• सुनसरी,१ बैशाख । प्रदेश १ को नामांकनका विषयमा धेरै मतभेत नदेखिए पनि स्थायी राजधानी कहाँ राख्ने भन्ने विषय भने पेचिलो बनेको छ ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले विराटनगरलाई अस्थायी राजधानी तोके अनुसार संरचना निर्माण लगायतका काम अगाडि वढे पनि स्थायी राजधानीका बारेमा भने प्रदेश सांसदहरु विभाजित छन् ।

    प्रदेश ६ ले नाम कर्णाली र राजधानी सुर्खेत हुने गरी सर्वसम्मत रुपमा टुङ्गो लगाएर सकारात्मक सन्देश प्रदान गरेको छ । तर एक नम्बर प्रदेशमा यो विषयले संसदमा प्रवेश नै पाएको छैन् ।

    कतिपय सांसदहरुले विराटनगरमा नै स्थायी तोक्नुपर्ने बताएका छन् भने केहीले अन्यत्र सार्नुपर्ने धारणा राखेका छन् ।

    प्रदेश सांसदहरु अब नामांकन र अस्थायी राजधानी चाँडै टुग्याउनुपर्ने पक्षमा छन् । प्रदेशको नाम सगरमाथा राख्ने लगभग टुंगोमा पुगेको सांसदहरुको भनाइ छ । स्थायी राजधानीको विषयमा संसदमा बहस नै सुरु नभएको सोलुखुम्बुका एमाले सांसद उत्तमकुमार बस्नेतले बताए ।
    उनले अब यो विषयले पनि संसदमा स्थान पाउनु पर्ने बताउँदै कसैले पनि आफ्नो ठाउँको मोह देखाउन नहुने बताए । ‘सहमतिबाट राजधानी राख्ने विषयको टुङ्गो लगाउनुपर्छ, चाहे त्यो विराटनगरमा राख्ने होस या अन्यत्र सार्ने विषयको बारेमा होस’ उनले भने ।

    संघीय समाजवादी फोरमका सांसद जयराम यादवले सरकार विस्तार, राजधानी तथा प्रदेशको नामांकनको विषय छिट्टै टुङ्ग्याउनुपर्ने बताए ।

    कर्णालीले जस्तै प्रदेशको नाम र राजधानी सर्वसम्मत रुपमा पारित गर्न सके सकारात्मक सन्देश जाने उनको धारणा छ । मोरङका सांसद सूयर्माराज राई पनि नामांकन र स्थायी राजधानी राख्न धेरै ढिलाइ गर्न नहुने बताउँछन् ।

    मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामांकन र राजधानी तोक्नेदेखि समृद्ध प्रदेश निर्माण गर्न सबै प्रदेशसभा सदस्यहरुको एकताबद्ध प्रयासको खाँचो रहेको धारणा राखेका छन् । सबैै सांसदहरुको सुझाव र सल्लाहको आधारमा नामांकन र स्थायी राजधानी तोक्ने विषयमा चाडै निश्कर्षमा पुगिने उनले बताए ।

    उनले स्थायी राजधानी कहाँ राख्ने बारेमा आफना धारण अहिलेसम्म सार्वजनिक गरेका छैनन् । नियमित विजनेस नभएकोले संसद बैठक तीन साताको लागि स्थगित गरिएको छ । यी दुई विषयको टुंगो भने प्रदेशसभाको दुई तिहाइबाट गर्न सकिने व्यवस्था संविधानमा छ । ९३ जना सांसद रहेको प्रदेश १ मा एमालेको बहुमत छ ।

    मुख्यमन्त्री शेरधन राईका अनुसार प्रदेशको नाम र राजधानीका बारेमा छलफल चल्दैछ ।
    कुनै बेला एकल जातीय पहिचानको कुरा गर्ने माओवादी र बहुजातीय पहिचानको कुरा गर्ने एमालेनै अहिले ६ वटा प्रदेशको नाम राख्ने ‘पण्डित’को आसनमा छन् ।

    माथिल्लो पहाडी क्षेत्रका सांसदहरु सगरमाथा प्रदेश राख्नुपर्ने पक्षमा छन् । तल्लो भेगका सांसदहरु कोशी प्रदेशको पक्षमा छन् । विगतमा माओवादीले किरात, लिम्बुवान र कोचिला प्रदेश भन्ने गरेको भूभाग अहिले सिंगै १ नम्बरमा छ ।

    एमालेले बहुपहिचानका आधारमा किरात लिम्बुवान कोशी प्रदेश भनेको थियो ।
    अब सबैलाई मान्य हुनेगरी सगरमाथा वा कोशी प्रदेशमा सहमति खोज्न सकिने उच्च स्रोतले जनाएको छ ।

    विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट प्रदेशलाई चिनाउन सकिने भएकाले सगरमाथामै सहमति हुनसक्ने सम्भावना छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…