काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना ।
’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता-कार्यकर्ता अलमलमा परे । कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन ।
पार्टीका साधारण कार्यकर्ता मात्र होइन, अधिकांश केन्द्रीय सदस्य नै यसबारे अनभिज्ञप्राय थिए । कांग्रेसका एक केन्द्रीय सदस्यले सभापति देउवाको फेसबुक स्टाटस हेरेर मात्र पार्टी स्थापनाको मिति थाहा पाएको अन्नपूर्णसँग बताए । उनले भने, ‘पार्टीले कुनै औपचारिक कार्यक्रम गर्ने भए पो थाहा हुन्छ । पार्टीले नै वास्ता नगरेपछि हामीलाई पनि के चासो ।’
बीपी कोइरालाको नेतृत्वमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेस र सूवर्ण शम्शेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गतेका दिन पार्टी एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘नेपाली कांग्रेस’ राखियो ।
उसो त कतिपय कांग्रेसी नेताले माघ १२ लाई पनि कांग्रेस स्थापना दिवसका रूपमा मनाउँछन् । २००३ साल माघ १२ र १३ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन कलकत्तामा भएको थियो । तर, पार्टीले भने चैत २७ गतेलाई नै स्थापना दिवस मान्दै आएको छ ।
कांग्रेस मंगलबार ६८ वर्ष पूरा गरी ७९ औं वर्षमा प्रवेश गरेको छ । देशको पुरानो र ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसले सुरुका दिनमा स्थापना दिवस मनाए पनि पछिल्ला दिनमा भने दिवस मनाउनुको औचित्य नै देख्न छाडेको छ ।
कम्युनिस्ट पार्टीले भने प्रत्येक वर्ष पार्टी स्थापना दिवस मनाउँदै आएका छन् । यसपटक दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले स्थापना दिवसकै दिन पारेर पार्टी एकीकरणको तयारी गरेका छन् ।
कांग्रेसमा स्थापना दिवस मनाउने प्रचलन विगतदेखि नै नभएका कारण यसतर्फ ध्यान नदिइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए । उनले भने, ‘कतिपय जिल्लामा स्थानीय कार्यसमितिले कार्यक्रम गर्छन्, पार्टीले नै औपचारिक रूपमा स्थापना दिवस मनाउने प्रचलन छैन ।’
तर, कांग्रेसकै पार्टी स्थापना दिवसबारे नेता-कार्यकर्ता नै अनभिज्ञ हुनुलाई अध्ययनको कमी भन्छन्, वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल । उनी भन्छन् कांग्रेसमा स्कुलिङ नै छैन, २०४६ सालपछि पार्टीमा प्रवेश गरेका अधिकांश नेता-कार्यकर्तालाई कांग्रेसको सिद्धान्त थाहा छैन ।
’ बहुदल पुनःस्थापना हुनुअघि पार्टीको सिद्धान्त अध्ययन गरेर राजनीतिमा लाग्ने गरे पनि त्यसपछि भने शक्तिको आडमा राजनीति हुने गरेको दाहालको भनाइ छ ।
‘०४६ सालअघि कम्युनिस्ट र कांग्रेसको सिद्धान्त अध्ययन गरेर मान्छे दल छान्थे’, उनी भन्छन्, ‘अहिले त पढेरभन्दा पावरका आधारमा राजनीति चल्छ किन अध्ययन गर्नुपर्यो ? ’
राणाविरुद्धको आन्दोलनदेखि ०६२÷६३ सालको राजनीतिक आन्दोलनको नेतृत्व गरेको कांग्रेसले आफ्नै स्थापना दिवस नमनाएर इतिहासप्रति बेवास्ता गरेको आरोप कार्यकर्ताको छ ।
सभापति देउवाका प्रेस संयोजक गोविन्द परियारले यसपटक स्थापना दिवस मनाउने तयारी भए पनि पार्टी शोक रहेका कारण स्थगन गरिएको दाबी गरे । उनले भने, ‘सभापतिज्यूले स्थापना दिवस मनाउने भन्नुभएको थियो तर केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनका कारण यसपटक नमनाइएको हो ।’