• २०७५ बैशाख ०१ शनिवार

    रारा ; मुगु ; वैशाख १ अर्थात नेपाली नयाँ वर्षको पहिलो दिन

    प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्दैछन्। प्रधानमन्त्री ओलीले आज बिहान ८ बजे राराबाटै नयाँ वर्षको शुभकामना सन्देशका साथै देशबासीका नाउमा सम्बोधन गर्दैछन्।

    प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, पर्यटन मन्त्री रवीन्द्र अधिकारी, एमाले नेता सुवास नेम्वाङ, माओवादी नेता जनार्दन शर्मा रारा  पुगेका छन्। 

    पर्यटन वर्ष उद्घाटनको तयारी पुरा भएको छ। पर्यटकहरुको स्वागतमा रारा बेहुलीझैं सिंगारिएको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनाल, प्रदेश मन्त्रीहरु, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारीहरु, स्थानीय जनप्रतिनिधि, सर्वसाधारणहरु रारा  पुगेका छन्।

    प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले स्वागतद्वार, मञ्च, अतिथि व्यवस्थापन लगायतका सबै तयारीहरु पुरा भइसकेको जानकारी दिए।

    प्रदेश सरकारको निमन्त्रणमा यहाँ आउने आगन्तुकहरुलाई आवासका लागि टेन्टको व्यवस्था गरिएको छ। पर्याप्त होटल नहुँदा करिब डेढ सय टेन्ट बनाइएको छ।

    पर्यटन वर्षकै सुरु दिनमा पाहुनालाई खाना, बस्नको दु:ख नहोस् अस्थायी होटल सञ्चालनमा ल्याइएको छ’ मन्त्री बुढाले भने, पर्यटकका लागि सहज रुपमा रारा आउन आवश्यक पूर्वाधारको तीव्र गतिले विकास गर्नेछौं। पर्यटकलाई रारा आउँ–आउँ लाग्ने गरी पूर्वाधार विकासमा जोड दिँदैछौं।’

    प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाहरुका लागि निकुञ्ज सुरक्षार्थ श्रीदल गुल्मले खाना, आवास व्यवस्थापनको जिम्मा लिएको छ। प्रदेश मन्त्रीहरुलाई निकुञ्जभित्र रहेको भिलेज हेरिटेज रिर्सोटमा बस्ने व्यवस्था मिलाइएको छ। सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतलाई टेन्टमा राखिएको छ।

    जिल्ला मूल समारोह समितिका संयोजक पूर्णबहादुर रोकायाले पर्यटन वर्षले राराको मात्रै नभई सिंगै मुगुको विकासमा सेवा पुग्ने बताए। ‘पर्यटकलाई स्थल र हवाईमार्गबाट सहज रुपले रारा ल्याउन समस्या छ’

    अब सरकारले यातायात पूर्वाधारको विकासमा ध्यान देओस्’ उनले भने, ‘निकुञ्जले पनि होटल व्यवसाय सञ्चालनमा मद्दत पुग्ने गरी सहजीकरण गरिदिनुपर्छ।’

    त्यस्तै, पर्यटकको सुविधाका लागि वल्डलिंकले इन्टरनेट सेवा उपलब्ध गराएको छ। पाहुनाको स्वागतका लागि मुगुको स्थानीय झाँकी देखाउनुका साथै देउडा, रत्यौली प्रस्तुत गरियो।

    ताल परिसर घुम्नेहरुका लागि घोडाको व्यवस्था पनि मिलाइएको छ। रारामा आवश्यक सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालित छन्।

    कर्णाली प्रदेश सरकारको पहिलो बैठकले नयाँ वर्षका अवसरमा प्रमुख पर्यटकीय स्थल मुगुको राराताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो। ‘कर्णाली समृद्धिको आधार : पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ पर्यटन वर्ष मनाउन लागिएको हो।

    प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार सम्बोधन लगत्तै प्रधानमन्त्री हुम्लाको हिल्सा नाका अवलोकनमा जानेछन्। ११ बजे पुन: रारा फर्केर प्रधानमन्त्रीले बोटिङसमेत गर्ने कार्यक्रम छ। १२ बजे ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को घोषणा गरेर दिउँसो २ बजे जुम्ला प्रस्थान गर्नेछन्।

    जुम्लामा उनकै अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्नेछ। प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसंग भेटघाट गर्नुका साथै विद्यालय भर्ना अभियानको प्रारम्भ गर्ने कार्यक्रम छ। जस अन्तर्गत बालबालिकालाई स्कूलमा भर्ना गर्नेछन्।

    मुगुको छायानाथ रारा नगरपालिका ९ मा पर्दछ, राराताल। १६७ मिटर गहिराई र ५ किमी लम्बाई रहेको झण्डै ३ किमी चौडाई रहेको यो नेपालकै ठूलो ताल हो। रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ताल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्दछ।

    वरिपरी घना जंगल, माथि हिमाल, मानव बस्तीरहित राराताल सुन्दरताको अनुपम नमुनाका रुपमा देख्न सकिन्छ। भू–स्वर्ग, स्वर्गकी अप्सरा जस्ता उपमा पाएको छ रारातालले।

    तत्कालिन राजा महेन्द्रले २०२० सालमा राराको भ्रमण गरी मविविशाहको नाममा ‘स्वर्गकी अप्सरा’ शीर्षक दिएर राराको बयान गरेका थिए। रारातालको संरक्षण गर्न तत्कालिन राजाले राराको बस्ती बाकेको चिसापानी स्थानान्तरण गरेका थिए।

    कर्णाली राजमार्ग सुचारु भएसँगै रारा आउने पर्यटकको संख्या बढ्दै गएको छ। रारा आउनलाई नेपालगञ्जबाट मुगुको ताल्चा विमानस्थल, सुर्खेत विमानस्थल पनि प्रयोग हुने गरेको छ। मुगु सदरमुकाम गमगढीदेखि २ घण्टा पैदल हिँडेपछि पुगिन्छ।

    राराक्षेत्रकै प्रदेशसभा सांसद दानसिं परियारले यातायातको पहुँचसँगै पर्यटकहरुको संख्या बढ्न थालेकाले राराबाट मनग्य राजस्व संकलन गर्न सकिने बताउँछन्।

    ‘राराको पर्यटन पूर्वाधारको विकास गर्ने हो भने कर्णाली प्रदेशलाई धान्ने स्रोत यहाँबाटै जुट्न सक्छ’ उनी भन्छन्, रारासम्म यातायात पूर्वाधारको विकास गर्न सके जुम्लाको सिञ्जा, हुम्लाको मानसरोवर, दैलेखको पञ्चकोशी लगायत स्थलमा पर्यटकको चहलपहल बढ्छ।’

    प्रदेश सरकारका प्रवक्ता एवं भुमिव्यवस्थ्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले राराले विश्वको ध्यानार्कषण गर्ने भएकाले प्रधानमन्त्रीबाट पर्यटन वर्ष घोषणा गर्नुपरेको बताउँछिन्। ‘रारा हाम्रो प्रदेशको सान हो।

    राराबाटै प्रदेशले समृद्धिको यात्रा तय गर्दैछ’ उनी भन्छिन्, ‘नयाँ वर्षसंगै कर्णाली प्रदेशको विकास र समृद्धिको रेखा कोर्नेछ।’ प्रधानमन्त्रीले देशबासीका नाममा गर्ने सम्बोधनसमेत राराबाटै गर्न लागेकाले कर्णाली रारा पर्यटन वर्षको महत्व झन् बढेको उनको भनाई छ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…