• देबु बानियाँ 
    एक नव दुलही । जसको बिहे भएको दुई महिना भयो । तर, श्रीमान बिहे गरेको १० दिनपछि श्रीमतीलाई घरकी सासुको साथ छोडेर विदेश गएका छन् । केही दिनपछि बिहानीको किरणसँगै नव दुलही खुसीका उमङ्ग बोकेर आफ्नो श्रीमानले गरेको विदेशी फोनमा व्यक्त छिन् । उनी भन्दै छिन्, ‘सुन्नुहोस् त भोलि कति गते हो ?’ जिज्ञासु भावमा आफ्नो श्रीमानलाई विहे गरेको दुई महिनाको खुसीको खबर सुनाउँछिन् । अरुअरु थुप्रै आफ्ना मिठा पलहरु श्रीमानसँग बाँड्छिन् । श्रीमानले पनि फेरि भोलिको बिहानी फोन गर्ने वाचा गर्दै यी दुईको वार्तालाप सकिन्छ । 
    अर्काेदिन श्रीमानले गर्ने फोनको पर्खाइमा बसेकी छिन् उनी । तर, उनको फोनका घण्टी बज्न मान्दैन । उनी पनि के कम जबसम्म श्रीमानको फोन आउँदैन तबसम्म मिसकलसम्म नगर्ने प्रण गर्छिन् । एकछिनमा फोनको रिङ बज्छ । ‘देख्नु भयो त ? कस्तो लाग्यो मलाई मेरो मायाले फोन गर्छन् भनेको थिएँ नि । निकै उत्साहित मोडमा फोन रिसिभ गर्न पुग्छिन् । तर, त्यो फोनको घण्टी श्रीमानको नभएर श्रीमानको मृत्युको खबर आएको हुन्छ । कसैले श्रीमानको सुनामीमा परेर निधन भएको खबर सुनाउँछ । अनि उनको जीवनमा एक्कासी अन्धकारको सुनामी आउँछ ।
           

                     सोमवार परिवर्तन थिएटरले काँकरभिट्टाले आयोजना गरेको एकल मञ्चन नाटकको पहिलो श्रृङ्खला हो यो । थिएटरकी कलाकार सुस्मा पोखरेलद्वारा अभिनित नाटक सुनामी नेपाली समाजमा घट्ने गरेको एउटा ज्वलन्त उदाहरण पनि हो । जसले श्रीमानको निधन भएपछि जिउने विधुवा जीवनको एउटा यथार्थ चित्रण गरेको छ ।
    सुनामी यतिमै सकिएको छैन । कल्पना यस नाटकको मुख्य पात्र, जो बिहे भएको दुई महिना बित्न नपाउँदै विधुवा बनेकी छिन् । हिजोसम्म रङ्गिएको उनको त्यो शरीर आज सेतो कपडाले ढाकेको छ । त्यही समाज हो जसले हिजो कल्पु भनेर मायालु नामले बोलाउँथ्यो । आज नाम पनि परिवर्तन भएको छ, विधुवा नारी । पात्र उही, समाज त्यही तर उनमा गर्ने व्यवहारमा परिवर्तन भएको छ । उनको बैशालु यौवनतामा पनि समाजका यौन पिपासुहरुले गिद्धे नजर लगाउन थालेका छन् । कल्पनाको बाँच्ने आधार पनि केही छैन । श्रीमानले न त उनलाई उनको कोख भरिदिएका छन् । न त यो समाजले नै उनलाई राम्रो व्यवहार गर्छ । मात्र उनीले पीडा सहेर बाँच्नु सिवाय अर्काे विकल्प छैन । समाजका अनेकन पीडा र गिद्धे नजरदेखि आजित भएर उनले आत्महत्या गर्ने निर्णय गर्छिन् । तर, उनका लागि मर्नु पनि सुख थिएन ।  भोलि उनी मरेर त जालिन् तर, मर्दा पनि उनले सुख पाउँदिनन् । कहिले नब्यहोरेका शब्दहरु बर्सिन्छन् समाजमा । ‘कोसँग सल्केकी थिई, कसको पेट बोकेकी थिई, आदि इत्यादि भन्नेछ यो समाजले । उनले आत्महत्या गर्न पनि नसक्ने बोरु यही समाजसँग सङ्घर्ष गरेर बाँच्ने निर्णय गरिन् । उनको रुप परिवर्तन भयो । तर, उनको यौन चाहनामा परिवर्तन हुन सकेको थिएन ।
