धनजीत पराजुली
बेलबारी नगरपालिका– ११ लक्ष्मीमार्ग, मोरङ
यहि बैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । अरु सो सरह एकजना अलि भिन्न किसिमका परीक्षार्थी एकमन, एकधुनमा धमाधम लेखिरहेका देखिन्छन् । उनी दायाँबायाँ कतै नहेरी खाली आफ्नो उत्तरपुस्तिका मात्र केन्द्रित छन् । त्यहाँ अरु जोसुकै निरीक्षणमा आउनेहरुको एक नजर उनीमाथि नगई छाड्दैन । बेलबारी नगरपालिका वडा नं. ११ लक्ष्मीमार्ग अवस्थित लक्ष्मी मावि केन्द्रमा शान्ति भगवती मावि लेटाङका आंशिक र नियमित गरी लगभग ३०० जना कक्षा १२ का विद्यार्थीहरु अहिले परीक्षामा सम्मिलित रहेका छन् । त्यहाँ उपस्थित सम्पूर्ण परीक्षार्थीमध्ये उनी पृथक छन् । विकसित देशहरुमा भन्ने हो भने शिक्षा आर्जन गर्नका लागि उमेरले छेक्दैन तर नेपालजस्तो देशको परिवेशमा भने यो लागू हुन गाह्रो भइरहेको छ किनभने यहाँको समाज जडवादी छ । परम्परावादी अन्धविश्वासले जकडिएको छ । यहाँका मानिसले एक उमेर समूहका विद्यार्थी बाहेक अन्य विशेष विद्यार्थीलाई टिकाटिप्पणी गर्ने, हियाउने, निरुत्साहित गर्ने गर्दछन् । नौलो र उदाहरणीय काम गर्ने व्यक्तिहरुप्रति समाजका केही रुढहरुले नकारात्मक दृष्टि लगाउने भएकाले तिनीहरुको चुनौतिलाई चिर्न र पढाइप्रति अनिच्छा भएका व्यक्तिको प्रेरणाका लागि ५३ वर्षको उमेरमा परीक्षा दिइरहेका व्यक्ति हुन् ध्यानबहादुर राई ।
लेटाङ नगरपालिका– ३ कमलपुर निबासी खीराबहादुर र वर्मालक्षी राईका जेठा छोरा हुन् उनी । उनी श्री शान्ति भगवती उमाविको मानविकी संकायका कक्षा– १२ का नियमित विद्यार्थी भएकाले उनी अहिले नियमित परीक्षार्थी हुन् ।
मानिसको जीवनमा केही गर्ने इच्छा र पढाइलाई उमेरले छेक्दोरहेनछ भन्ने ज्वलन्त उदाहरण बनेका छन् ध्यानबहादुर राई । खोटाङको पत्करुको स्कुलमा प्रारम्भिक शिक्षा आर्जन गरी उनी गरिबीका कारण बाबुआमा लेटाङमा बसाइँ सरी सानै उमेरमा यहाँ झरेको सम्झिन्छन् । बस्दै, रहँदै जाँदा पढाइमा मिहिनेत गरेका कारण पहिलोचोटि नै राम्रो अङ्क ल्याई उनले लेटाङबाटै एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनलाई उच्च शिक्षा हासिल गर्ने प्रबल इच्छा हुँदाहुँदै पनि व्यवहारिक कठिनाइ र गरिबीका कारण उच्च शिक्षामा लम्किन नसकेर केही वर्ष यता महाभारत प्रावि गुवाबारी, लेटाङमा साढे पाँच वर्षसम्म शिक्षकका रुपमा काम गरे । त्यसबेला शिक्षण पेशाबाट सहज रुपमा जीविकोपार्जन हुन नसक्ने स्थिति देखेपछि शिक्षण आयोग भिडेर उत्तीर्ण गरिसकेर पनि नियुक्ती नलिई उनी विदेश हानिए । विदेशमै केही कमाइ हुन थालेपछि २० वर्षसम्म उनी कुबेतमा रोजगारी गरी बसे । त्यसपछि नेपाल फर्किए । आफूले केही कमाई त गरियो । गरिबी उन्मुलनमा सहयोग त पुग्यो तर आफूले चाहे बमोजिम छोराछोरीले शिक्षा हासिल नगरेको पाए उनले । आफूले
