• गोपाल गड्तौला

    बिर्तामोड, वैशाख । बिर्तामोड नगरपालिका ५ की २५ वर्षीया रञ्जीता साहलाई त्रासले गाँजिरहन्छ । डरलाग्दो सपनाबाट ब्युँझिएझ उनी बारम्बार झस्किन्छिन् । घरको कौसीमा जाँदा कहाली लाग्छ ।

    मृत्युको मुखबाट बाँचेर आएको पछिल्ला डेढ वर्षका हरेक दिन मात्र होइन, बिहे गरेको केही महिनापछिदेखिका समेतगरी पछिल्लो ५ वर्ष उनले आँसुको घुट्कासँगै बिताएकी छन् । भन्छिन्, ‘मेरो जत्तिको कठोर र अपराधी लोग्ने अरु कसैको नहोस् ।’

    छोरो राजवीर सुतिरहेको त्यो रात पनि धर्मेन्द्रले उनलाई माइतबाट बाह्र लाख रुपैयाँ मागेर ल्याउन दबाब दिँदै पिटे । रक्सीले मातेर आएको बलियो युवक श्रीमतीलाई पिट्दा पिट्दै थाक्यो र केहीबेर निदायो । केहीबेरपछि ब्यँुझिएर तीन महिनाकी गर्भवती श्रीमतीलाई फेरि झम्टियो, पिट्यो । रक्ताम्य हुनेगरी भित्तामा अनुहार ठोक्काइरह्यो । रञ्जीताको एउटा दाँत झरिसकेको थियो ।

    पल्लो कोठामा युरोकप फुटबल हेरिरहेका छिमेकी डेरावाललाई अर्काे कोठामा के भइरहेको छ, पत्तै भएन । ‘उसले मलाई थुक्दै, अझै पिट्दै दुवै हातले उठायो’ बोन सिमेन्टले हड्डीको आकार दिइएको टाउको थाम्दै उनले भनिन्, ‘उसले मलाई तेस्रो तल्लाको कौसीबाट भुइँमा फाँक्यो, ब्युझिँदा म टिचिङ हस्पिटलको बेडमा थिएँ ।’

    २०७३ असार २६ गते रातको २:३० बजे गोकर्णेश्वर नगरपालिका ७, काठमाडौँमा घटना भएको हो । जमिनमा केही गह्रौँ वस्तु झरेको आवाजले भुइँतल्ला र वल्लोपल्लो घरका मान्छेको निद्रा भङ्ग गरायो । खल्याङ्बल्याङ मान्छे बोलेको आवाज युरोकप हेरिरहेका डेरावाल अभिषेक घोरासैनी र उनका साथीहरुको कानसम्म पनि पुग्यो । झट्पट् ओर्लिए ।

    उनीहरुसँगै धर्मेन्द्र पनि ओर्लिए । उनले श्रीमती चिप्लिएर लडी भनेर भिडलाई भन्यो । कसैले खबर गरेपछि प्रहरी आइसकेको थियो । हतारहतार उपचारको लागि रञ्जीतालाई काठमाडौँ मेडिकल कलेज जोरपाटी लगियो । टाउको फुटेर रगत बगिरहेको थियो । नाक र मुखबाट फिँज आइरहेको थियो । रगतले रञ्जीताको जीउको धेरै र उनी खसालिएको भुइँको केही भाग भिजेको थियो ।

    केही घण्टा नेपाल मेडिकल कलेजमा आपत्कालीन उपचार गरेपछि बिहान ४ बजेतिर शिक्षण अस्पताल महाराजगञ्ज लगियो । सघन उपचार कक्षमा भर्ना गरियो । टाउकाको एक भागको हड्डीको शल्यक्रिया गरियो । तीन दिनपछि रञ्जीताको होस आयो । होस आँउदा लोग्न धर्मेन्द्र पनि साथै थिए । उसले अस्पतालको शैय्यामै प्रहरीकहाँ उजुरी गरे वा हल्ला गरे बच्चा (अढाइ वर्षको राजवीर) लाई मारिदिन्छु भनेर रञ्जीताको कानको छेउमै मुख लगेर धम्क्याँँउथ्यो ।

