देबु बानियाँ
धुलावारी । छोरा डेढ वर्षको हुँदा श्रीमानको निधन भयो । अहिले छोरा १९ वर्षको भयो । श्रीमान हुँदा पनि रक्सि खाएर दिन रात दुःख दिने गरेका थिए । दुःखै गरेर परिवारको पालन पोषण गर्दै आएको थिएँ । श्रीमानको निधनपछि झन पीडा थपियो । एकातिर श्रीमानको निधन अर्कोतिर छोराछोरीको हुर्काउनु पर्ने बाध्यता । यहि बजारमा बुबाको माछा पसल थियो । त्यहि माछा पसलमा म बुबालाई काम गर्न सघाउँथे । पछि बुबाको पनि निधन भयो । बुबाको त्यहि बुबाले सञ्चालन गरेको माछा पसल मैले चलाउन थालेँ । १७ वर्ष भएछ यो माछा बेच्न थालेको । यसैले परिवार पनि पालेको छु र आफु पनि बाँचेको छु ।
मेचीनगर १० धुलावारीकी पचाईदेवी मण्डलले आफ्नो विगतलाई यसरी सम्झिन् ।
धुलावारी बजारमा माछा बेच्दै आएकी पचाईदेवी यो समाजका लागि यस्तो पात्र हुन् । जसले थुप्रै पीडा, अनि अनगिन्ति संघर्ष गरेकी छिन् । सोमवार धुलावारी हटियाका दिन उनको माछा पसलमा पुग्दा माछा बेच्न बेस्त थिइन् उनी । थोरै बचेको समय निकालेर व्यस्तताकाबिच उनीसँग कुराकानी गर्ने अवसर मिलाइदिए युवा व्यवसायी नारायण खनालले । खनालले उनको संघर्षलाई नजिकबाट नियालेका रहेछन् ।
उनको दैनिकी बिहान ५ बजेबाट सुरु भएर साँझ ७ बजे सकिन्छ ।
बिहानै उठ्यो, घरको काम सक्यो अनि माछा पसल गयो ।
विगत १७ वर्षदेखि धुलावारी बजारमा माछा बेच्दै आएकी पचाईदेवी यो बजारका लागि पर्याय बनेकी छिन् । भारतको सिलगढीबाट माछा ल्याएर बेच्ने गरेकी उनले दैनिक २० देखि ३० केजी माछा विक्री गर्छिन् ।
माछाको व्यवसाय गरेर नै उनले धुलावारी बजारमा दुई तले पक्कि घर समेत बनाएकी छिन् ।
‘धेरै दुःख गरेको छु’ माछा काटेदै गरेकी पचाइदेवीले भनिन्–‘श्रीमान्ले पनि छोडेर गए । छोराछोरी पनि सानै थिए । उनीहरुलाई पढाउनु पनि पर्ने । यहि माछा बेचेर यहाँसम्म आएको हो ।’
दैनिक ५ सय देखि एक हजारसम्म आम्दानी गर्ने गरेकी उनले कमाएको पैसालाई सहकारीमा राख्ने गरेकी छिन् ।
मेचीनगर बचत तथा ऋण सहकारी संस्थामा उनले पैसा जम्मा गर्छिन र आवश्यक परेको बेलामा सोही सहकारीबाट झिक्ने गरेकी छिन् ।
उनले आफ्नो दुई तले घर बनाउँदा कति खर्च भयो भन्ने पनि कुनै हेक्का छैन । मात्र यति हो घर बनाएकी छिन् ।