    कल्पना भन्छिन्, ‘यदि श्रीमान् भइदिएको भए कत्ति माया गर्थे, म कत्ति घुर्काउँथे होला ?’ उनमा भएका यौन कुण्ठाहरुलाई लुकाएर, बैशालु उमेरलाई पनि शिथिल पार्दै उनको जीवन चलेको थियो । समयक्रमसँगै उनी यही समाजमा बृद्ध हुन्छिन् । आज उनको यौन चाहना पनि हराएको छ । अनि यो समाजको हिजो उनलाई हेर्ने नजर पनि फेरिएको छ । कल्पना बुढेसकालको जीवन बिताउँदै छिन् । पर्दा बन्द हुन्छ । सुनामी सकिन्छ । सबैको तालीले हल नै गुञ्जायमान हुन्छ ।
    थिएटरकी अध्यक्ष कविता नेपाल पोर्तेलको लेखन तथा निर्देशन रहेको यो नाटक सामाजिक यथार्थवादी नाटक बनेको छ । अहिलको नेपाली समाजमा पनि उत्तिकै कुसंस्कारको रुपमा रहेको विधुवा प्रथालाई यस नाटकमा उतार्न खोजिएको छ ।
    थिएटरको नाटक घर उद्घाटन समारोहको अवसर पारेर मञ्चन गरिएको एकल नाटकमा सहभागी सबैलाई भावविहल बनाएको थियो ।
    प्रदेश सांसद श्रीप्रसाद मैनालीले नाटकले जीवन्त नेपाली समाजको घटनालाई समेटेको बताउँदै अब नाटककै माध्यबाट समाज परिवर्तन गर्नका लागि थिएटरलाई सुझाव दिए । भवनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मैनालीले थिएटरको विकासका लागि नगरपालिकादेखि प्रदेशसम्मबाट बजेट विनियोजन गर्ने बताए । साहित्यकार तेराखले नाटकको कथामा दुःखान्तको पाटो मात्र भएकाले सुखान्तमा लैजानका लागि ती विधुवा महिलाको यही समाजमा बिहे गर्नुपर्ने सुझाव दिए ।
    मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङले थिएटर मेचीनगरको सम्पत्ति भएकाले यसको यसको संरक्षण गरेर एउटा भवन निर्माणका लागि आफु कटिबद्ध भएर लाग्ने बताए । साहित्यकार पर्शुराम तिम्सिनाले कथा अत्यन्तै मार्मिक र यथार्थपरक रहेको बताए । झोरहाट नाटक घरका अध्यक्ष नाटककार भरत गुरागाईले रङ्गमञ्चमा राजनीतिकर्मीले पनि साथ दिन थालेको बताउँदै नाटक घरको संरक्षण गर्नु सबैको उत्तिकै जिम्मेवारी रहेको बताए ।
    महिला नेतृ राधा कार्कीले धेरै दुःख गरेर यो अवस्थासम्म आएको थिएटरले हाम्रो समाजका लागि ठूलो योगदान दिएको बताइन् ।
    झापा रिडर्सका अध्यक्ष सागर सिवाकोटीले थिएटरको विकासका लागि मायासँगै सहयोगको खाँचो रहेको बताए । उनले समाज परिवर्तनका लागि कविता नेपाल आफै सङ्घर्ष गरेर यो स्थानमा आएको बताउँदै उनको यो समाजका लागि ठूलो त्याग र समर्पण रहेको बताए ।
    रङ्गकर्मी सोमनाथ खनालले नाटकको समिक्षा गर्दै कथावस्तु अनुसार कलाकारले जीवन्त अभिनय गरेको बताउँदै कलाकारले समस्या देखाउने हो तर समाधान नगर्ने बताए ।
    थिएटरकी अध्यक्ष कविता नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार, सञ्चारकर्मी, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्थाका प्रमुख तथा विभिन्न व्यक्तिको बाक्लो सहभागिता रहेको थियो । उपाध्यक्ष लिला विष्टले स्वागत गरेको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव विमला चिमरियाले गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…