    अरुले देख्दा सिकिस्त श्रीमतीलाई जाउलो पनि खुवाइरहेको हुन्थ्यो । झापाको बिर्तामोडबाट रञ्जीताका बुवा नथुनीप्रसाद शाह पनि आइसकेका थिए । छोरीको हालत देखेर भक्कानिएका उनले ज्वाइँ धर्मेन्द्रलाई हप्काए । कालको मुखमा पुगेकी रञ्जीतालाई उजुरीमा गए छोरो राजवीरलाई मारिदिने धम्कीले अरु त्रास बढायो । यही डरले उनी उजुरीमा गइनन् । उजुरी नपरेकोले घटनाको प्रहरीले पनि अनुसन्धान र कारबाही अघि बढाएन ।

    उपचारपछि धर्मेन्द्रले श्रीमती रञ्जीतासँग माफी मागे । रञ्जीतालाई केही सहज होला भन्ने लाग्दै गयो । परिवारको स्विकृतिबिना फेसबुकको माध्यमबाट सम्पर्कमा आएर प्रेम विवाह गरेकोेले रञ्जीता धेरै कुरा माइतीमा सुनाउन पनि सक्दिनथिन् । उनीहरुले परिवारको अनुमतिबिना २०६९ असोज १४ गते बिहे गरेका थिए ।

    बिहेदेखिकै निहुँ दाइजो

    प्रेम विवाह गरेको केही महिना नबित्दै धर्मेन्द्रको घरमा दाइजो नल्याएको भन्दै रञ्जीतामाथि खप्की सुरु भएको थियो । ससुरा महावीर र सासू लीलादेवीले १५ लाख दाइजो नल्याए नागरिकता नबनाइदिने बताए । सासूले दाइजो ल्याउन दबाब दिँदै एकदिन आगोले हात पोलिदिएकी थिइन् ।

    त्यो दिन बच्चा च्यापेर भाग्दै झापा कमल गाउँपालिकाबाट बिहान ५ बजे माइत बिर्तामोड पुगिन् । आफन्तहरुको बीचमा आगामी दिनमा मिलेर बस्ने भन्दै रञ्जीता झापाको शिवगञ्जस्थित घरै फर्किइन् ।

    धर्मेन्द्र व्यापार गर्न भन्दै काठमाडौँ गए । रञ्जीताले दाइजो नल्याएको निहुँमा घरमा गाली खाइरहनु पर्थ्याे । जेसुकै होस् भन्दै उनी लोग्नेको साथ जान्छु भनी काठमाडौँ गइन् । पीडा गुम्स्याएर बाँच्नुपर्ने उनको विवशता थियो । मधु गुट्खाको व्यापारी लोग्ने धर्मेन्द्र राति अबेर कोठामा आँउथे र दाइजो ल्याइनस् भन्दै झर्काेफर्काे गरिरहन्थे । धर्मेन्द्र कुनैकुनै दिन खबर नगरी अन्तै बास पनि बस्ने गर्दथे ।
    छिमेकी डेराका मानिस र साथीहरुसँग ‘मेरी श्रीमती मरेको दिन खसी काटेर भोज खुवाँउछु’ भन्ने गरेको रञ्जीताले सुनेकी थिइन् । यही क्रममा २६ असार २०७३ को रात त्यो घटना भएको थियो ।

    दोस्रोपटक शल्यक्रियापछि रञ्जीता

    टाउकोमा पहिलोपटक शल्यक्रिया गरेको ठाउँमा बोन सिमेन्ट भरेर टुटेको हड्डीको आकार दिनेगरी दोस्रो शल्यक्रिया गर्नुअघि नै उनी छोरो राजवीरलाई लिएर बिर्तामोड माइती आइन् । शिवगञ्ज घरबाट केही आफन्तहरुले रञ्जीतालाई बोलाउने पनि गर्दथे । दाइजो नल्याएको भन्दै सासू, ससुराको समेत हप्कीदप्की र पिटाई खाएकी उनलाई लोग्नेको घर कालकोठरी जस्तै लाग्थ्यो, गइनन् । घटनाको ६ महिनापछि २०७३ पुस १४ गते माइतीमै उनको दोस्रो बच्चा जन्मियो ।

