• काठमाडौं, १३ वैशाख । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेस लोहनीलाई जोगाउन गृह मन्त्रालयलभित्र सुन तस्करहरुले ठूलो चलखेल गरेका छन् ।

    सुन काण्डमा मुछिएका महानगरीय अपराध महाशाखाका तत्कालिन प्रमुख एसएसपी लोहनीलाई कारबाहीबाट जोगाउन पूर्व आईजीपीद्धय प्रकाश अर्याल र उपेन्द्रकान्त अर्याल, पूर्व एआईजी विजयलाल कायस्थ, दीपक मल्होत्रालगायतका विवादास्पद व्यापारीहरुले प्रधानमन्त्री केपी ओलीदेखि गृहमन्त्री रामबहादुर थापा ‘वादल’सम्म ठूलो रकमको चलखेल गरेको स्रोतको भनाई छ ।

    तर, यो प्रकरणमा प्रधानमन्त्री ओलीले विशेष चासो राखेका कारण अर्यालद्वय र लोहनीको खेल सफल नहुने देखिएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

    छानविन समिति गठन गर्दा नै पूर्व आईजीपी प्रकाशले आफ्ना मान्छेलाई मात्र समितिमा राखेका कारण लोहनी र डिएसपी प्रजित केसीको अहिलेसम्म पनि समितिले बयान लिएको छैन । जवकी एसएसपी लोहनी र डिएसपी केसीलाई महाशाखाबाट एक महिना अघि नै हेडक्वार्टर तानिएको थियो ।

    गृह मन्त्रालय स्रोतका अनुसार एसएसपी लोहनीले सुन तस्कर गोरे भन्ने चुँडामणी उप्रेतीसँग भित्रभित्रै साँठगाँठ गरेको खुलिसकेको छ । सुन तस्करी र हत्याको घटनामा प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि सरकारले गत महिना गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान अनुसन्धान समिति गठन गरेको थियो ।

    एसएसपी लोहनीले तल्लो तहका प्रहरीलाई बलिको बोको बनाई आफू कारबाहीबाट बच्न समितिमा रहेका डिएसपी सुदिप पाठक र इन्सपेक्टर हुँमागाई मार्फत सूचना लिएर शक्ति केन्द्रसम्म चलखेल गर्दै आएका छन् । सुन काण्डमा सनम शाक्यको हत्या भएपछि पनि सुन बरामद् नहुनु र गोरेलाई लोहनी महाशाखामा हुँदा नै भगाइएका कारण उनको शंकास्पद भूमिका देखिएको थियो ।

    एसएसपी लोहनी महाशाखामा हुँदा उनैले सनम हत्या र सुन तस्करीको अनुसन्धान शुरु गरेका थिए । तर, अनुसन्धानका क्रममा गृहको समितिले गत चैत २० र २१ गते एसएसपी लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई गृह मन्त्रालयमा बोलाएर बयान लिएको थियो ।

    प्रारम्भिक अनुसन्धानमा अपराध महाशाखाका प्रहरी अधिकारीहरुको भूमिका शंकास्पद देखिएपछि गृहसचिव स्तरीय निर्णयबाट एसएसपी लोहनी, डीएसपी केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारीबाट हटाएर अनुसन्धानमा सहयोग गर्न भन्दै पत्राचार गरिएको थियो । गृहको पत्राचारपछि उनीहरु तीनै जनालाई प्रहरी मुख्यालयको मानव स्रोत विकास विभागमा हाजिर गराइएको छ ।

    तर, अहिलेसम्म पनि घटनाका मुख्य पात्र लोहनी र केसीलाई समितिले हिरासतमा नलिनुलाई शंकास्पद रुपमा लिइएको छ । लोहनी नेतृत्वको महाशाखाले कार्यक्षेत्र नाघ्दै धरान र विराटनगर पुगेर अपरेशन गरेको र अपराधी उम्काएको थियो । जुन कुरा पुष्टि भइसकेको छ ।

    फागुन १९ गते बिहान ३ बजे धरानको भानुचोकमा प्रहरीले सेटिङमा बरामद गरेको शाक्यको शवलाई दिउँसो विराटनगरको पोखरियामा लगेर नाटकीय कथा बुनेको छानबिन समितिको अनुसन्धानका क्रममा खुलिसकेको छ । उक्त घटनाको मुख्य कारक मानिएको तस्करीको ३३ किलो सुन बरामद हुन नसक्नु र मुख्य अभियुक्त गोरे प्रहरीको सम्पर्कमा रहँदा–रहँदै भाग्नु नै लोहनी दोषी देखिने मुख्य आधार हो ।

    लोहनीले तत्कालिन आईजीपी अर्यालसँग समन्वय गरी अपराधीलाई उम्काएको र सुन समेत खोज्न आनाकानी गरेका कारण अर्याल पनि यो घटनामा दोषी ठहरिने अवस्था देखिएको छ । दुई वर्ष अगाडि तस्करीमा मुछिएका पूर्व डिआईजी गोविन्द निरौलालाई पक्रउ गरी अनुसन्धान गरिनु तर, हत्या र तस्करीमा मुख्य भूमिका देखिएका लोहनीमाथि कुनै पनि कारबाही गर्न समितिले नसक्नुलाई ठूलो आर्थिक चलखेलको रुपमा लिइएको छ ।

    तस्करीको ३३ केजी सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएका शाक्यको फागुन १८ गते उर्लाबारीमा हत्या भएको थियो । शाक्यको हत्या हुँदा समेत ३३ केजी सुन कहाँ छ भन्ने बारेमा अहिलेसम्म प्रहरीले सुईको पाउन नसक्नुलाई ठूलो कमजोरी र प्रहरीकै संलग्नताको रुपमा लिइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…