काठमाडौं । सरकारले काठमाडौंको नयाँ बसपार्कमा रहेका सिण्डिकेट समर्थक यातायात व्यवसायीका काउण्टर हटाउने निर्णय गरेसँगै बसपार्कमा जनता उर्लिएका छन्।
आज यातायात व्यवसायीको आन्दोलनका कारण सवारी नपाएका आक्रोशित यात्रु र सिण्डिकेटधारी व्यवसायी समितिका कारण आफ्नो सवारी चलाउन नपाएका यातायात व्यवसायी मिलेर बसपार्कका सबै काउण्टरका बोर्डहरु हटाइदिएका छन् । उनीहरुले बसपार्कमा रहेका सिण्डिकेटधारी व्यवसायी समितिका काउण्टर खाली गराए।
यद्यपि यो सबै काम सरकारको नियन्त्रणमै भएको थियो । सरकारले दिउँसै सिण्डिकेटवालाहरुको काउण्टर बसपार्कबाट हटाउने निर्णय गरिसकेको थियो।
यसको लागि बल समेत प्रयोग गर्नुपर्ने आशंकासहित बसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रा.लि.ले प्रहरी सुरक्षा माग गरेको थियो।
सरकारले पनि सुरक्षा दिने आदेश प्रहरीलाई दिइसकेको थियो। यद्यपि काउण्टर खाली गराउने काममा प्रहरीले केही गर्नै परेन। सबै काम आम यात्रु र सिण्डिकेटबिनाका यातायात व्यवसायीले गरिदिए । जनताको काम जनताले नै गरेको अवस्थामा प्रहरी मौन रह्यो।
यद्यपि प्रहरी सतर्क र हाइएलर्टमा रहेको बसपार्क प्रहरी चौकीका इन्चार्ज इन्सपेक्टर प्रताप पौडेलले बताए। ‘जनताको आक्रोश थियो र त्यहाँ जे हुनुपर्ने त्यही भइरहेको थियो त्यसैले हामी हाइएलर्टमा मौन बस्यौं’ पौडेलले भने ‘हामी अप्रिय घटना हुन नदिन तत्पर थियौं तर त्यस्तो गर्नैपर्ने केही भएन।’
पौडेलका अनुसार यो काम बसपार्कको व्यवस्थापनको जिम्मा लिएको ल्होत्सेको थियो । उसले सुरक्षा मागेकोले प्रहरी उपस्थित थियो। तर जनताले नै काम गरेपछि प्रहरीले आफ्नो सुरक्षाको काममा ध्यान दियो । ल्होत्सेले आशंका गरेको बलजफ्तीको घटना हुन पाएन। भिडियो हेर्नुहोस्।