हरि कोइराला
उर्लाबारी । स्वदेश मै लगनशील भएर लघु उद्यम गर्ने हो भने पैसा कमाउन न बिदेश जानु पर्छ न जागिर नै खानुपर्छ । हातमा सीप भए स्वदेश मै नाम र दाम कमाउन सकिने गतिलो उदाहरण बन्नु भएको छ , मोरङ उर्लाबारी ७ की निर्मला चौहान ।
दुई दशक अघि ढाका कपडा बुन्ने तालिम लिनु भएकी निर्मलाले अहिले उर्लाबारीकी सफल उद्यमीका रुपमा परिचय बनाउनु भएको छ । डेढ वर्ष अघि घरेलु तथा साना उद्योग कार्यालय मोरङमा निरु घरेलु ढाका उद्योग दर्ता गरेर ब्यावसायिक उत्पादन सुरु गर्नु भएकी चौहान हाल २२ वटा तानबाट कपडा उत्पादन गरिरहनु भएको छ । चौहानले ब्यावसायिक उत्पादन सुरु गरेपछि २० जना महिला र एक जना पुरुषले रोजगार पाएका छन् । निर्मला भन्नुहुन्छ –अहिले महिलाहरूले तान र धागो घर–घर लगेर कपडा बुन्नुहुन्छ । दैनिक सरदर १ सय मिटर कपडा उत्पादन गर्ने लक्ष्य हो , तर ढाका बुन्ने महिलाहरू फर्सदको समयमा अतिरिक्त आयका लागि काम गर्नुहुन्छ । त्यसैले माग अनुसार उत्पादन गर्न नसकिएको उहाँको भनाई छ ।
हुन त नेपाली बजारमा तेह्रथुमे ढाका कपडाको एकछत्र राज छ । जहाँ जुन भूगोलमा बुने पनि त्यस उत्पादनको नाम तेह्रथुमे ढाका नभने बिक्री नहुने समस्या अझै पनि विद्यमान छ । यद्यपि ढाका कपडा, जहाँ जुन भूगोलमा बुने पनि गुणस्तरीय भए बजारको अभाव नहुने निर्मला बताउनु हुन्छ । २०७३को मङ्सिरमा उद्योग दर्ता गर्दा चौहानले पाँच वटा तानबाट ढाका उत्पादन सुरु गर्नु भएको थियो । तर गत वर्ष घरेलु तथा साना उद्योग कार्यालय मोरङले निर्मलाको उद्योगलाई ८० हजार अनुदान दिएपछि उहाँले एकै पटक १७ वटा तान थप्नुभयो । भन्नुहुन्छ–‘अहिले उद्योगमा १४ लाख लगानी भइसक्यो, सुरुमा चार लाख लगानी गरेकी थिएँ ।’ निर्मलाले आफ्नै उत्पादनबाट तयार भएका कपडा र सिलाईका सामग्रीको बिक्री कक्ष समेत सञ्चालनमा ल्याउनु भएको छ । बिक्री कक्षमा सर्ट,साडी,चौबन्दी चोलो,रुमाल,कुर्ता सलबार,झोला,गलबन्दी र थैली राखिएको छ ।चौहानले अहिले खर्च कटाएर मासिक ५० हजार आम्दानी भइरहेको बताउनु भयो ।
झापा हस्तकला प्रशिक्षण केन्द्रबाट सीप सिक्नु भएकी निर्मला अहिले ढाका सिकाउने गुरुआमा भइसक्नु भएको छ । भन्नुहुन्छ– ढाका कपडा बुन्ने तालिम निशुल्क दिइरहेको छु । दक्ष जनशक्ति उत्पादन गरेर उत्पादनमा लगाउने योजना हो , उहाँले भन्नुभयो ।
उद्योग दर्ता गरेताका उहाँलाई धेरैले निरुत्साहित गरे ,कसैले आधुनिक जमानामा ढाकाका कपडा कसले किन्छ भनेर खिल्ली उडाए ।आफू सँग भएको सीपसँग उहाँ पुरै विश्वस्त हुनुहुन्थ्यो । नेपाली धागो उद्योगले उत्पादन गरेको सुती धागो प्रयोग गरेर उहाँले ढाकाको तान लगाउनु हुन्छ । र नेपाली उत्पादन कै धागोले बुन्नु हुन्छ ।
हाल उहाँको उत्पादनको माग उच्च छ ।निर्मला भन्नुहुन्छ– खासगरी साडी र सटका कपडा युरोप,अमेरिका,अष्ट्रेलिया सम्म जान थालेका छन् । साडीको माग थेग्न सकेको छैन् । उहाँ भन्नुहुन्छ–काठमाडौंका धेरै ब्यापारीहरू निरु घरेलु ढाका उद्योगबाट कपडा खरिद गरी लैजानु हुन्छ । ढाका कपडा टिकाउ मात्र हैन ,बिकाउ पनि हुने गरेकोले देशै भरबाट माग आउँछ । तर, जनशक्तिको अभावमा उत्पादन गर्न सकेको छैन ।