• रातोकलम समाचार टिप्पणी 

    गत मङ्सिर २१ गते भएको निर्वाचन परिणाम देशैभर कांग्रेसको पक्षमा रहेन । इतिहास बोकेको पार्टी, अधिकांश आन्दोलनको नेतृत्व गरेको पार्टी, पुरानो पार्टी जे–जे भने पनि यस चुनावमा कांग्रेसले आफ्नो अस्तित्व जोगाउन सकेन ।
        पार्टी सभापति शेरबहादुर देउवा नजिकका केही नेताले कांग्रेस हारेको नभइ केही नेता चुनावमा पराजित भएको टिप्पणी गरे । झट्ट हेर्दा देखिन्छ, पनि त्यस्तै । एउटा घरमा ११ जना थिए , अर्को घरमा ८ जना । दुई घरका मिल्दा १९ हुन स्वाभाविकै हो । एक जना,दुई जना बाङ्गिदा पनि १७ को अंक गणित निश्चित थियो,बामगठबन्धनमा । तर चारतारे झण्डा मुनि १३ थिए । अरु एउटा घरका २ जना आउँदा १५ भए । यस्तो अवस्थामा कांग्रेस हार्यो ।यो हार अंक गणितको हार मात्र हो । यो निर्वाचन हार्दैमा कांगे्रस सकियो । अब कांग्रेस कोमामा पुग्यो भन्नु कांग्रेसले कांग्रेस प्रति विश्वास घात गर्नु मात्र हो । केही आन्तरिक कारण होलान तर कांग्रेस हार्नुको मुख्य कारण बामगठबन्धन नै हो ।   
        अंक गणितको हिसावमा जस्तो परिणाम आए पनि मोरङ ३ को परिणाम भने कांग्रेसका लागि अत्यन्तै सुखद रह्यो । प्रतिनिधि सभामा थोरै मतले पराजय ब्योहोर्नु परे पनि प्रदेश सभाको १ नं क्षेत्रमा कांग्रेसले दुई घरको एकतालाई तोड्यो । युवा नेता सुयर्माराज राई वाम किल्ला भित्र पहिलो पटक चारतारे ठड्याउन सफल भए । जीत आफैमा सुखद कुरा हो । सधैं चुनाव जितिरहेकाहरूका लागि जीत सामान्य बन्दैन, रहदैन भने, जीवनमा कहिल्यै चारतारे झण्डा लिएर विजय उत्सव नमनाएका हरूका लागि त्यो खुशी झन कति स्मरणीय रह्यो त्यो अनुभुति गर्ने हरुलाई मात्र थाहा छ । 
        पथरीशनिश्चरे १ का एक कांग्रेस कार्यकर्ताको भनाई जस्ताको जस्तै यहाँ राखिएको छ । ‘२०४६ को प्रजातन्त्र पछि भएका सबै निर्वाचनमा रुखलाई मत हालें । तर ९ औं पटकको चुनावमा मात्र जितको खुसी मनाउन पाइयो ।’उनी कति हर्षित थिए, यहाँ लेखेर प्रकट गर्न सकिन्न । साँच्ची नै पथरीशनिश्चरे नगरपालिकाका केही वडाका कांग्रेस जनले यस अघि कहिल्यै विजय जुलुस, अविर माला र कांग्रेसको झण्डा बोकी मन खोलेर ‘नेपाली कांग्रेस जिन्दावाद’ भन्न पाएका थिएनन रे । 
        विषम परिस्थितिमा कांग्रेसले प्रदेश सभाको निर्वाचन जित्यो ।देशैभर हारेको कांग्रेसको सत्तामा पुग्ने सपना त तुहियो नै ।  कुन नेताले कसरी निर्वाचन जितेर आए भन्ने समीक्षा सम्म भएन । मोरङ कै कुरा गर्ने हो भने अंक गणितका हिसावले वामगठबन्धन भन्दा बलियो देखिएको निर्वाचन क्षेत्र नं.६ मा पनि कांग्रेस प्रतिनिधि सभामा पछारियो ।प्रदेश सभामा दुबै सदस्यले जीत निकाल्दा प्रतिनिधि सभा कांग्रेसले गमाउनु पर्यो ।हारका कारण के हुन, कस–कसले अन्तरघात गरे त्यो पार्टीको नेतृत्व पंक्तिले समीक्षा गर्ने नै छ । तर,कठिन निर्वाचन क्षेत्र ।जहाँ कांग्रेस भन्दा बामगठबन्धन १४ हजार मतले अघि थियो । त्यो निर्वाचन क्षेत्रबाट निर्वाचन जित्ने सुयर्माराज राईलाई अहिले गुमनाम पारिएको छ । 
