• काठमाडौँ । ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ । प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो । उनी प्रहरीको संरक्षणमा छिन् ।

    शुक्रबार दिउँसो ३ बजे अपहरणमा परेकी बुटवलकी ती पीडितलाई प्रहरीले शनिबार बिहान ३ः३० बजे उद्धार गरेको हो । अपहरणकारी फरार छन् । ‘राम्रो घरमा काम लगाइदिन्छु’ भनी बोलाएर ती युवतीलाई बंगालीहरूले एउटा भवनमा लगेर बलात्कार गरेको पीडितले बताइन् ।

    उनका अनुसार बलात्कार घटना सार्वजनिक हुने डरले उनीहरूले हत्या योजनासमेत बनाएका थिए । तर तीमध्ये एक बंगाली हत्याको विपक्षमा उभिएपछि उनीहरूवीच विवाद भएको थियो । त्यही मौकामा आफू भागेर शौचालयमा लुकेको उनले बताइन् ।

    ‘मलाई त्यत्तिकै छाडिदिए जबर्जस्ती करणी र अपहरणको पोल खुल्ने डरले मारेर नजिकैको पानी ट्यांकीमा फ्याँकिदिने योजना बनाए । एउटा ठूलो बोरा र घन पनि ल्याए । बुर्काले मेरो मुख बन्द गरिदिए,’ उनले सुनाइन्, ‘मलाई बोलाउने बंगाली हत्याको विरुद्धमा उभिएपछि अरूले उसलाई घाँटी थिचेर कुटपिट गर्न थाले । 

    त्यही मौकामा भागेर शौचालयभित्र छिरेर ढोका बन्द गरें र प्रहरीलाई फोन गरें ।’ आफूले फोन गरेको २० मिनेटमै प्रहरी आएर उद्धार गरेको पीडित युवतीले बताइन् । प्रहरी आउँदा उनीहरू भागिसकेका थिए ।

    ती युवती १४ महिनाअघि घरेलु कामदारका रूपमा ओमन पुगेकी थिइन् । मालिकनीबाट यातना भोग्दै आएकी उनी तलबसमेत नदिएपछि ८ महिनाअघि घर छाडेर अवैध रूपमा बाहिर काम गर्दै आएकी थिइन् । ‘एउटा बंगाली नागरिकसँग सम्पर्क भएको थियो । उसले राम्रो तलब सुविधासहित राम्रो घरमा काम लगाइदिने आश्वासन दिएर मावेलामा बोलायो । घरछेउमा पुगेपछि मालिकनीलाई बोलाउँछु भन्दै घरभित्र गयो । एकछिनमा अर्को बंगालीसहितको टोली आएर नजिकैको नयाँ घरमा लिएर गए । त्यहीँ बन्दी बनाएर जबर्जस्ती गरे,’ उनले भनिन् ।

    उनले आफ्नो गुमिसकेको जीवन पुनः पाएकोमा खुसी व्यक्त गरिन् । ओमनस्थित गैरआवासीय नेपाली सामाजिक क्लबका अध्यक्ष दीपक श्रेष्ठका अनुसार मृत्युको मुखबाट जोगिएकी पीडित युवती क्लबको सम्पर्कमा छिन् । प्रहरीले घटनाको छानबिन थालेको छ । ‘अपहरण गर्ने बंगालीलाई खोजी गरी कारबाहीका लागि पहल गर्न नेपाली दूतावासलाई आग्रह गरेका छौं,’ श्रेष्ठले भने ।

    यसैबीच, ओमनको राजधानीस्थित अल हेलको सडक दुर्घटनामा पोखराकी गंगा राईको घटनास्थलमै मृत्यु भएको छ । चितवनकी लेटनी गुरुङ घाइते भएकी छन् । उनीहरू दुवै जना ओआईजी कम्पनीमा कार्यरत थिए । गुरुङको सुल्तान काबुस अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको एनआरएन क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

    घाइतेकी भान्जी निरु गुरुङका अनुसार शुक्रबार बेलुकी सडक पार गर्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनापछि तत्काल ओमन प्रहरीले उद्धार गरेको थियो । (कान्तिपुर दैनिक)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…