• काठमाडौँ ;  कांग्रेस सभापति शेरबहादुर देउवापक्षीय नेताहरूले बुधबार केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तुत गरेको लिखित दृष्टिकोणप्रति आपत्ति जनाएका छन् । केन्द्रीय सदस्य विमलेन्द्र निधि र प्रकाशशरण महतले पौडेलले पार्टीलाई कमजोर बनाउने काम गरेको भन्दै असन्तुष्टि पोखेका हुन् ।

    निर्वाचन पराजयमा सभापति देउवाको कार्यशैली र भूमिकालाई मुख्य जिम्मेवार ठर्‍याउँदै पौडेलले फागुन १३ गतेको केन्द्रीय कार्यसमिति बैठकमा लिखित पत्र प्रस्तुत गरेका थिए ।

    पत्रमा सभापति देउवाका गलत कार्यशैलीको आलोचना गरिएको थियो । निधि र महतले पौडेलजस्तो उच्चस्तरको नेताबाट त्यस्तो पत्र आउनु लाजमर्दो भएको बताए । बैठकमा डेढ घण्टा बोलेका निधि अधिकांश समय पौडेलमाथि खनिएका थिए । ‘तपाईंजत्तिको नेताले ऐतिहासिक रेकर्ड हुनेगरी यस्तो पत्र ल्याउनु हुन्थेन, असन्तुष्ट भएका कुरा मौखिक रूपमा बोलेको भए हुन्थ्यो,’ उनको भनाइ थियो, ‘पार्टी विभाजन नै भएजस्तो शैलीमा पत्र आएको छ ।’

    उनले पार्टीमा भागबन्डा लिएपछि निर्वाचन सभापतिले हराएको हो भन्न नपाइने बताए । विशेष या अग्रिम महाधिवेशनको कुनै अर्थ नरहेको दाबी गर्दै उनले महासमिति बैठकमा विधान संशोधन गरेपछि नियमित अधिवेशनको तयारीमा जानुपर्ने धारणा राखे । उनले युवा नेताहरूबाट सार्वजनिक फोरमहरूमा दिइएका अभिव्यक्ति र बैठकमै प्रस्तुत गरेका दस्ताबेजको पनि कडा आलोचना गरे । प्रचारका लागि पार्टीलाई अहित हुने गरी बोल्न नहुने उनको भनाइ थियो ।

    अर्का नेता महतले पनि सभापतिमा पार्टी एकल ढंगले सञ्चालन गर्ने सोच नभएको बताए । ‘जे निर्णय गर्दा पनि रामचन्द्रजी के भन्नुहुन्छ, महामन्त्रीजी के भन्नुहुन्छ भनेर सोध्नुहुन्छ । एकल ढंगले पार्टी चलाउने बानी उहाँमा (देउवा) छैन,’ पौने दुई घण्टा बोलेका महतले भने, ‘सबैलाई मिलाउन खोज्दा पदाधिकारी बनाउन ढिलाइ भएको हो ।’ उनीहरूले विधान संशोधन गर्न तत्काल विधान मस्यौदा समिति बनाउनुपर्ने बताए ।

    केन्द्रीय सदस्य महेश आचार्यले भने नेतृत्व तहमा बसेका सबैले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने धारणा राखे । ‘हारमा नेतृत्व तहमा रहेका सबैका कमीकमजोरी छन् । मेरो भागको जिम्मेवारी म लिन्छु, अरूले पनि जिम्मेवारी लिनुपर्छ,’ उनले भने।

    प्रवक्ताले औंल्याए हारका ६ कारण 
    प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा पराजयका कारण र पार्टी रूपान्तरणका परियोजनासम्बन्धी लिखित दृष्टिकोण प्रस्तुत गरेका छन् । ५ पृष्ठ लामो दृष्टिकोणमा उनले निर्वाचन हार्नुमा ६ वटा मुख्य कारण रहेको उल्लेख गरेका छन् । त्यसमा सभापति शेरबहादुर देउवाको भूमिका र कार्यशैलीलाई भने उनले दोष लगाएका छैनन् । शर्माले कांग्रेस नेतृत्वकै सरकारले गरेका गलत निर्णय र भारतीय नाकाबन्दीमा बोल्न नसक्नुलाई ठूलो कमजोरी ठहर्‍याएका छन् ।

    आन्तरिक कारणमा मुर्झाएको आत्मीयता, छविमा क्षति, महत्त्वपूर्ण मुद्दाको बहिर्गमन, सम्प्रेषण क्षमतामा ह्रास, ओझेलमा परेको भविष्य दृष्टि र परम्परागत सांगठनिक शैली निर्वाचन हारको कारण रहेको उनले बताएका छन् । यी शीर्षकभित्र उनले आन्तरिक अन्तर्घातदेखि एकले अर्कोलाई खुइल्याउने प्रवृत्तिले हार व्यहोर्नुपरेको उल्लेख गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…