इलाम : फुटबल खेलका लागि प्रदेश १ उर्वर भूमि मानिन्छ। मुलुकभरमै हुने फुटबल प्रतियोगिताको दुई तिहाई हिस्सा प्रदेश १ ले ओगटेको छ। तर यस प्रदेशका अधिकांश जिल्लामा पक्की प्याराफिटसहितका स्तरीय मैदान छैनन्।
पक्की प्याराफिटको अभावमा प्रतियोगिता आयोजकहरूले लाखाैँ रुपैयाँ खर्च गरेर बाँसको अस्थायी प्याराफिट बनाउनुपर्ने बाध्यता छ। बिहीबार आज बाट इलाममा माइभ्याली गोल्ड कपको चौथो संस्करण संचालन हुँदै छ।
प्रतियोगिता संचालनका लागि दुई हजार बढी बाँस प्रयोग गरेर प्याराफिट बनाइएको माइभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले बताए। पूर्वका अधिकांश खेल मैदानमा पक्की प्याराफिट नभएपछि बाँसको प्याराफिट निर्माण गर्नु आयोजकको बाध्यता रहेको चेम्जोङको भनाइ छ।
अघिल्ला तीनवटा संस्करणमा समेत आयोजकले बासँकै प्याराफिट बनाएर प्रतियोगिता सफल बनायो। ‘हरेक वर्ष प्याराफिटकै लागि मात्रै पाँच लाख रुपैयाँ बढी खर्च हुन्छ’, अध्यक्ष चेम्जोङले भने, ‘तीनवटा संस्करण संचालनका लागि बाँसको प्यारफिटमा गरिएको खर्चले त पक्की प्याराफिट नै बन्थ्यो होला तर आफ्नै खेल मैदान छैन।
नेपाली सेनाको कवाज खेल्ने टुँडिखेलमा बाँसको प्याराफिट बनाएर खेल संचालन गर्नुपर्छ।’ यस संस्करणमा प्याराफिट बनाउनका लागि मात्रै एक लाख ९५ हजार रुपैयाँमा ठेक्का दिइएको थियो। प्रतियोगितामा आउने दर्शकको सहजताका लागि मैदानको तीनैतिर प्यारापिट बनाइको क्लबले जनाएको छ।
चौथो संस्करणमा १० हजार दर्शकलाई लक्ष्य गरेर प्याराफिट बनाइएको क्लबका सचिव दिनेश काफ्लेले जानकारी दिए। इलाममा मात्र होइन, पूर्वका अधिकांश जिल्लामा आयोजना हुने गोल्ड कप प्रतियोगितामा बाँसको प्याराफिट प्रयोग गरिन्छ।
११ जना खेलाडी खेल्न मिल्ने मैदान नभए पनि पाँचथर जिल्लामा राष्ट्रियस्तरका खेलाडीहरूलाई सहभागी गराई यस वर्ष दुईवटा फुटबल प्रतियोगिता संचालन भए। बैशाख २ मा पाँचथर गोल्ड कपको दोस्रो संस्करणको प्रतियोगिता सम्पन्न भयो।
प्रतियोगिता सफल बनाउनका लागि एक लाख ८० हजार रुपैयाँको लागतमा चार हजार जना बस्न मिल्ने गरी अस्थायी बाँसको प्याराफिट बनाइएको आयोजक समितिका उपाध्यक्ष निशान शिवाकोटीले बताए।
उनले भने, ‘नयाँ प्याराफिट बनाउन त तीन लाख बढी खर्च हुन्थ्यो तर हामीले फाल्गुनन्द गोल्ड कप आयोजक फिदिम स्पोर्टिङ क्लबसँग पुरानो बाँस खरिद गरेकाले एक लाख ८० हजार रुपैयाँ हाराहारी मात्र खर्च भयो।’ यसअघि पुस १६ गते सम्पन्न फाल्गुनन्द गोल्ड कपको नवौँ संस्करण फिदिममा नै भयो।
यी दुवै प्रतियोगितामा दर्शकलाई बस्नका लागि बाँसकै अस्थायी प्याराफिट बनाइएको थियाे। झापामा समेत बाँसकै प्याराफिटको भर २०७४ फागुन १९ गते सुरु भई २८ गते सम्पन्न सबैभन्दा बढी राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल जिल्ला झापामा तेस्रो संस्करणको झापा गोल्ड कप फुटबल प्रतियोगिता भयो।
घरेलु टिम झापा- ११ लाई दोस्रो पटक पराजित गर्दै नेपाल आर्मीले यस सिजनको सातौँ उपाधिसहित १२ लाख ५१ हजार रुपैयाँ हात पार्यो। त्यसअघि देशभरमै आयोजना भएका दुई दर्जन बढी गोल्ड कप प्रतियोगिताहरूमध्ये सबैभन्दा बढी पुरस्कार राशि भएको उक्त प्रतियोगितामा दर्शकहरूलाई बस्नका लागि करिब सात लाख रुपैयाँको लागतमा बाँसको अस्थायी प्याराफिट बनाइयो।
