काँकडभिट्टा । झापा मेचीनगरको काँकरभिट्टामा जेठ १२ गतेदेखि ५ दिने केसीसी राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७५ आयोजना हुने भएको छ ।
नाइट चेस क्लब काँकरभिट्टाको आयोजनामा प्रतियोगिता जेठ १२ देखि १७ जेठसम्म सञ्चालन सञ्चालन हुन लागेको शुक्रवार काँकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । काँकडभिट्टाको घारी रेष्टुरेन्टमा हुने प्रतियागितामा मेची युमा चेस एकाडेमीको एकाडेमिक सपोर्ट हुनेछ । चेस खेलको विकाससँगै मेचीनगरलाई खेलकुद क्षेत्रको हव बनाउने उदेश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष कृष्णकान्त खनियाले पत्रकार सम्मेलनमा बताए । राष्ट्रियस्तरको यस प्रतियोगितामा मुलुकभरबाट करिब सयजना खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा मुख्य १५ सहित विभिन्न श्रेणीका ३७ वटा पुरस्कार प्रदान गरिने नाइट चेस क्लबका महासचिब सन्तोष आचार्यले जानकारी दिए । क्लबले प्रतियोगिताको पुरस्कारका लागि मात्र २ लाख ६० हजार रुपैयाँ छुट्याएको छ । प्रतियोगिताका लागि पूर्व अध्यक्ष गोपाल तामांगको संयोजकत्वमा आर्थिक समिति निर्माण गरिएको छ ।