नानीहरुलाई पूर्णरुपमा सुविधा दिँदा पनि पढाइप्रति प्रगति नभएको देख्दा र विगतमा पढाइबाट आफू बन्चित हुनुपर्दाको चोटका कारण ‘किन पढ्न सकिँदो रहेनछ ? पढ्न कत्तिको अप्ठ्यारो हुँदोरहेछ’ भनेर परीक्षणका लागि पनि उनी पढ्न थालेको बताउँछन् । तपाईप्रतिको गाउँका मान्छेको कस्तो प्रतिक्रिया छ भनेर सोध्दा उनी भन्छन्– ‘गाउँका मान्छेहरुको मिश्रित प्रतिक्रिया छ, प्रायःजसोले नकारात्मक दृष्टिकोण लगाउँछन् अनि निरुत्साहित वचनबाण हान्छन् । ‘मर्ने बेलामा हरियो काँक्रो’ सम्म भन्न छोडेका छैनन् । तथापि साथीभाइ, शुभचिन्तक, गुरुहरुले भने मलाई जहाँसम्म हौसला दिइरहेका छन् ।’ परिवारले पनि पूर्णरुपमा साथ दिएका छन् उनलाई । दैनिक रुपमा कक्षामा उपस्थित भएर प्रत्यक्ष सहभागितामा अध्ययन गर्न सुझाउँछिन् उनकी श्रीमती । आफ्नो इच्छानुसार आगाडि बढ्न र शैक्षिक योग्यता हासिल गर्नका लागि जीवनसँगिनीले कुनै बाधा व्यवधान हुन दिएकी छैनन् ।
तत्कालिन कट्टर परम्परावादी समाजलाई चुनौति दिँदै अन्तरजातीय विवाह गरेर समाजलाई आधुनिकतातर्फ डाहोर्याउन सहयोग पुर्याएका छन् उनले । अहिले उनकी श्रीमती पनि समाजमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ समाज सेवामा व्यस्त रहेकी छन् । छ वर्षदेखि सामुदायिक वन उपभोक्ता समितिमा रहेर सामुदायिक वन विकासमा सहयोग पुर्याउनुका साथै विभिन्न सामाजिक संघसँस्थामा पनि आवद्ध रही समाजसेवामा रमाएकी छन् । आफू पनि सामाजिक सेवा गर्दै आफ्नो पेशासँगसँगै अध्ययन कार्यलाई अघि बढाएका छन् ध्याबहादुरले । इच्छाशक्ति भए जे गर्न सकिन्छ भन्ने मान्यता बोकेर अघि बढेका छन् । देशमा कयौँ मान्छेहरुको उदाहरणीय कार्य हेरेर पनि उनलाई यो उमेरमा पढ्ने इच्छा जागेको हुनुपर्दछ ।
कतिपय महिलाहरुले छोराछोरीसँग स्कुल गएर बुढेसकालमा औपचारिक शिक्षा हासिल गरेका छन् भने कयौँ बृद्धबाहरुले लौरो टेक्दै गएर एसएलसी उत्तीर्ण गरेर देखाइदिएका छन् समाजलाई । यसले गर्दा अरु जो समाजमा शिक्षाको महत्व नबुझेकाहरुलाई यस्ता उदारहणले शिक्षामा अघि बढ्न प्रेरण दिन्छ भने राज्यको निरक्षरता उन्मुलनको अभियानलाई पनि सहयोग पुर्याउँछ । कुनै कुरामा सङ्कोच नमानी निस्फिक्री रुपमा आफ्नो पढाइलाई अघि बढाएको देख्दा साँच्चै उनी समाजका एक उदाहरणीय व्यक्तित्व हुन् । आफू पढेर योग्यता प्राप्त गरेर जीवनको उत्तरार्दमा समाजको सेवा गर्न चाहेका छन् । देशमा कोही नपढेको मान्छे नहोस्, शैक्षिक दर उच्च भएर जावस् भन्ने चाहन्छन् उनी । लक्ष्मी मावि लक्ष्मीमार्ग केन्द्रमा परीक्षा दिइरहेको भेटेर केन्द्राध्यक्ष गोविन्द भण्डारीसँग अनुमति लिई उनै परीक्षार्थी ध्यानबहादुर राईसँगको कुराकानीको आधारमा यो लेख तयार गर्न पुगेँ । उनको इच्छा पूरा हवस् मेरो पनि शुभकामना ।