• दशरथ बाल क्लबकी सदस्य स्वीकृति सिग्देललाई अब जस्तो सुकै कार्यक्रम सञ्चालन गर्न सक्ने हिम्मत पलाएको छ । शहिद दशरथ चन्द मावि मेचीनगर १३ चारआलीमा कक्षा ८ मा अध्ययनरत सिग्देलका लागि स्टेजमा गएर बोल्न अब सामान्य बनेको छ । यस अघि पनि बाल क्लबमा रहेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भए पनि उनका लागि अबको यात्रा सहज बनेको छ । उनि भन्छिन्–‘पहिले जति बोल्न सिकेको थिएँ अब अझ आत्माविश्वास बढेको छ ।’
    बालकल्यण माविकी गौरी गिरीका लागि पनि स्टेज कार्यक्रम चलाउन खासै गाह्रो थिएन् । विगत ५ वर्षदेखि बालकल्याण बाल क्लबका विभिन्न पदमा रहेर उनले थुप्रै कार्यक्रम सञ्चालन गरेकी थिइन् । तर, पहिले जसरी सञ्चालन गर्थिन त्यसमा शिक्षकले सहयोग गर्नु पथ्र्याे । तर, अबका दिनमा उनलाई कसैको सहयोग विनै कार्यक्रम सञ्चालन तथा संयोजन गर्न सक्ने आत्माविश्वास बढेको छ । 
    स्वीकृति र गौरी मात्र होइन । उनीहरु जस्ता २८ जना विद्यार्थीका लागि कुनै पनि कार्यक्रम सञ्चालन तथा संयोजन गर्न सहज बनेको छ । उनीहरुलाई यो अवसर जुराइदिएको छ, मेचीनगर लेडी जेसीजले । लेडी जेसीजको आयोजनामा भएको ५ दिने क्षमता अभिवृद्धि कार्यक्रममा सहभागि भएपछि मेचीनगरमा क्रियाशील बाल क्लबहरुमा आबद्ध विद्यार्थीहरुका लागि बाल क्लब सञ्चालन, कार्यक्रम सञ्चालन, संयोजन तथा आफ्ना कुरा अन्य व्यक्ति समक्ष राख्न सक्षम बनेका हुन् । 
    विद्यार्थीहरुको वार्षिक परीक्षा सकिएपछि उनीहरुको चाहना कतै  घुम्न जाने अथवा मामल जाने हुन्छ । तर, ति सबै आकांक्षाहरुलाई त्यागेर उनीहरु यतिबेला तालिममा सहभागि भइरहेका छन् । जसले उनीहरुको क्षमता अभिबृद्धिमा थप सहयोग पुगेको छ । 
    काँकरभिट्टा र बाहुनडाँगी स्रोत केन्द्रको संयोजनामा मेचीनगर १४ वटा विद्यालयका २८ जना विद्यार्थी तालिममा सहभागि भएका थिए  । आदर्श माविमा रहेको काँकरभिट्टा स्रोत केन्द्रको सभाहलमा तालिमको आयोजना भएको हो ।  
    ‘यो छुट्टिमा मामल जाने तयारीमा थिएँ’ बालकल्याण बाल क्लबकी सदस्य सलिना भुजेलले भनिन््–‘तर हाम्रै लागि तालिमको आयोजना गरिएको हो भन्ने थाहा पाएपछि सहभागि भएकी छु । कहिले नजानेका कुरा सिक्ने अवसर पाएको छु । यहाँ सिकेका कुरा विद्यालयमा गएर अरु साथीहरुलाई सिकाउन सक्छु भन्ने आत्माविश्वास समेत बढेको छ ।’
    धुलावारी माविमा रहेको धुलावारी बाल क्लबकी अध्यक्ष चाँदनी खातुनले तालिमबाट आफ्नो जीवनमा ठूलो परिवर्तन आएको बताइन् । सानै उमेरमा राम्रो कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमता भएकी चाँदनीले भन्छिन्–‘पहिले जति जानिएको थियो त्यसैलाई नयाँ तरिकाले गर्न सक्ने क्षमता भएको छ । अरु बेला सानो कार्यक्रम गर्न पनि शिक्षकको साथ लिनु पर्ने बाध्यता हुन्थ्यो । तर अब आफैँ गर्न सकिने भइएको छ ।’ 
    शिशु साक्षर आधारभूत विद्यालयका हेमराज बराइलीले पहिले स्टेजमा गएर बोल्दा डर लाग्ने गरेको बताउँदै भने–‘बोल्नका लागि पछि हट्नु हुँदो रहनेछ । जति बोल्ने बानी ग¥यो उति नै सहज हुने रहेछ ।’
    नेपाल जेसीजका तालिम प्रशिक्षक भुवन राउतले सहभागि विद्याथीहरुलाई सहजीकरण गरिरहेका छन् । यसो त विद्यार्थीहरुका लागि सहज होस भन्नका लागि लेडी जेसीका संस्थापक अध्यक्ष कविता शर्मा, पूर्व अध्यक्ष उषा श्रेष्ठ, टिका सुवेदी, निवर्तमान अध्यक्ष शोभा श्रेष्ठ, वर्तमान अध्यक्ष सुनिता पनेरुलगायत बोर्डमा रहेका सदस्यहरुले सहजीकरण गरिरहेका छन् । 
    काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहालले जेसीजले विद्यार्थीहरुका लागि तालिमको आयोजना गरेर हौषला थपिदिएको प्रतिक्रिया दिए । मानविय सेवामा क्रियाशील जेसीज जस्तो संस्थाले विद्यार्थीहरुको व्यक्तित्व विकास गराउन गरेको सहयोगप्रति स्रोत व्यक्ति दाहालले धन्यवाद दिदैँ सिंगो स्रोत केन्द्र र जेसीजबीचको सम्बन्ध थप प्रगाढ बनेको बताए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…