    दोस्रोपटक उनको टाउकाको शल्यक्रिया २०७४ पुस १९ गते शिक्षण अस्पताल महाराजगञ्जमा भयो । यसपटकको शल्यक्रियाबाट उनको टाउकाको एक भागमा बोन सिमेन्ट सेट गरियो । अहिले उनी दुई छोराहरु लिएर झापाको बिर्तामोड माइतीमा बसेकी छन् । करिबकरिब कालको मुखबाट फर्किएकी उनलाई टाउको भारी हुन्छ, दुखिरहन्छ र रिँगटा लाग्छ ।

    ‘यति सानै उमेरमा यति धेरै दुख पाएँ’, बच्चाहरुतिर हेर्दै उनले भनिन्, ‘मलाई निदाएकै ठाँउमा मरिरहेकी हुन्छु जस्तो डर लाग्छ र ऐँठन हुन्छ ।’

    न्यायको लडाइँमा ढिला

    रञ्जीताको टाउकाको दुईपटकको शल्यक्रिया र सुत्केरी स्याहारमा समेत गरी करिब पाँच लाख रुपैयाँ माइतीबाट खर्च भइसकेको छ । अहिलेको बसाइ पनि माइतीमै छ ।

    उनलाईलाई मृत्युको मुखमा पुगुञ्जेल चरम यातना दिने उनका लोग्ने धर्मेन्द्र काठमाडौँमा डेरा सरीसरी बस्दथे । रञ्जीतालाईर् न्यायको लडाइँ लड्ने इच्छा जाग्यो ।

    २०७४ मंसिर ८ मै वारिसनामा दिएर काठमाडौँ जिल्ला अदालतमा मानाचामलको मुद्दा हालिन् । र, २०७४ माघ १४ गते अंशमुद्दा दायर गरेकी छन् । धर्मेन्द्र अहिले फरार छन् । रञ्जीतालाई अस्पताल भर्ना गरेको दिन लिएको १४ हजार रुपैयाँमध्ये ५ हजार समेत छिमेकी डेराका अभिषेकले पाएका छैनन् । केही वर्ष छेउको कोठामा बसेका अभिषेकलाई दाइजोको निहुँमा धर्मेन्द्रले श्रीमतीलाई पिट्ने गरेको थाहा थियो । भन्छन्, ‘उनीहरुबीच राम्रो भएको मैले थाहा पाइन ।’

    ‘मुद्दा अघि बढेको छ, ढिलो चाँडो रञ्जीताले न्याय पाँउछिन्’, उनको मुद्दा हेरिरहेका वकिल सुनिलरञ्जन सिंह भन्छन्, ‘बारम्बार गम्भीर यातना पाएर पनि न्यायको ढोकामा आउन ढिलो गर्नुचाहिँ दु:खद कुरा हो ।’ रञ्जीता भने लोग्नेको डरले अदालतसम्म ढिलो पुगेको बताउँछिन् ।

    उजुरीमा कम जान्छन्

    रञ्जीता साह घटनाको १७ महिनापछि बल्ल अदालतको ढोका ढक्ढक्याउन पुगिन् । त्यो पनि अंश लिनको लागि । उनले वर्षौंसम्म दाइजोको निहुँमा श्रीमान र परिवारबाट यातना पाउँदा पनि दाइजोको निहुँमा हिंसा भयो भनेर प्रहरीमा गइनन् ।

    नेपाल प्रहरीमा पछिल्लो ३ वर्षमा घरेलु हिंसाका करिब ३० हजार उजुरी दर्ता भएका छन् । यस्ता उजुरी बर्सेनि बढिरहेका छन् । तर, घरेलु हिंसाका घटनाका पीडितहरु उजुरीमा अझै पनि कम आउने गरेको अधिकारकर्मीहरुको भनाइ रहेको छ ।

    परिवारको मुली पुरुषलाई मान्ने गरिएको कारण मुलीविरुद्द उजुरीमा जान कठिनाइ भइरहेको राष्ट्रिय महिला आयोगकी उजुरी व्यवस्थापक विमला खडका बताँउछिन् । ‘घरेलु हिंसाको उजुरी एकदमै कठिन छ’, खड्का भन्छिन्, ‘महिलाको आर्थिक आत्मनिर्भरता र निर्णय क्षमता नबढुन्जेल पीडित महिलाहरु हिंसा सहन बाध्य हुने अवस्था रहन्छ ।’विवेचना दैनिकमा समाचारमा छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…