        चुनाव ताका कांग्रेसको इतिहास पल्टाएर २०१५ सालमा जनजातिको छोरालाई वीपीले मन्त्री बनाएको भाषण ठोकेर मत बटुल्ने कांग्रेसहरु नै आज सुयर्माराज राईलाई अबसरबाट पर सार्ने अभ्यासमा देखिन्छन् । कांग्रेस प्रदेश नं १ मा जनजाति सभासदलाई कुनै अवसर नदिने प्रपञ्च रचिरहेको छ । यो घटनाले आज त कांग्रेसका केही नेतालाई फाइदा पुग्ला ।तर भोलिका दिनमा कांग्रेसले फेरि कसरी जनजातिसँग मत माग्न जाने प्रश्न अनुत्तरित नै छ । मोरङ कांग्रेस कै कुरा गर्ने हो भने गत स्थानीय तह निर्वाचनमा पनि चुनाव जितेर जनजाति नेताहरूले कांग्रेसको नाक उँचो बनाइदिएको १ वर्ष नाघेको छैन । चाहे उर्लाबारीको मेयरमा क्षेत्रीय सभापति खड्ग फागोको अविष्मरणीय जीत होस या,लेटाङको मेयरमा शंकर राईको जीत । यति मै जीतको  अध्याय पुरा हुन्न । कांग्रेसको आन्तरिक निर्वाचनमा क्षेत्रीय प्रतिनिधिमा पराजित मन्जु राईले सानदार मत ल्याएर सुनवर्सी नगरपालिकाको उप मेयर जितिन भने आन्तरिक निर्वाचनमा क्षेत्रीय सभापति हारेका रविन राई रतुवामाई नगरपालिकाको मेयरमा बिजयी बने ।   
        प्रदेश नं. १ मा कांग्रेसले प्रत्यक्ष तर्फ जम्मा ८ सभासदलाई जिताउन सक्यो । त्यसमा पनि जनजाति समूदायबाट सुयर्माराज राई एक्ला प्रतिनिधि हुन ।कांग्रेसले स्थानीय निर्वाचनमा सर्मनाक हार भोगेको ठाउँमा जित निकालेका राईलाई कांग्रेसले ठूलै उपहार र अबसर दिन्छ भन्ने धेरै कांग्रेस कार्यकर्ताको बुझाई थियो । त्यो अवसरले  ५ वर्ष पछि जित दोहोर्याउने मौका दिन्छ भन्ने धेरै कांग्रेसी कार्यकर्ताको सपना थियो ।शैक्षिक हिसाबले पनि राई स्नात्तकोत्तर हुन् । त्यसैले धेरै कांग्रेसको बुझाई थियो राई संसदीय समितिको सदस्य पक्कै हुन्छन् । तर त्यसमा उनी परेनन । त्यसपछि कांग्रेसले प्रमुख सचेतक, सचेतकको जिम्मेवारी तोक्यो त्यहाँ पनि  कांग्रेसको संसदीय समितिले राईलाई देखेन । 
        जो विषयमा जानकार छ , विज्ञ छ र तर्कले विपक्षीलाई गलाउन सक्छ, उसलाई पन्छाउँदै जाने हो भने अब कांग्रेस कोमा मा पुग्ने निश्चित छ । विगतमा कांग्रेसको आधार क्षेत्र मानिने तराईमा समेत कांग्रेसको साख गिरेको छ । पटक पटक मन्त्री भएकाहरू जनताबाट ‘रिजेक्ट’ भएका छन् । जनजातिहरूमा प्रिय बन्दै गरेको कांग्रेसले भाषणमा समावेशीका कुरा गरेर अवसरमा खस र आर्यलाई मात्र पठाउँदै जाने हो भने कांग्रेसलाई कसैले सक्नु पर्दैन आफै सकिन्छ । जितको राजनीतिका लागि मात्र आदिबासी जनजातिलाई प्रयोग गर्ने कांग्रेस नेतृत्वको चरित्रमा आम कांग्रेस कार्यकर्ताले सुधार खोजेका छन् । ताकि भोलिका दिन पुन मत माग्ने बाटो कांग्रेस नेतृत्वले तयार गरिदियोस ।    
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…