• हरि कोइराला
    उर्लाबारी । मोरङको उर्लाबारीका मौरीपालक किसान यति बेला आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजि रहेका छन् । स्थानीय बजारको माग भन्दा बढी उत्पादन भएपछि किसानहरू घर मै मह भण्डारण गरी बजार खोज्न थालेका छन् ।
    मेलीफेरा मौरीपालन सहकारी संस्था गठन गरी संगठित भएर मोरङको उर्लाबारी र पथरीशनिश्चरे नगरपालिका ८८ जना किसान ब्यावसायिक मौरीपालनमा लागेपछि उर्लाबारी र पथरीशनिश्चरे क्षेत्रमा महको उत्पादन बढेको हो । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा ९० क्विन्टल मह उत्पादन भएको संस्थाका अध्यक्ष बोधराज खतिवडाले बताउनु भयो । तोरी फूल्ने मौसममा भन्दा जङ्गली विरुवा फूल्ने मौसममा मह बढी उत्पादन भएको अर्का किसान रमेश खड्काको भनाई छ । आइतवार मह काढ्नु भएका खड्काले घरमा धान भण्डारण गरे जसरी नै मह राख्नु भएको छ । उहाँले भन्नुभयो–‘मह यति धेरै उत्पादन भयो कि किनेर ल्याएका सबै भाडा भरिएर घरका जग, अंखोरामा पनि मह राख्नु पर्ने अवस्था छ ।
    आइतबार खड्काले महको बजारीकरणका लागि सहयोग गर्न वडाध्यक्ष राजनकुमार कँडेललाई घर मै बोलाएर समस्या सुनाउनु भयो । वडाध्यक्ष कँडेलले महको बजार ब्यवस्थापनका लागि सहयोग गर्ने बताउनु भयो । खड्काले यो वर्ष तोरी फूलेको सिजनमा ४ क्विन्टल र जङ्गली फूलको मौसममा २ क्विन्टल गरी ६ क्विन्टल मह उत्पादन गर्नुभएको छ । उहाँले हाल २५ घार मौरी पाल्नु भएको छ ।
    गत वर्ष ५ क्विन्टल मह उत्पादन गर्नु भएका खड्काले भन्नुभयो– ४ क्विन्टल बिक्री भयो । १ क्विन्टल मह मौरीलाई खुवाएर सकें । मौरीले मङ्सिर देखि जेठ सम्म मह उत्पादन गर्छ भने बाँकी समय चिनी खुवाएर पाल्नुपर्छ, मह बिकेन, चिनी नै खुवाएर मौरी बचाएँ, खड्काले भन्नुभयो ।
    अझ अध्यक्ष खतिबडासँग अहिले ७० घार मौरी छन् । एक पटकमा एक घारबाट १० किलो सम्म मह उत्पादन हुने खतिवडाको भनाई छ । तर, यो पटक रमेश खड्काले पालेका मौरीमा एक घारबाट २० किलो सम्म मह काढेको खतिवडाको भनाई छ । उहाँले भन्नुभयो आइतबार मात्र भोला पोख्रेलको १३ घारबाट ११४ किलो,हरि विष्टको १६ घारबाट १०८ किलो र नवीन कार्कीको १० घारबाट ८० किलो मह काढेका छौं । मह उत्पादन बढेपछि महको प्रशोधन केन्द्र आवश्यक परेको किसान भोला पोख्रेलले बताउनु भयो ।
    मोरीपालन विकास शाखा गोदावारीका प्राविधिक सहायक सुवास खनालको प्रत्यक्ष निगरानीमा मह काढेका किसानहरू डावर र पतन्जलीको महको प्रयोगलाई घटाउन सरकारी स्तरबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउँछन् । प्राविधिक सहायक सुवास खनालले भन्नुभयो–‘महलाई आगोमा पकाउनु हुँदैन, तर बहुराष्ट्रिय कम्पनीको मह ८० डिग्री तापक्रममा उमालेको हुन्छ । त्यसैले सबै फूलबाट प्राप्त मह एकै रंगको हुन्छ । उहाँले हरेक वनस्पति अनुसार महको पनि फरक स्वाद र रंग हुने बताउनु भयो । खनालले मह आगोमा उमालेर पछि मृत हुने र त्यसमा गुलियो पन बाहेक अरु कुनै भिटामिन नहुने बताउनु भयो । मह जीवित मात्र सेवन गर्न उहाँको सुझाव छ ।उहाँले भन्नुभयो–‘अहिले पनि करोडौं मुल्यको बिदेशी मह स्वदेश भित्रिरहेको छ । आयातलाई निरुत्साही गर्न सके नेपाली महले राम्रो मुल्य पाउने प्राविधिक खनालको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…