तेजन खड्का
उर्लाबारी वैशाख १० । सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला त्यसमा सहयोग पुर्याउदैं उर्लाबारी ९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीको पठन पाठनमा लाग्ने सम्पूर्ण खर्च आफुले ब्योहोर्नु हुने भएको छ । स्थानीय प्रभात निमाविमा अध्ययनरत कक्षा १ देखि ८ कक्षा सम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रबृत्ति दिदैं पठन पाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रेष्ठले लिनुभएको हो । आज विद्यालयमा भएको अभिभावक शिक्षकको भेलामा श्रेष्ठले विद्यार्थीको पठनपाठनमा लाग्ने लत्ताकपडा,ब्याग स्टेशनरी लगायत सम्पूर्ण खर्च ब्योहोर्ने बताउनुभयो । पठन पाठनमा मन भएका तर विपन्न परिवारका विद्यार्थीहरुलाई आफुले सहयोग गरेको श्रेष्ठले बताउनुभयो ।
हाम्रो पालामा पढ्ने बेलामा कैले कापि किन्ने पैसा हुँदैन थियो त कैले कलम, श्रेष्ठले भन्नुभयो, पढ्ने रहर हुँदा पनि आर्थिक अभाव हुँदा बहुँत समस्या थियो । आज त्यहि समस्या सम्झेर वाल्यकालमा भोग्नु परेको समस्या महशुष गरेर छात्रबृत्ति उपलब्ध गराएको श्रेष्ठले बताउनुभयो ।
आफुहरुले निम्न स्तरको परिवारमा रहेका विद्यार्थीहरुको नाम दिएको र श्रेष्ठले उनीहरुको पठन पाठनमा छात्रबृत्ति उपलब्ध गराएर सहयोग गरेको विद्यालयका प्रअ मोहन चापागाईले बताउनुभयो । चापागाईका अनुसार यसरी छात्रबृत्ति पाउन विद्यार्थीमा गोपाल थापा,स्नेहा श्रेष्ठ,भुमिका खतिवडा,ओसिन मारापाँचे,अंकित श्रेष्ठ,सुमित लिम्बू,पूर्णमाया खड्का,सजना लिम्बू,सुविना लिम्बू र नैनकला अधिकारी छन् ।
उनीहरुको बर्षभरिमा अध्ययनमा कति खर्च लाग्छ, त्यसको खाका श्रेष्ठलाई बुझाउने र श्रेष्ठले सोहि अनुरुप सहयोग गर्ने विद्यालयका अध्यक्ष रुद्र सुब्बाले बताउनुभयो ।
श्रेष्ठको उक्त कार्यको प्रशंषा गर्दै अध्यक्ष सुब्बाले भन्नुभयो,अब आर्थिक अभावले विद्यालय छोड्ने विद्यार्थीको समस्या हट्यो । उहाँलाई धन्यवाद दिन चाहान्छौ ।
चापागाईका अनुसार श्रेष्ठले यसअघि विद्यालयमा मञ्च बनाइनुदिनुका साथै विद्यालयमा पर्खाल निर्माण र रंगरोगनमा सहयोग गर्नुभएको थियो ।