२०७४ चैत्र २९ बिहीवार
काठमाडौं। भारतको ३७ सदस्यीय युवा प्रतिनिधि मण्डलको टोलीले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको निमन्त्रणामा यहि चैत्र २१ देखि २८ सम्म नेपालको भ्रमण गरेका छन् ।
युवा आदानप्रदान कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र भारत सरकार युवा कार्यक्रम तथा खेलकुद मन्त्रालयबीच नोभेम्बर २०१४ मा भएको सम्झौतापत्र अनुरुप हुँदै आएको छ।
आदान प्रदान कार्यक्रम अन्तरगतको अध्ययन टोलीमा भारतको प्रमुख शैक्षिक संस्थाहरु आइआइटी, एम्स, निट, नेशनल ल इन्स्टिच्युट अफ इन्डिया युनिभर्सिटी साथै राजीव गान्धी नेशनल इन्स्टिच्युट अफ यूथ डेभ्लप्मेन्ट बाट भारतका विभिन्न भागका विद्यार्थीहरु सम्मिलित छन् ।
एक हप्ता लामो नेपाल बसाइको क्रममा युवा टोलीले राष्ट्रिय युवा परिषद् नेपाल, नेपाल पर्यटन बोर्ड, तथा नेपाल चेम्बर अफ कमर्स (युवा प्रभाग) सँग अन्तर्क्रिया गरेको थियो।
टोलीले पशुपतिनाथ मन्दिर, भक्तपुर दरवार स्क्वायर, नगरकोटको भ्रमण गर्नुका साथै लुम्बिनी, चितवन र पोखराको पनि भ्रमण गरेको थियो । लुम्बिनीमा टोलीले लुम्बिनी विकास कोषका प्रतिनिधिहरुसँग अन्तर्क्रिया गरेको थियो ।
पोखरामा टोलीले नेपाल पर्यटन विकास बोर्ड पोखराका क्षेत्रीय निर्देशकसँग पनि अन्तर्क्रिया गरेको थियो। युवा तथा खेलकुद मन्त्रीले युवा प्रतिनिधि टोलीका लागी आयोजना गरेको रात्री भोजमा विद्यार्थीहरुले नेपालमा रहँदाको अनुभव साटासाट गरेका थिए।
तत्कालिन युवा तथा खेलकुद मन्त्री पुर्शोत्तम पौडेलको नेतृत्वमा नेपालको पहिलो युवा टोलीले अप्रिल २०१५ मा भारतको भ्रमण गरेको थियो । त्यस्तै भारतको तर्फबाट १०–१७ मार्च २०१७ मा ४७ सदस्यीय युवा टोलीले नेपालको पहिलो भ्रमण गरेको थियो । अप्रिल २०१७ मा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिवको नेतृत्वमा ४९ सदस्यीय दोस्रो नेपाली युवा टोलीले भारतको भ्रमण गरेको थियो ।
नेपाल भ्रमणमा रहेको युवा टोलीले आदानप्रदान कार्यक्रमबाट धरै सिकेको अनुभव गर्नुका साथै उक्त कार्यक्रमले नेपाल र भारत वीचको गहिरो मित्रतालाई स्वीकार तथा सराहना गर्न पनि मद्धत गरेको बताएका थिए।
भारत प्रस्थान गर्न पूर्व टोलीले काठमाडौं स्थित भारतीय दूतावासको भ्रमण गरि त्यहाँ रहेको केन्द्रिय विद्यालय काठमाडौंका विद्यार्थीहरुसँग अन्तर्क्रिया गरेका थिए।
अन्तर्क्रियाको क्रममा टोलीका प्रतिनिधिहरुले नेपाल तथा भारत सरकारले गरेको संयुक्त प्रयासप्रति आभार प्रकट गर्दैै यस्ता आदानप्रदान कार्यक्रमहरुको निरन्तरतामा पनि जोड दिए । उनीहरुले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले गरेको न्यानो आतिथ्यता तथा कार्यक्रमका लागि पनि धन्यवाद दिए ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        