• नवलपरासी । गाउँघरमा एउटा बोकाको मूल्य कति पर्ला ? यहाँको एक ब्यवसायिक बाख्रापालन फर्ममा एउटा बोकाको मूल्य ३ लाख छ ।  नवलपरासीको हर्कपुरमा रहेको बगैंचा फर्म हाउसमा अष्ट्रेलियाबाट ल्याइएको  अष्ट्रेलियन बोयर जातका बाख्रा छन् । फर्ममा सबै यूरोपमा काम गरेर फर्किएकाहरु खटेका छन् ।  उनीहरूले पालेको एउटै बोकाको मूल्य यति धेरै रहेको हो ।

    पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यका कान्छा छोरा वीरभद्र आचार्यलगायत १० जनाको लगानीमा सञ्चालित फर्ममा आबद्ध सबै यूरोपमा बसेर कमाएकाहरू छन्। कृषिमा कुनै अनुभव नभएकाहरु आबद्ध भएपनि बाख्रापालन ब्यबसायमा सफल भएका छन्। उनीहरुको बाख्रापालनको सञ्जाल फैलँदो छ।

    ‘आठ वर्ष अष्ट्रेलिया बस्दा महिनाको तीन लाख बच्थ्यो,’ सञ्चालकमध्येका सन्तोष धिताल भन्छन्, ‘त्यसले चित्त बुझेन र नेपालमा केही गरौं भन्ने इच्छा जाग्यो।’ कृषि, पर्यटन र हाइड्रोमा लगानी गर्ने सोचाइ बनाएर फर्किँदा कृषिका अनौठा तथ्य बुझ्न पाएको उनले बताए। ‘कृषि मन्त्रालयमा तथ्यांक बुझन जादा भारतबाट नेपालमा वर्षेनी १७ अर्ब बराबरको खसीबोका आयात हुँदो रैछ, त्यसैले हामीलाई तान्यो,’ उनले भने, ‘त्यसपछि बाख्रापालन गर्ने निधो गरियो तर, अनुभव थिएन।’ इन्टरनेटमा संसारकै उत्कृष्ट बाख्रापालन खोज्दै जादा अष्ट्रेलिया भेटियो। २०७२ सालमा त्यहाँबाट १२ पाठी र ७ वटा बोका ल्याएको उनले बताए।

    वीरभद्र आचार्य अमेरिका बसेका, अशोक शर्मा पौडेल ६ वर्ष डेनमार्क बसेका र धिताल अष्ट्रेलिया बसेपनि बाख्रापालनको योजना बनाउञ्जेल पशु र कृषि सम्बन्धि कुनै अनुभव थिएन। ‘एउटै बोकाको २ लाख ६० हजार मूल्य तिर्‍यौं,’ धिताल भन्छन्, ‘अहिले वार्षिक ४० लाख आम्दानी छ।’ उनीहरुको फर्महाउसमा यतिबेला १ सय ६० वटा बाख्रा छन्। ४ बिघामा उन्नत जातको घाँसखेती छ।

    बोयर जातको बिशेषता जन्मेको ३ महिनामा कम्तिमा २६ किलो र वर्षदिनमा १३० देखि १५० किलोसम्म वजन हुने उनले बताए। बोयर जातको बाख्रा दैनिक २ सय ग्रामका दरले बढछ। बोका र पाठी बढा लम्बाइ बढ्छ। अग्लो हुँदैन, खँदिलो हुन्छ। मासुको स्वाद रैथाने जस्तो तिख्खर हुँदैन। बोसो नहुने र कोलेस्ट्रोल कम हुने हुँदा जुनसुकै रोगका लागेकाले पनि खान उत्तम मानिने भएकाले बजारमा माग बढ्दो छ। तर, फर्म सञ्चालकहरूको उद्देश्य मासु बेच्नु भने होइन। उन्नत जातका बोका र रैथाने बाख्रा क्रस गराएर उन्नत नश्लका पाठापाठीको उत्पादन बढाउनु हो। त्यसका लागि उनीहरुले ओखलढुंगा, झापा, रामेछाप, तनहुँ, बुटवल, बैतडी र नवलपरासीका दुई ठाउँमा बाख्रापालन सुरु गरेका छन्।

    रैथाने जातका खसीबोका एक वर्षसम्म पाल्दा ३० देखि ४० किलो तौलका मात्र हुन्छन्। खुवाइएको तुलनामा मासु कम हुन्छ। तनहुँको बन्दिपुरमा सरकारले ४० वर्षअघि खोलेको बाख्रा अनुसन्धान केन्द्रमा त्यस्तै जातका बाख्रापालन गरिएपनि ब्यापकता पाउन सकेको छैन। यही परिबेशमा उनीहरुको फर्म हाउसमा हुर्काइएका खसीबोकाको माग भने बढी छ।

    उनीहरुले उपचारार्थ राखेका बिरामीलाई डाक्टरले दिने औषधि झैं रुटिन बनाएर बाख्रालाई दानापानी र पोषिलो घाँसको ब्यबस्था गरेका छन्। पाँच जनाको परिवार बाख्रापालनमा खटने गरेको छ। बोका र पाठी क्रस गराउँदा हाडनातामा नपरोस् भनेर धेरै ख्याल गर्नुपर्ने उनीहरुको भनाई छ। हाडनाताबाट जन्मिएको बाख्रा बढ्दैन र उत्पादन कम हुन्छ।

    फर्ममा बाख्रा जन्मना साथ जन्म दर्ताको प्रमाणपत्र , हरेक दिनको गतिविधि र तथ्यांक राख्ने गरिएको छ। पाठीलाई बोका लागेको समय, प्रजनन अंगको विकास आदि र निरोगितामा विशेष ध्यान दिने गरेका छन्। उनीहरुले गत वर्ष ५५ लाखको बाख्रापाठा बिक्री गरिसकेका छन्। आउदो २ वर्षमा वार्षिक एक करोडको बिक्री गर्ने लक्ष्य उनीहरुको छ।

    उनीहरुको खोर, घाँस ख्वाउने टाटना सफा छ। जन्मेको तीन महिनासम्म दूध खाने पाठापाठी छिटो बढ्ने र दूध छाडेका बोका र पाठी बेच्ने गरेका छन्। उनीहरुको फर्मबाट बोका बाख्रा खरिद गर्ने बाख्रापालकले ६ महिना अघि नै बुकिङ गर्छन्।

    फर्मले बेच्दा बाख्रापाठाको प्रमाणपत्र दिने गरेको छ। प्रमाणपत्रमा जन्ममिति, उमेर, तौल, जात अष्ट्रेलियन हो वा क्रस र निरोगिता खुलाइएको हुन्छ। (कान्तिपुर दैनिक)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…