झापाको डोमलाल राजवंशी रंगशाला राष्ट्रियस्तरीय मैदान भए पनि प्याराफिट भने बाँसकै बनाउनुपर्यो। झापामा दर्शकहरूको फुटबल क्रेज देखेर डोमलाल राजवंशी रंगशालामा सात हजार दर्शक बस्न मिल्ने गरी बाँसको प्याराफिट बनाएर प्रतियोगिता संचालन गरिएको झापा गोल्ड कप आयोजक समितिका अध्यक्ष जलकुमार गुरुङ बताउँछन्।
उनी भन्छन्, ‘३ बजे प्रतियोगिता सुरु हुन्छ। दर्शक १२ बजेदेखि नै गेटमा टिकट बोकेर बसेका हुन्छन्। यस संस्करणमा दर्शकहरू नअटेर फाइनलमा तीन हजार कुर्सीसमेत थप गर्नुपर्यो।
प्रायोजकहरूले पनि सवै सुविधा सम्पन्न स्थानमा प्रतियोगिता आयोजना खोज्नुका साथै मेची रंगशालामा दुई हजार पनि दर्शक अटाउन मुस्किल भएकाले प्रतियोगिता संचालनको विकल्पको रूपमा डोमलाल प्रयोग गर्नुपरेको गुरुङले बताए। वरिष्ठ फुटबल प्रशिक्षक एवम झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले बाँसको प्याराफिटले नै पूर्वको फुटबल धानेको स्वीर्काछन्।
उनी भन्छन्, ‘अहिलेको नेपालमा आयोजना हुने गोल्ड कपमा दर्शकको सहजताका लागि नै बाँसको प्याराफिट बनाइएको हो। कहिलेकाहीँ प्याराफिटले नधानेर दुर्घटना निम्तिएका उदाहरण प्रशस्त छन्। यसलाई मध्यनजर गर्दै सरकारले पक्की प्याराफिट बनाउन लगानी गर्नुपर्छ।’ झापामा पक्की प्याराफिटसहितको खेलैदान नभएको भने होइन।
मेची रंगशालामा पक्की प्याराफिट भए पनि खेलकुद मन्त्रालयअन्तर्गतका आयोजनाहरू राष्ट्रपति रनिङ सिल्डलगायतका प्रतियोगिताहरू मात्र आयोजना हुन्छन्। आयोजकहरूले आफ्नो क्षेत्रको प्रवर्द्धनका लागि आफ्नो पायक पर्ने स्थानमा गोल्ड कप आयोजना गर्ने गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा बताउँछन्।
नेपाल सरकारले गोल्ड कप प्रतियोगिताको लागि भनेर बजेट नछुट्याउँदा मेची रंगशालामा १४ वर्षदेखि पूर्वको प्रतिष्ठित त्रिभुवन गोल्ड कप प्रतियोगिता संचालन हुन नसकेको थापाले बताए। गेट मनी र प्रायोजककै भर पूर्वमा हुने अधिकांश प्रतियोगिताहरू सम्पन्न गर्नका लागि दर्शकबाट संकलन गरिएको गेट मनी र प्रायोजकहरूको सहयोग नै प्रमुख स्रोत हुने गरेको छ।
गत वर्ष गेट मनीबाट २४ लाख रुपैयाँको हाराहारीमा संकलन भएको र माइभ्याली गोल्ड कपको चौथो संस्करणमा ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको आयोजक समितिका अध्यक्ष धीरेन चेम्जोङले बताए। पूर्वमा हुने प्रतियोगितालाई सघाउन प्रायोजकका रूपमा औद्योगिक प्रतिष्ठानहरू पनि आकर्षित हुने गरेका छन्।
धरानको बूढासुब्बा, इलामको माइभ्यालीलगायत अन्य कतिपय प्रतियोगितामा गोर्खा ब्रुअरीले प्रायोजन गर्दै आएको छ। विराटनगरकै उत्पादन रमपम चाउचाउ झापा गोल्ड कप, दुहबी गोल्ड कप, उदयपुर गोल्ड कपलगायतका धेरै प्रतियोगितासँग जोडिएको छ। रमपम उत्पादक एसियन थाइफुड्सले झापा ११ फुटबल क्लबलाई पनि तीन वर्षका लागि प्रायोजन गरेको छ।
टिमका लागि चाहिने सबै सहयोग यस अवधिमा कम्पनीले गर्नेछ। औद्योगिक प्रतिष्ठानका अतिरिक्त खेलप्रेमी दर्शकहरूले पनि प्रतियोगिता सम्पन्न गराउन मुख्य भूमिका खेलेको जिल्ला फुटबल संघका पूर्व अध्यक्ष निरोज खड्गी बताउँछन्।
बूढासुब्बा गोल्ड कपका लागि हङकङ, बेलायतलगायत देशमा रहेका धरानवासीले सहयोग जुटाएर पठाउँछन् भने इलामको माइभ्याली गोल्ड कपका लागि मलेसिया, बेलायतलगायत मुलुकमा रहेका इलामेलीले सहयोग अभियान नै चलाउने गरेका छन्।