• चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका छन् । 

    प्रेस सेन्टर चितवनले बुधवार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताए  ।
     
    दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उनले प्रष्ट्याए । प्रधानमन्त्री केपी शर्मा ओली र आफू बुधवार कार्यक्रममा व्यस्त हुने भन्दै उनले बिहिवार दुई अध्यक्षका बीचमा बैठकपछि पार्टी एकता घोषणाको मिति तय हुने बताए ।

    उनले भने, “वैशाख ९ गते अल्ली भ्याइँदैन कि, कोसिस गर्दैछौं ।” त्यसो हुँदै गर्दा पनि वैशाख महिनाभर भने नलाग्ने उनको भनाइ छ । यकिन मिति दुई अध्यक्षले टुंग्याउने भए पनि पार्टी एकताका लागि धेरै दिन कुर्न नपर्ने उनले बताए ।

    दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोबाट गम्भीर ढंगले छलफल शुरु भएको भन्दै उनले कतिपय विषयमा कार्यदलले टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएको बताए ।

    उनले भने, “कतिपय भाषा परिमार्जन गर्नुपर्ने, कतिपय विषयमा कार्यदलले रिपोर्ट बुझाउँदैमा यो विषयमाथि टुंग्याउने भन्दै आफ्नो तहबाट अध्यक्षको तहमा ल्याएका छन् । त्यस्ता विषय छलफल गरेर टुंग्याउने भनिएको छ ।”

    गृहमन्त्री रामबहादुर थापाको नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा विधानमा जनयुद्धलाई कसरी प्रस्तुत गर्ने, जनआन्दोलनलाई के भन्ने, निर्वाचन चिन्हलाई कसरी मिलाउने, एकताको मोडालिटीमा केन्द्रीय समिति, प्रादेशिक समिति, जिल्ला समिति कसरी के आधारमा मिलाउने कुरामाथि नै छलफल होस् भनेर लिखित दिएको उनले बताए । यी विषयमा छलफल भइरहेको दाहालको भनाइ थियो ।

    अर्को एक प्रश्नमा दाहालले भने, “शक्ति बाँडफाँडका विषयमा कुरा नमिलेको होइन । तपाईहरु भ्रममा नपर्नुहोस् ।” दुई पार्टीको बराबरी सिद्धान्तमा प्रतिनिधित्व गराउने भन्दै उनले भने, “दुई अध्यक्षले नाम लिएर जाने, राम्रा मान्छेको राम्रो समिति बनाउने ।

    त्यसो गर्दा सकेसम्म सम्मानजनक र बराबरीको सिद्धान्तमा गर्ने भन्ने कुरामा कुनै विमति छैन ।” सञ्चार माध्यममा अनावश्यक हल्ला मात्रै आएको उनले बताए ।

    प्रधानमन्त्रीका कार्यशैलीका विषयमा छलफल भएको स्वीकार्दै उनले अधिकार प्रधानमन्त्रीलाई भए पनि सचिव सरुवालगायतका विषयमा विधि प्रक्रियामा समन्वय नभएको हो कि भनेर आफूले छलफल गरेको बताए ।

    सोही अवसरमा गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताए ।

    गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको उनले बताए  । यातायात सँगसँगै अन्य क्षेत्रमा सिण्डिकेट देखिएमा त्यसलाई रोक्ने उनले बताए । यातायात क्षेत्र कसैले ठप्प पार्न नसक्ने उनले बताए ।

    फरक प्रशंगमा उनले शतप्रतिशत साक्षरता अभियान सफल बनाउन आफूहरु पनि लागिपरेको बताए । विद्यालय बाहिर कोही बालबालिका नहोस् भन्ने सरकारको यो अभियान रहेको उनले बताए ।रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…