• काठमाडौ। ३३ किलो सुन तस्करी र तीनजनाको हत्याको घटना निकै रहस्यमय बन्दै गएको छ। माघको पहिलो साता काठमाडौं भित्रिएको भनिएको ३३ किलो सुन भरीयामार्फत एकाएक गायब भएपछि यो घटना सार्वजनिक भएको बताइएको हो।  ३३ किलो सुन प्रकरणमै पक्राउ परेका नेपाल वायु सेवा निगमका कर्मचारी प्रेमराज चौधरीले प्रहरी वृत्त सिँहदरबारको शौचालयममै आत्महत्या/हत्या गरे। त्यसपछि सनम शाक्य र सानु बनको हत्या भएपछि उक्त घटना थप चर्चामा आएको हो। 

    त्यसपछि संलग्नको सूचीमा रहेका प्रहरी उच्च अधिकारीहरु पनि धमाधम निगरानीमा पर्दै आएका छन्। सनम शाक्यको शव भेटिएको ४ दिनपछि थाइ एयरवेजका बरिष्ठ टेक्निसियन सानु बनको विमानस्थल भित्रै दुर्घटनामा परेर मृत्यु भएको खबरले झनै बिमानस्थलमा आतंकित बनाएको छ। सानु बनको पनि हत्या हो कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

    ३३ किलो सुन प्रकरणमा सम्लग्न भनिएका तीन जना चौधरी, बन र शाक्यको हत्या भएको आशंका गरिएको छ। यसमा संलग्नहरुको हत्या हुन थालेपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति पनि गठन गरेको छ। पछिल्लो समय अनुसन्धानमा चर्चित रेस्टुरेन्ट बाजेको सेकुवाका सञ्चालक पनि छानबिनमा तानिएका छन्।

    सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक चेतन भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का राख्न पत्राचार गरेको छ। भण्डारी सो गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त भएको बताइएको छ। भण्डारीले भने अमेरिकाको न्युयोर्कबाट आफ्नो सुनकाण्डमा कुनै संलग्न नरहेको सामाजिक सञ्जाल फेसबुक मार्फत दाबी गरीरहेका छन।

    सुन लुकाउनेहरुसँग मिलेको आशंकामा शाक्यलाई नियन्त्रणमा लिई सोही गिरोहका व्यक्तिहरुले कुरा खोल्न करेन्ट लगाएका थिए। त्यही क्रममा उनको मृत्यु भएको थियो। मृत्यु भएपछि चारकोशे झाँडीमा शव लुकाउन लैजाँदै गर्दा फागुन १९ मा महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंबाट खटिएको टोलीले गाडिभित्रै शव बरामद गरी मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरीलाई पक्राउ गरेको थियो। हत्या गरिएका शाक्य सोही समूहमा एकाउन्टेन्टका रुपमा कार्यरत थिए ।

    मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समितिले तस्करीमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनामा संलग्न राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पनि पक्राउ परेका छन्। उनी २० वर्षअघि एयरपोर्टमा संगठित रुपमा सुन तस्करी गर्ने गिरोहमा आबद्ध व्यक्ति हुन्।

    त्यस्तै, भारतीय व्यापारी महावीर गोल्यानसहित प्रहरीले बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, राजन थापा, लालबहादुर मगर, राजु महर्जन लगायतलाई पक्राउ गरिसकेको छ। आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय मातादी गोल्ड प्यालेसका पवन अग्रवाल, पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकाशराज खनाल पनि प्रहरीको नियन्त्रणमा छन्।

    जिल्ला प्रहरी कार्यालय मोरङले तस्करीमा संलग्न रहेको भन्दै बाजेको सेकुवा रेस्टुरेन्टका सञ्चालक भण्डारीसहित मोहन अग्रवाल, रमेश उप्रेती, नर्वदा खरेल उप्रेती, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया, भविन राई (भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायतको बैंक खाता तथा सम्पत्ति रोक्का राखेको छ।

    गिरोहका नाइके चुडामणि उप्रेती नेपालमा चर्चित सुन तस्कर भएको प्रहरी स्रोतको दाबी छ। पटक–पटक सुन तस्करी प्रकरणमा उनको नाम जोडिने गरेको प्रहरीको दाबी छ । छानबिन समितिका अनुसार ९ महिनामा ४७ क्विन्टल  सुन अवैध तरिकाबाट नेपाल भित्रिएको छ।

    सुन तस्करीमा प्रहरी र भिआइपीहरूको समेत ‘कनेक्सन’ रहेको समितिको निष्कर्ष छ। समिति अहिलेसम्म ३० दर्जनभन्दा बढीसँग सोधपुछ गरिसकेको छ। एसएसपी श्याम खत्री र डिएसपी संजय राउत भने सम्पर्कविहीन रहेको छानबिन समितिले बताइएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…