• बिहान पौने ११ बजे सुरु भएको बिहीबारको बैठकमा सुरुमै बोल्ने पालो पाए पुराना नेता गोपालमान श्रेष्ठले । उनले सवा घन्टा बोलेपछि नेताहरूले ‘भोक लाग्यो’ भन्न थाले । सदस्यहरूको मागअनुसार खाना खान बैठक स्थगित गरियो ।

    अपराह्न ३ बजेपछि सुरु भएको बैठकमा फेरि श्रेष्ठ नै बोल्न थाले । उनले पौने घन्टा थप बोले । त्यसपछि पालो आयो विजयकुमार गच्छदारको । फोरम लोकतान्त्रिकबाट केही महिनाअघि कांग्रेस भित्रिएका नेता भएकाले उनले विशेष आमन्त्रित सदस्यका रूपमा धारणा राखे ।

    ‘घाँँटीको समस्या छ, डाक्टरले धेरै नबोल्नु, ‘भ्वाइस रेस्ट’ गर्नु भनेका छन् । म छोटो बोल्छु,’ गच्छदारले भाषण सुरु गरे । तर, उनको भाषणको गति रामायण वाचन गर्न लागेजस्तो शैलीमा अगाडि बढ्यो । ३ घन्टा ५ मिनेट बोल्दा पनि उनको धीत मरेन । बिहीबारको भाषण त यत्तिकैमा अन्त्य गरे, तर शुक्रबार पुनः एक घन्टा बोल्ने गरी । शुक्रबारको बैठकमा गच्छदारले एक घन्टा जति बोल्न सक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

    ‘गोपालमान दाइले तीन घन्टा र विजय दाइले तीन घन्टा पाँच मिनेट बोल्दा बिहीबार जम्मा दुई वक्ताले मात्र बोल्नुभयो,’ शर्माले नयाँ पत्रिकासित भने, ‘अब शुक्रबार विजय दाइले एक घन्टा जति बोल्नुभयो भने पदाधिकारीले बोलेर बैठक टुंग्याउने तयारी छ ।’ बैठक सकिएपछि निर्णय सार्वजनिक गर्ने बताए।

    त्यसो त लामो भाषण गर्नेहरू गच्छदार र श्रेष्ठ मात्रै होइनन् । यसअघिका बैठकमा विमलेन्द्र निधि र डा. प्रकाशशरण महतले दुई–दुई घन्टा तथा मीन विश्वकर्मा र किशोरसिंह राठोरले डेढ–डेढ घन्टा बोलेका थिए । तर, लामो भाषण सुन्नुपर्दा अधिकांश सदस्यले भने पट्यार मानेका थिए । लामो भाषण पट्यारलाग्दो भएको गुरुराज घिमिरेले सुनाए ।

    के गर्ला निर्णय ?
    प्रवक्ता शर्माका अनुसार कांग्रेसले महासमितिको बैठक आह्वान, विधान मस्यौदा समिति गठन, पार्टी सुदृढीकरणको भावी अभियान, संविधान संशोधन, कार्यान्वयन, सरकारको काम र कदमप्रतिको धारणा, मित्रराष्ट्रहरूसँगको सम्बन्धसहितका विषयमा धारणा सार्वजनिक गर्नेछ । तर, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आफूहरूको विषय र माग सम्बोधन हुने गरी चित्त बुझ्ने निर्णय नआए थप बहस गर्नुपर्ने योजनामा छन् । आफ्ना एजेन्डा अन्तिम निर्णयमा समेटेरै छाड्ने उनीहरूको कसरत छ।

    शुक्रबार महामन्त्री डा. शशांक कोइरालाले अहिलेसम्मको छलफलको विषयलाई निर्णयको प्रस्तावका रूपमा प्रस्तुत गर्नेछन् । यो प्रस्ताव पार्टीका सबै पक्षसँगको छलफलमा आउने र निर्णय हुने प्रवक्ता शर्माले बताए ।

    पदाधिकारी छिट्टै
    प्रवक्ता शर्माले अब छिट्टै पदाधिकारी चयन हुने पनि बताए । ‘अब निर्वाचित केन्द्रीय सदस्यहरूको बैठकमा छिट्टै पदाधिकारीको प्रस्ताव सभापतिबाट हुनेछ,’ उनले भने, ‘ढिलोमा जेठको दोस्रो हप्ता कांग्रेसले बाँकी पदाधिकारी पाउनेछ ।’

    कसले के भने ?
    गोपालमान श्रेष्ठ
    एकातिर कम्युनिस्टहरूको गठबन्धन बन्नु, अर्कोतिर पार्टीभित्रै अन्तर्घात हुनु नै निर्वाचनमा हार्नुको कारण हो । पञ्चायतले दिएको दुःखसँग लड्दै आएको र विगतमा पार्टीको जिम्मेवार पदमा रहेकाले अहिले पनि महत्वपूर्ण भूमिका पाउने आशा छ ।

    सम्झौताको फाइल पेस गर्दै गच्छदारले मागे उपसभापति
    बैठकमा कांग्रेससँग पार्टी एकता गर्दाको सम्झौताको फाइल पेस गर्दै उनले ‘यथोचित समायोजन’लाई टुंगोमा पु-याउन नेतृत्वलाई आग्रह गरे । केन्द्रीय समितिमा १५ देखि २० सदस्यसहित उपसभापति, सात सय महाधिवेशन प्रतिनिधि, तीन सय महासमिति सदस्य, २० हजार क्रियाशील, ६३ जिल्लामा केन्द्र मातहतका निकायमा सम्बन्धित समितिको उपसभापतिसहित १० सदस्य र हरेक विभागमा तीन सदस्य आफूहरूलाई दिनुपर्ने माग गरेका छन् ।

    जे भन्नु छ पार्टीभित्रै भनौँ  : विजयकुमार गच्छदार
    बाहिर होइन, पार्टी सुधारका लागि नेताहरूकै अगाडि निर्धक्क भएर कुरा राख्नुपर्छ । तपार्इंहरूले कुरा नराखे पनि म राख्छु । गिरिजाबाबुसँग पनि म आफ्ना कुरा निर्धक्क राख्थेँ । प्रधानमन्त्री हुँदा किसुनजीलाई हटाउनुहुँदैन भनेर कुरा राख्ने मै हुँ । रुक्मांगद कटवाललाई हटाउन खोज्दा ‘अब्जेक्सन’ गरेँ । कांग्रेसमा हुँदा र बाहिर छँदा पनि प्रजातन्त्रका लागि लडेँ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…