• एजेन्सी, २६ चैत – बैज्ञानिकहरुले एउटा यस्तो यन्त्र बनाउन सफल भएका छन्, जसले तपाईंको आत्माको आवाज सुन्न सक्छ । छक्क नपर्नुहोला, यो हेड सेट लगाएपछि तपाईंको मनभित्रको कुरा बुझ्न मुख खोलिराख्नै पर्दैन तर मनमनै भने तपाईंले ती शब्द उच्चारण गर्नुपर्ने हुन्छ ।

     

    कतिसम्म भने तपाईं नबोलिकनै त्यो यन्त्रलाई नियन्त्रण गर्न र प्रश्नहरु सोध्न सक्नुहुन्छ । अल्टरइगो नाम दिइएको यो यन्त्रले छालामा लगाइएको इलेक्ट्रोड्सको सहयोगले तपाईंले आवाज ननिकाली उच्चारण गरेका शब्दहरु लिपिबद्ध गर्न सक्दछ ।

    ‘हामी त्यस्तो कम्प्युटिङ प्लाटफर्म निर्माण गर्न चाहन्थ्यौँ, जसले मानिस र यन्त्रलाई त्यसरी मिलाइदियोस्, मानौँ, त्यो आफ्नै अनुभूतिजस्तो महसुस होस्,’ एमआइटीको मिडिया ल्याबमा यो यन्त्रको विकास गर्ने कामको नेतृत्व गरेका अरनब कपुर भन्छन् ।

    यो हेडसेट एक प्रकारको ‘इन्टेलिजेन्स अगुमेन्टेसन’ अर्थात् आइए डिभाइस भएको बताउँछन् । कानको पछाडिपट्टिबाट अड्याएर यसलाई बंगारा र चिउँडोमा लगाइन्छ ।

    सेतो प्लास्टिकभित्र रहेको चार ओटा इलेक्ट्रोड्स छालामा टाँसिन्छ, जसले स्नायुमांसपेशीबाट सूक्ष्म संकेत लिन्छ । तपाईंले मनमनै कुनै पनि शब्द उच्चारण गर्दा मांशपेसीमा यस्तो संकेत उत्पन्न हुनेगर्छ । जब कुनै व्यक्तिले मनमनै कुनै शब्द उच्चारण गर्दछ सो यन्त्रमा भएको आर्टिफिसियल इन्टेलिजेन्सले ती शब्द संकेतलाई कम्प्युटरमा पठाउन सक्छ ।

    त्यसपछि कम्प्युटरले बोन कन्डक्सन स्पिकरको माध्यमबाट प्रतिक्रिया दिनसक्छ । यसो गर्दा यो यन्त्र लगाएको मानिसले इयरफोन लगाउनु पर्दैन । फलस्वरुप ऊ बाहिरी आवाज पनि सुन्न सक्दछ । यसो गर्दा मान्छे र अल्टर इगो दुवैले कुनै पनि बाहिरी आवाज उत्पन्न नगरी आपसमा बोल्न र सुन्न सक्दछन् ।

    ‘हामी आफ्नो सेलफोन वा डिजिटल डिभाइसबिना बाँच्न नसक्ने भएका छौँ । तर तिनले ध्यान हटाइदिन्छन्,’ एमआइटीकी प्राध्यापक प्याटी माइस भन्छिन् ।

    ‘कुराकानी गर्दागर्दै त्यसैसम्बन्धी कुनै कुरा मैले हेर्नुपर्‍यो भने पहिले फोन झिक्नपर्‍यो, पासकोड टाइप गरेर कुनै एप खोल्नुपर्‍यो र सर्च गर्न शब्द टाइप गर्नुपर्‍यो । यी सारा गर्दा मेरो ध्यान भइरहेको कुराकानीबाट हट्न पुग्छ ।’

    माइस र कपुरसहितका उनका विद्यार्थीहरुले दैनिक जीवनमा स्मार्टफोनले जस्तो अवरोध सिर्जना नगरी प्रयोग गर्न मिल्ने उपकरणबारे प्रयोग गरिरहेका थिए ।

    १० जनामा १५ मिनेटका दरले गरिएको प्रयोगमा अल्टरइगोले औसत ९२ प्रतिशत सही ट्रान्सक्राइब गर्न सफल भएको थियो । गुगलको भ्वाइस ट्रान्सक्रिप्सनले भने ९५ प्रतिशतभन्दा बढी सही ट्रान्सक्राइब गर्न सक्छ । यद्यपि समय बित्दै जाँदा अल्टरइगोको क्षमता वृद्धि हुने कपुर बताउँछन् ।

    कपुर र उनको टोली अहिले अल्टर इगोले अझ बढी शब्दहरु पत्ता लगाउन सकोस् भनेर तथ्यांक संकलन गरिरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…