिन्द्र आचार्य केही समयपछि निस्क्रिय रही फेरि माओवादी केन्द्रको लो–प्रोफाइलको नेताको रुपमा क्रियाशील छन् । झोंकी स्वभावका लोकेन्द्र बिष्ट फेरि प्रचण्डसँग चिढिएर विप्लव नजिक पुगेका छन् ।

    पुराना नेतामध्य हरिभक्त कँडेल र दिनेश शर्मा वैद्यको क्रान्तिकारी माओवादीको उच्च तहको नेतृत्व सचिवालयमा कार्यरत छन् । नारायण शर्मा खासै अवसर नपाएका माओवादी केन्द्रका सचिवालय सदस्य हुन् । केन्द्रीय कमिटीभन्दा तल्लो निकाय क्षेत्रीय व्यूरोमा क्रियाशील केही माओवादी नेताहरू हाल राष्ट्रिय राजनीतिमा चर्चित छन् ।

    वि.सं. २०५१–०५२ सालताका तात्कालीन माओवादीका ललितपुर जिल्ला सेक्रेटरी रहेका पूर्व विद्यार्थी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ अहिले नेपाल कम्युनिष्ट पार्टी नामक माओवादी पार्टीका महासचिव छन् । तात्कालीन  काठमाडौं सेक्रेटरी हितमान शाक्य माओवादी केन्द्रका सचिवालय सदस्य छन् ।

    रुकुम सेक्रेटरी हेमन्तप्रकाश वली विप्लव माओवादीका तेस्रो वरियताका नेता मानिन्छन् । जाजरकोट सेक्रेटरी शक्ति बस्नेत पूर्वगृहमन्त्री एवं माओवादी केन्द्रका सचिवालय सदस्य हुन् । रोल्पा सेक्रेटरी बर्षमान पुन पनि पूर्व अर्थमन्त्री र सोही पार्टीका सचिवालयमा हर्ताकर्ता छन् ।

    तीव्रगतिमा प्रगति गरेका शिक्षक पृष्ठभूमिका कृष्णबहादुर महरा जनयुद्ध सुरु गर्दा क्षेत्रीय व्यूरो सदस्यको भूमिकामा थिए । हालका उपराष्ट्रपति नन्दबहादुर पुन(पासाङ) पनि जनसेना कमाण्डर एवं क्षेत्रीय व्यूरो सदस्य नै थिए । पुराना महिला नेतृहरूमध्ये पूर्व सभामुख ओनसरी घर्ती, नारायण शर्मा, तारा घर्ती, लालकुमारी रोक्का, पूर्वमन्त्री कमला रोक्का अहिले माओवादी केन्द्रमै सक्रिय छन् ।

    जनयुद्ध सुरुवातताकाका क्षेत्रीय व्यूरो सदस्यहरूमध्ये हितराज पाण्डे, देवेन्द्र पौडेल, हितबहादुर तामाङ यतिबेला माओवादी केन्द्रमै क्रियाशील छन् । जनयुद्ध सुरुवात भएको केही समयपछि पूर्णकालीन बनेका महेन्द्रबहादुर शाही(प्रज्जवल) हाल प्रदेश नं.७ को मुख्यमन्त्री छन् भने जनयुद्ध सुरुवात गर्दा वि.सं. २०५२ सालमा क्ष्ँेत्रीय व्यूरोमा रहेका कूल प्रसाद केसी(सोनाम) हाल ५ नं.प्रदेशको गृहमन्त्री छन् ।

    जनयुद्धमा एकताका चर्चित बनेका पात्र रविन्द्र श्रेष्ठ एमाले छिरेर पोलिटव्यूरो सदस्य र मन्त्री समेत भए । सुपेक्षा सिलवालसँग दोस्रो घरजम गरेर राजनीतिमा निस्क्रिय रही लेखपढमा लागेका छन् ।

    माओवादी जनयुद्धकालमा जन सरकार प्रमुख रहेका डा.बाबुराम, हिसिला, गंगा श्रेष्ठ, देवेन्द्र पराजुली नयाँ शक्तिमा क्रियाशील छन् । भर्खरै माओवादी केन्द्र छोडेका सिन्धुलीका पुराना माओवादी नेता बलराम तिमिल्सिना, आहुति र गोपाल किराँतीको पुनर्गठन अभियानमा सक्रिय छन् ।

    वि.सं.२०४३÷४४ सालदेखि नै विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा सक्रिय भएका विश्वास उपनामले परिचित पुण्य गौतम वि.सं. २०५२ सालमा जनयुद्ध सुरुवात हुँदा कलिलै उमेरमा माओवादी आन्दोलनमा होमिएका प्रखर वक्ता हुन् । पुन्य गौतम मालेको पोलिटव्यूरो सदस्य हुँदै हाल एमालेमा केन्द्रीय नेताको भूमिका सक्रिय छन् । साँघु साप्ताहिकबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…