• विराटनगर/ प्रतिक्षित विराट गोल्डकपको पाँचौ सस्करणमा दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगितामा दर्शकको उपस्थिती र आकर्षण बढेको छ । विगतमा जस्तो दर्शकको खडेरी यस पटक गोल्डकप आयोजकले भोग्नु परेन । गोल्डकप आयोजना गरिए पनि दर्शक उपस्थिती न्यून रहने विगतको परम्परा थियो । यस पटक फ्रडलाइट जडान गर्दै रात्रिकालीन समयमा प्रतियोगिताको आयोजना गरिएपछि दर्शकले विराटनगर स्थित सहिद रंगशालाको प्यारापिट दैनिक रुपमा भरिए । प्रतियोगिताको सुरुवातदेखि नै दर्शकको बाक्लो उपस्थितीले आयोजकलाई हौसाएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजाल मोफसलमै पहिलो पटक रात्रिकालीन समयमा फ्रडलाइटमा खेल खेलाउँदा दर्शकबाट साथ पाइएको बताउँछन् । ‘यस पटक नयाँ ढंगबाट गोल्डकप आयोजना गर्दा दर्शकको उपस्थिती उल्लेखनीय रहयो,’ उनले भने, ‘विगतमा दिउँसो खेल खेलाउँदा दर्शकनै हुँदैन थिए ।’ उनका अनुसार चैत १७ गतेदेखि जारी प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ खर्च गरेर ४५ हजार वाटको फ्रडलाइट जडान गरिएको छ । गोल्डकपको फाइनल प्रतिष्पर्धा सोमबार हुँदै छ । आगामी दिनमा लाइटलाई थप सुधार गर्दै लैजाने योजना रहेको आयोजकले जनाएको छ । ‘नयाँ ढंगले यस वर्ष प्रतियोगिता आयोजना गर्दाको कमिकमजोरीलाई अर्को पटक सुधार गरेर लगिने छ,’ रिजालले भने, ‘मोफसलमा पहिलो पटक फ्रडलाइटमा खेल खेलाइए पनि प्रतियोगितालाई व्यवस्थित गर्ने आयोजकको योजना धेरै हद सम्म सफल भएको पाइयो ।’ उनले दर्शकको साथले आयोजकलाई हौसला प्रदान गरेको बताउँदै भने, ‘दर्शकको फुटबल क्रेज धेरै देखियो । आगामी वर्ष थप नयाँ योजनाका साथमा गोल्डकप आयोजना गरिने छ ।’ आयोजकले खेल अवधिभर टिकट विक्रीबाट ३० लाख रुपैयाँ संकलनको लक्ष्य लिएको थियो । तर सेमिफाइनल खेल सकिएर फाइनल प्रतिष्पर्धा बाँकी रहँदै त्यो लक्ष्य पूरा भएको छ । दैनिक टिकट विक्रीबाट तीनदेखि पाँच लाख रुपैयाँ सम्म संकलन हुँदै आएको आयोजकले जनाएको छ । विराटनगरको सहिद रंगशालामा सात हजार दर्शक अट्ने प्यारापिट छ । रिजालका अनुसार विगतमा सुरुवातमा दर्शक नहुने भए पनि फाइनल प्रतिष्पर्धामा भने दर्शकले प्यारापिट खचाखच भरिने गरेका थिए । यस वर्ष पनि फाइनलमा दर्शक उपस्थिती विगत भन्दा बढी हुने अपेक्षा आयोजकले गरेको छ । प्रतिष्पर्धा दैनिक साँझ ६ बजेपछि हुँदै आएको छ । साँझको समय भएकाले पनि दर्शक उपस्थिती बाक्लो भएको आयोजकको भनाइ छ । दिवाकालीन रुपमा मात्रै प्रतियोगिता आयोजना गर्दा दर्शकको साथ त्यति नपाइएको विगत सम्झदै रिजालले ठूलो धनराशि खर्च गर्दै दर्शक आकर्षित गर्न रात्रिकालीन समयमा प्रतियोगिता आयोजना गरिएको जनाए । ‘विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत सबै पेशाकर्मीलाई समय व्यवस्थापन गर्न सजिलो होस र प्रतियोगिता रोमाञ्चक बनोस भनेर डे–नाइट खेल आयोजनाको गरिएको हो,’ रिजालले भने, ‘दर्शकलाई मनोरञ्जन प्रदान गर्ने, फुटबल प्रतिको आकर्षण बढाउने, नेपाली खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, स्थानीयलाई विदेशी खेलाडीसंग खेल्ने अवसर प्रदान गर्ने, खेललाई व्यवसायिक रुप प्रदान गर्ने र विराटनगरलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने प्रतियोगिताको मुख्य उदेश्य छ ।’ मुलुकको प्रतिष्ठा एवं विराटनगरको इतिहास र गौरवसंग जोडिएको गोल्डकपलाई निरन्तरता दिने क्रममा दर्शक उपस्थिती राम्रो रहँदा रहँदै पनि पासको वितरणलाई व्यवस्थित भने गर्न नसकिएको रिजालले बताए । उनले भने, ‘पास वितरण गर्नु पर्ने कतिपय बाध्यात्मक स्थितीमा आयोजक कमिटी चुकेको छ ।’ फाइनल खेलका लागि भने आयोजकले टिकटको मूल्य तीन सय र चार सय रुपैयाँ तोकेको छ । प्रतियोगितामा आयोजकले दैनिक टिकटका अलवा एक हजार पाँच सय रुपैयाँको सिजनल टिकटको समेत व्यवस्था गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…