काठमाडौँ। नेकपा (माओवादी केन्द) केन्द्रीय कार्यालयको आजको विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए। बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिएका थिए।
बैठकमा सैद्धान्तिक, राजनैतिक, सांगठनीक विषयमा समझदारी कायम गर्ने कुरा सकारात्मक ढंगले अघि बढिरहेको अध्यक्षले बैठकमा जानकारी गराएका थिए। यसमा अझै थप छलफल जारी रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो।
अहिलेको राष्ट्रको आवश्यकता, दुबै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको पार्टी एकता सम्पन्न गर्ने कुरा सुनिश्चित भएको बैठकको निश्कर्ष छ। समानता, सम्मानजनक र न्यायोचित आधारमा पार्टी एकता सम्भव हुने अध्यक्षले बैठकमा बताएका थिए।
बैठकमा सहभागी नेताहरुले पार्टी एकता सम्मानजनक रुपमा हुनुपर्ने अध्यक्षलाई सुझाव दिएका थिए। पार्टी एकता प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको बैठकको ठहर छ।
बैठकपछि पत्रकारसँग कुरा गर्दैै पार्टी प्रवक्ता पम्फा भुसालले एकताका लागि समय लिइने बताइन्। दुई पार्टी मिलाएर एकता भई नयाँ पार्टी बन्ने विषयमा हतारिन नहुने उल्लेख गर्दै उनले भनिन्, “यही मितिमा हुन्छ भनेर तिथि तोक्न सकिन्न।”
प्रवक्ता भुसालले पार्टी एकता संयोजन समितिले दिएको प्रतिवेदनबारे दुई अध्यक्षबीच भएका छलफलका विषयमा अध्यक्षले बैठकलाई जानकारी दिएको बताइन्। राजनीतिक र सांगठनिक विषयमा छलफल सकारात्मक रुपमा अगाडि बढेको बताउँदै उनले भनिन्, “दुवै पार्टीका नेता, कार्यकर्ता र जनताको भावना र राष्ट्रिय आवश्यकताअनुसार पार्टी एकता सुनिश्चित गर्नेतर्फ प्रक्रिया अगाडि बढेको छ।”