• काठमाडौँ । सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएका यातायात व्यवसायीहरुले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन् ।

    संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर जनताले तिरेको करबाट बनेको सडकमा सेवाका नाममा एकाधिकारको व्यापार गर्दैआएका व्यवसायीले आफ्ना माग पूरा गराउन यातायात नचलाएका हुन् । सरकारले यातायातलाई कम्पनीमा दर्ता गराउनुपर्ने गरी मापदण्ड सार्वजनिक गरेपछि यातायात व्यवसायीले विरोध गर्दै आएका छन् ।

    सर्वोच्च अदालतले २०६७ माघ १९ गते यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) अन्त्य गर्न आदेश दिए पनि कार्यान्वयन हुन सकेको थिएन । व्यवसायीले आलोपालोलगायत अनेक नाममा राजधानीमै पनि यातायात क्षेत्रमा एकाधिकार कायम गर्दै आएका छन् । व्यवसायीको अनावश्यक मागले यात्रु दुःख भोग्न बाध्य हुँदा पनि सरकार रमिते बनेको सहज यातायात सुविधाका पक्षमा काम गर्दै आएका रामबहादुर थापाले बताए ।

    व्यवसायीको मारमा परेका यात्रु आज बिहानैदेखि लामो यात्रा हिँडेर पार गर्न बाध्य छन् । परीक्षा दिन हिँडेका विद्यार्थीसमेत सडकमा घण्टौँ सवारी कुरेर बस्न बाध्य छन् । गोल्डेन गेटमा कक्षा ११ मा अध्ययनरत देवराज घिमिरे घण्टौँ सवारी कुर्दा पनि नपाएपछि कारमा लिफ्ट मागेर परीक्षा दिन आएको बताउछन् ।  

    सडकमा निजी, कम्पनीमा दर्ता भएका साझा, मयूर, अन्नपूर्ण, महानगर, धूम्रबराहलगायत कम्पनीका केही सवारी मात्र गुडेका छन् । यी सवारी चक्रपथ र वरपरका मार्गमा गुड्ने गरेकाले अन्तका यात्रु हिँड्न बाध्य छन् । निजी सवारी चलाउनेले भने नाकाबन्दीका समयमा जस्तै सडकमा कुरेका यात्रुलाई लिफ्ट दिएको देखिन्छ ।

    सडकमा सवारी कुरिरहेका विद्यार्थी सुजन पौडेल सरकार निर्णयबाट पछि हट्न नहुने बताउछन् । “हामी सडकमा हिँड्न तयार छौँ, तर सार्वजनिक यातायातमा लादिँदै आएको एकाधिकार तोडेर सवारी कम्पनीमा जानुपर्छ, सार्वजनिक यातायात कम्पनीमा नजाँदा अर्बौंको राजश्व छली भएको छ,” उनले भने ।

    यातायात व्यवस्था विभागले देशभर नचलेका सवारीको सूची संकलन शुरु गरेको जनाएको छ । ‘रुट परमिट’ लिएर सम्बन्धित मार्गमा नचलाउने सवारीको मार्ग अनुमतिपत्र खारेज गर्ने तयारी गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले  जानकारी दिए ।

    “सवारी अनुगमन गर्न जिल्ला जिल्लामा टोली खटिएको छ, अनुगमन प्रतिवेदन प्राप्त भएपछि भोलिदेखिलाई विकल्प पनि सोच्छौँ,” उनले भने। विभागले अन्य विकल्प खोजेर भए पनि यात्रुलाई सेवा दिने तयारी गरेको जनाएको छ ।

    सरकारले गत साता अत्यावश्यक सेवामा बन्द हडताल गर्न नपाउने सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको थियो । सरकारले प्रकाशन गरेको सूचना विपरीत यातायात व्यवसायी लागेकाले कानूनी रुपमा हदैसम्मको कारवाहीको तयारी गरिएको विभागले जनाएको छ । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…