• किशन शाही
    केराबारी । धनकुटाको दक्षिण पूर्वी सीमासँग जोडिएको मोरङको केराबारी गाउँपालिका –२ सिंंहदेवस्थित जेफाले पछिलो समय आन्तरिक पर्यटकको उत्कृष्ट गन्तब्य बन्दै गएको छ ।

    जेफाले डाँडालाई पर्यटकीय क्षेत्रको विकास गर्न स्थानीयवासीले जेफाले पर्यटन विकास समिति गठन गरी विभिन्न कार्यक्रम सुरु गरेसँगै आन्तरिक पर्यटकहरुको उपस्थिति बाक्लिएको हो ।

    समुन्द्र सतहवाट करीब ७ हजार फिटको उचाईमा रहेको शान्त र स्वच्छ हावापानी, मनोरम दृश्यावलोकन गर्न सकिने जेफाले डाँडा , धार्मिक प्रवद्र्धन तथा साँस्कृतिक क्षेत्रको रुपमा पाथीभरा मन्दिर, ऐतिहासिक किम्बदन्तीका रुपमा रहेको तीनचाने ढुंगाको अवलोकन गर्न पाइन्छ ।

    स्थानीय कृषि उद्यमी तथा चिया व्यवसायी नारायण राईको इलाम विर्साउने चिया उद्योगमा रमाउन आन्तरिक पर्यटकहरुको लागि जेफाले नयाँ गन्तव्य वनिरहेको जेफाले होम स्टेका सचिव भीम ठकुरी बताउँछन् ।

    जेफालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मंसिरे पूर्णे र नयाँ वर्ष वैशाक १ गतेका दिन मेला व्यवस्थापन समितिले विभिन्न साहित्यिक कार्यक्रम खेल प्रतियोगितासहित मेला लगाउँदै आएको छ । जेफाले आउने पर्यटकहरुलाई रातको बसाई खल्लो हुन नदिन टाढाबाट आउने पर्यटकलाई होम स्टेको व्यवस्थापन गरिएको छ । पाँच ओटा घरमा एक पटकमा ३५ देखि ४० जनासम्म अटाउने सो होम स्टेमा स्थानीय जातको कुखुराको मासु, गुन्द्रुकको अचार र कोदाको ढिडो समेतको नेपाली खाना खुवाउने गरिन्छ ।

    मेला बजार समितिले नयाँ वर्ष २०७५ मा पनि गाउँपालिकास्तरीय भलिवल प्रतियोगिता र साहित्यिक श्रष्टाहरुको उपस्थितिमा साहित्यिक कार्यक्रम गर्ने भएको कारण यो वर्ष विगत भन्दा अझ वढी पर्यटक भित्र्यउन तयारी मेला बजार समितिले लिएको छ ।

    जातीय तथा सांस्कृतिक पर्यटनको खोज अनुसन्धानको लागि पनि सहज र सरल रुपमा घुम्न र अवलोकन गर्न सकिने भएकाले जेफाले पर्यटनहरुको लागि उत्कृष्ट गन्तव्यको सूचिमा पर्दै गएको छ ।

    समुन्द्र सतहवाट १९४८ मिटरको उचाईमा रहेको जेफाले डाँडा केराबारी गाउँपालिकोको प्रमुख पर्यटकीय गन्तव्य हो । साविक सिंहदेवी गाविसको वडा नम्बर ५ बिहीबारे बजारको शिरमा धनकुटा र मोरङको सिमानासँग जोडिएको अग्लो पहाडको थुम्की डाडाँलाई नै जेफाले भनिन्छ । हावेचौर अर्थात बिहीबारे बजार देखि ३० देखि ४५ मिनेटको उकालो बाटोमा रहेको ९ सय ५६ ओटा पक्की सिंढी चढेर जेफाले डाँडा पुग्न सकिन्छ ।

    दूरी पूर्वपश्चिम लोकमार्ग अतर्गत सुन्दरहरैंचा नगरपालिकाको खोर्सानेदेखि केरावारी गाउँपालिकाबाट करीव ३३ किलोमिटर र कोशी लोकमार्गको भेडेटारदेखि देखि पर्यटकीय क्षेत्र डाँडबजार,राजारानी समेवा हुँदै सहज रुपमा पुग्न सकिन्छ जेफाले । यहाँबाट पूर्वाञ्चलका १६ जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । सूर्योदयसहित हिमचुचुराहरुको मनोरम दृश्यावलोकन गर्न जेफालेमा एकरात पस्नैपर्ने हुन्छ । यसका अलवा वाह्रैमास हरिया देखिने कटुसको विरुवाले सौन्दर्यलाई थप माथि उठाएको छ जुन खोज अनुसन्धानको विषयम वन्न सक्छ । यहाँ तीन तलामा रहेको आधुनिक धरहरासमेत निर्माण गरिएको छ ।

    पाथीभरा मन्दिर ः तेह्रथुमको पाथीभरा मन्दिरवाट ल्याइएको देवीको ढुंगा र वुढासुब्बा ,छिन्ताङदेवी र दक्षिणकाली र पूर्वको माईबाट ल्याइएको देवी देवताको प्रतिमा यहाँ पाइन्छ । सवै देवी देवताको केन्द्रस्थलको रुपमा पूजाआजा गर्न सकिने भएकाले पाथीभरा मन्दिरमा महिनै पिच्छे भक्तजनहरुको आगमन हुँदै आएको छ । छ हजार फिटको उचाईमा रहेको पाथीभरा मन्दिर धनकुटा र मोरङको सीमाक्षेत्र रहेको काफ्ले डाँडामा रहेको छ । पाथीभरा मन्दिरमा विवाह व्रतबन्ध तथा देश परदेश घुम्न जाने व्यक्तिलगायत विभिन्न धर्मावलम्बीहरुको आगमन हुने सो ठाउँमा पुगेर दर्शन गरे चिताएको पूरा हुने विश्वास पाइन्छ ।

    चियावारी ः स्थानीय कृषि उद्यमी तथा व्यवसायि नारायण राईको इलाम बिर्साउने चिया उद्योग पर्यटकहरुका लािग अर्को आर्कषक गन्तव्य हो । बिहीबारे बजारवाट १ किलोमिटर दक्षिणमा रहेको सो चियावारी करीब तीनसय रोपनी क्षेत्रफलमा रहेको छ । चियावारीको मनोरम दृश्यावलोकन तथा अध्ययन अनुसन्धानका लागि महत्वपूर्ण मानिन्छ । अर्गानिक चिया उत्पादन गरी मोरङलाई नै पहिलोपटक चियावगानको रुपमा स्थापित गर्ने नारायण राई आफैमा अगुवा कृषक पनि हुन् । १० वर्षसम्म विदेशमा कमाएको पैसा लगानी गरी उनले चिया उत्पादन सुरु गरेयता करोडौं लगानी गरिसकेका छन् ।

    तीनचाने ढुंगा ः सोमवारेबाट दक्षिण पश्चिम दाह्रे अकर उतरपूर्व साविक सिंहदेवी १ मा रहेको तीनचाने ढुंगा पनि आर्कषणको केन्द्र मानिएको छ । एउटै आकारमा तीन चिरा चाक्ला भएर बसेको ढुंगा हेर्न विभिन्न ठाउँबाट मानिसहरु आउने गर्छन् । खोज तथा अनुसन्धानको विषय लागि उपयुक्त गन्तव्य बन्दै गएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…