• विराटनगर । विभागिय टिम त्रिभुवन आर्मी क्लबमाथि लज्जास्पद हार चखाउदैं  रुस्लान थ्रीस्टार क्लब विराटनगरमा सम्पन्न विराट गोल्डकप च्याम्पियन बनेको छ । 
    सहिद रंगशालामा फ्लडलाइटमा सोमबार भएको डे–नाइट फाइनल खेलमा ३–० को फराकिलो गोल अन्तरले सिजनकै सर्वाधिक उपाधि जितेको टिम आर्मीलाई निराश बनाउँदै थ्रीस्टारले उपाधि कब्जा गरेको हो । थ्रीस्टारको जितमा अनन्त तामाङले एक र विमल घर्तीमगरले दुई गोल गरे । विराट गोल्डकपसंगै थ्रीस्टारले सिजनमा पाँचौं उपाधि उचालेको छ । सन्तोशजनक खेल पस्कन नसक्दा आर्मी सिजनको आठौं उपाधिबाट विमुख बन्यो । 


    पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ५६ औं मिनेटमा गोलको खाता खोलेको थ्रीस्टारले त्योसंगै आर्मी विरुद्ध तीन गोल बर्षायो । थ्रीस्टारका रजिन धिमालको कर्नर प्रहारमा अनन्त तामाङले हेडमार्फत उत्कृट गोल गर्दै टिमलाई अग्रता दिलाउँदा आर्मी दवावमा पर्यो । ७६ औं मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरेपछि खेल २–० को अवस्थामा आयो । आर्मीका जितेन्द्र कार्कीले डिबक्स भित्र विदेशी खेलाडी मार्टिनलाई तानेर लडाएपछि थ्रीस्टारले पेनाल्टीको मौका पाउँदा विमल चुकेनन् । ८८ औं मिनेटमा विमलले अन्तिम गोल थप्दै खेललाई ३–० को अवस्थामा ल्याएपछि आर्मी सम्हालिन सकेन । डिबक्स नजिकैबाट उनले गरेको सिधा प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले ‘क्याच’ गर्न नसक्दा कुथुकै हातमा ठोक्किएर बलले जाली चुम्यो । 
    खेललाई पूरै नियन्त्रणमा लिएको थ्रीस्टारले गोल गर्नका  लागि पाएका अरु आधा दर्जन अवसरको सदुपयोग गर्न सकेन ।

    ३८ औं मिनेटमा आर्मीका भरत खवासको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाए । ४१ औं मिनेटमा टंक बस्नेतको प्रहार बाहिरिएपछि आर्मीले खेलमा लय गुमायो ।  त्यस लगत्तै आर्मीका स्टार खेलाडी नवयुग श्रेष्ठले थ्रीस्टारका खेलाडीलाई विट गर्दै गरेको प्रहारमा गोलरक्षक न्यौपाने बाधक बन्दा पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ७५ औं मिनेटमा नवयुगको प्रहारलाई सुमन अर्यालले उत्कृष्ट हेडिङ गरे पनि गोलरक्षक न्यौपानेले ‘क्लियर’ गरिदिंदा आर्मीले सान्त्वना गोल गर्ने अवसर पनि गुमायो । 
    घरेलु मैदान आर्मीका कप्तान भरत खवासका लागि अफापसिद्ध भयो । स्टार खेलाडी नवयुग श्रेष्ठले प्रदर्शन पनि सन्तोशजनक रहेन् । आर्मीका प्रशिक्षक नविन न्यौपानेले विपक्षी खेलाडीलाई ‘मार्किङ’ गर्न नसक्दा निराशाजनक नतिजा हात पारेको बताए । ‘सुरुदेखिनै थ्रीस्टारले प्रेसर दिएर खेल्यो,’ उनले भने, ‘हाम्रा मिडफिल्डरले स्ट्राईकरलााई बल ‘सप्लाई’ राम्रोसंग गर्न सकेनन् ।’ न्यौपानेले पाएका मौकालाई सदुपयोग गर्न नसक्नु पनि दुर्भाग्यपूर्ण भएको बताए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आत्मावल नगिराईकन र विपक्षीलाई प्रेसर दिएर खेल्दा नजिता आफ्नो पक्षमा परेको प्रतिक्रिया दिए । 


    यी दुई टिमबीच सिजनमा विराट गोल्डकप चौथो भेट थियो । चौथो भेटमा एकअर्कामा बराबरी जित हारको अवस्था रहयो । यस अघि खप्तड गोल्डकपको क्वारटफाइनलमा २–१ र सीमरा गोल्डकपको फाइनलमा २–० गोल अन्तरले आर्मीले थ्रीस्टारलाई स्तब्ध बनाएको थियो । इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा भने आर्मी थ्रीस्टारसंग टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित भयो । 
    सिजनको अन्त्य हुँदा थ्रीस्टारले विराट गोल्डकपसंगै पाँचवटा उपाधि हात पारेको छ । यसले इटहरीको मदन भण्डारी, धरानको बुढाशुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको उपाधि यस अघि नै जितिसकेको छ । आर्मीको सिजनमा आठौं उपाधि हत्याउने इच्छा विराट गोल्डकपमा भने पूरा हुन सकेन । उसले यस अघि विरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभित्ता, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन भम्भज स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाइसकेको छ । 


    गोल्डकप विजेता टिम थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । उपविजेता आर्मीले पाँच लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो । फाइनल खेलको म्यानअफ दी म्याच थ्रीस्टारका मार्टिनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । म्यान अफ दी टुर्नामेन्ट घोषित थ्रीस्टारका अनन्त तामाङले मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र व्यवस्थापक मुकेश नकर्मी घोषित भए । उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने, उत्कृष्ट मिड फिल्डर थ्रीस्टारकै सुनिल बल, फरवार्ड आर्मीका भरत खवार, डिफेन्समा आर्मीका विमल पाण्डे घोषित भए । उनीहरुले २५ हजार नगद पुरस्कार पाए । सर्वाधिक गोलकर्ता विमल घर्तीमगरले पनि २५ हजार पाए । उनले प्रतियोगिता भर चारवटा गोल गरेका छन् । 
    विजयी टिम तथा उत्कृष्ट खेलाडी, टिम, प्रशिक्षक र व्यवस्थापकलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार लगायतले पुरस्कार वितरण गरे । 


     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…