• काठमाडौँ, वैशाख १२ गते । नेपाली काँग्रेसका युवा पुस्ताका प्रभावशाली नेताले नयाँ सङ्घीय संरचनाअनुसार पार्टीको विधान संशोधन गर्न महासमिति बैठक र त्यसलगत्तै शीघ्र महाधिवेशन बोलाउन माग गर्नुभएको छ । 
    काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा केन्द्रीय सदस्य गगन थापा लगायतका नेताले कुल ५० पृष्ठ लामो ‘निर्वाचन समीक्षा र आगामी कार्यदिशाको धारणा’सम्बन्धी दस्तावेज प्रस्तुत गर्नुभएको हो । 
    थापालगायत नेता चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र जीवन परियारले संयुक्त रूपमा प्रस्तुत दस्तावेजमा तत्काल महासमिति बोलाउन र त्यसपछि महाधिवेशन गरेर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सभापति शेरबहादुर देउवासँग आग्रहसमेत गर्नुभएको छ । 
    यसैगरी उदार लोकतन्त्रको संरक्षणको नेतृत्व कांग्रेसले गर्नुपर्ने तथा सुझबुझका साथ द्वन्द्व न्यूनीकरण र संविधानको संरक्षण गर्न सरकारसँग मिलेर काम गर्न पनि दस्तावेजमार्फत नेतृत्वलाई सुझाव दिइएको छ । सरकारलाई जिम्मेवारीबाट भाग्न नदिन काँग्रेसको छायाँ सरकार बनाउन पनि दस्तावेजमा सुझाव दिइएको छ । 
    विधिसम्मत रूपमा पार्टी सञ्चालन गर्न, जिल्ला सभापतिको सम्मेलन बोलाउन, सबै स्थानीय तह र सबै प्रदेशमा पार्टीको पुनर्जागरण अभियान सञ्चालन गर्न पनि नेताहरूले माग गर्नुभएको छ । 
    २०४८ सालयता विचार र सङ्गठनमा गतिशील ढोका बन्द गरिएकाले पार्टी जमेको पोखरीजस्तो भएको चर्चा गर्दै दस्तावेजमा भनिएको छ, “अहिलेकै नेतृत्वको निरन्तरता खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु हो । ” 
    बीपी कोइरालादेखि वर्तमान सभापति शेरबहादुर देउवासम्म काँग्रेसका नेतृत्वबाट भएका सफल कार्य, सफल नेतृत्व, पार्टीका नीति तथा कार्यक्रम, काँग्रेस र काँग्रेस नेतृत्वको कमजोरीदेखि विपक्षी दलको समेत मूल्याङ्कन दस्तावेजमा गरिएको छ । राजनीतिक रूपमा काँग्रेस विजयी हुँदै आएको तर २०१५ सालपछिका निर्वाचनमा काँग्रेस क्रमशः कमजोर हुँदै आएको चर्चा पनि उहाँहरूले गर्नुभएको छ । 
    “२०४८ सालपछिको २६ वर्षको अवधिमा जनाधार बढेन बरु निन्तर घट्दै गयो । हाम्रा परम्परागत गढ भत्किए तर नयाँ मतदाता आकर्षित भएनन् । जनताको मन र मत दुवै जित्ने, परिणाम दिनसक्ने मौका काँग्रेसले पाएकै हो तर किन जनता काँग्रेससँग निराश र आक्रोशित भए ?’’, दस्तावेजमा प्रश्न गरिएको छ ।  
    राजनीतिकरणका कारण अड्डा, अदालत, सार्वजनिक क्षेत्र, प्रहरी, विद्यालयदेखि विश्वविद्यालयसम्ममा अप्रभावकारी र कमजोर बन्न पुगेको विश्लेषणसमेत दस्तावेजमा छ । उहाँहरूले प्रश्न उठाउनुभएको छ, “जनताबाट प्राप्त मतादेशलाई आमनागरिकको हितमा प्रयोग गर्नेभन्दा पनि फगत पार्टीका केही महानुभावहरूको सत्तारोहणको लालसालाई पूरा गर्नमा प्रयोग गर्ने काँग्रेसको परिचय बन्न पुग्यो । ”
    बीपी कोइराला आफ्नो उद्देश्यमा प्रस्ट हुनुहुन्थ्यो– सबै नेपालीलाई सुखी र खुसी बनाउने । बीपीको समाजवादलाई हेर्ने र व्याख्या गर्ने पछिल्ला कार्य सही नभएको र काँग्रेसले गरेका राम्रा कामलाई पनि जनतासमक्ष पार्टी नेतृत्वले लैजान नसकेको तर्क दस्तावेजमा प्रस्तुत गरिएको छ । पार्टी सभापति देउवाले हालैका निर्वाचनमा दुई कम्युनिस्ट पार्टी मिलेर काँग्रेसले हारेको भनी राख्नु भएको भनाइप्रति पनि असहमति प्रकट गरिएको छ । 
    सत्तारूढ दल एमालेमा उग्र दक्षिणपन्थी प्रवृत्ति देखिएको र पार्टीलाई नै व्यापारिक कम्पनीको रूपमा सञ्चालन गरिरहेको आरोप पनि लगाइएको छ । त्यसैगरी माओवादीले २०५२ सालमा आफैँले प्रतिगामी भनेको संसदीय व्यवस्थामार्फत राष्ट्र बनाउने कुराको नेतृत्व गर्दैछन् भन्ने टिप्पणी पनि दस्तावेजमा छ । 
    काँग्रेस मधेसका मुद्दामा पटकपटक चुकेको चर्चा गर्दै युवा नेताहरूको धारणापत्रमा संविधान निर्माणदेखि निर्वाचनसम्मका घटनाक्रमको लेखाजोखा गरिएको छ । निर्वाचनका क्रममा चालिएका कतिपय कदमले पार्टीले गुमाउँदै गएको साखलाई झन् धराशयी बनाएको आरोपसमेत लगाइएको छ । 
    सभापतिको एकल निर्णयबाट स्थानीय तह निर्वाचनमा माओवादीसँगको सहकार्यमा धेरै ठाउँमा राम्रै मत आए पनि पछिल्ला निर्वाचनमा त्यो सहकार्यलाई जोगाउन नसक्दा काँग्रेसको अवस्था केन्द्रदेखि प्रदेशस्तरसम्म प्रतिपक्षमा रहनु परेको उल्लेख छ । 
    एमाले–माओवादी गठबन्धन भए पनि पार्टीको सङ्गठनको बेथिति र अस्तव्यस्तताका कारण निर्वाचन परिचालनले कम्तीमा २० वटा निर्वाचन क्षेत्रमा हार बेहोर्नु परेको भन्दै नेतृत्वको आलोचना दस्तावेजमा गरिएको छ । 
    कार्यसमितिको बैठकमा मङ्गलबार केन्द्रीय सदस्यहरू प्रदीप गिरी, बालकृष्ण खाँड, दीपक गिरी, किशोरसिंह राठौर, गगन थापा र सीता गुरुङले आआफ्ना धारणा राख्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौड्यालले जानकारी दिनुभयो । गोरखापत्रमा समाचार छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…