काठमाडौं- ३३ केजी सुन बेपत्ता र सनम हत्या प्रकरणमा सबैभन्दा बढी चर्चामा आएका प्रहरी हुन नायब निरीक्षक–सई बालकृष्ण सञ्जेल। महानगरीय अपराध महाशाखामा करीब एक दशकयता रहेका सञ्जेलले पाएको सूचनाका आधारमा महाशाखाको टोली धरान पुगेको थियो।
तस्करी गरी ल्याएको आफ्नो ३३ केजी सुन बेपत्ता भएपछि आक्रोसित बनेका चूडामणि उप्रेती ‘गोरे’ले सोधपुछ गर्नेक्रममा सहयोगी सनमको मृत्यु भएको भन्दै सञ्जेललाई लास व्यवस्थापन गरिदिन आग्रह गरेका थिए।
सञ्जेलले महाशाखाका आफ्ना माथिल्ला हाकिमलाई जानकारी गराएका थिए। आफूले लास व्यवस्थापन गरिदिने र त्यसबापत दुई करोड पाउने सहमतिपछि महाशाखाको टोली धरान पुगेको थियो।तर महाशाखाको टोलीले लास मात्र बरामद गर्यो, गोरेलाई पक्राउ गर्न सकेन।
महाशाखाका अधिकारीहरुले गोरेलाई पक्राउ गर्नकै लागि शव ब्यवस्थापन र दुई करोडको डिल गरेको र यसबारे प्रहरी प्रधान कार्यालय समेतलाई जानकारी गराएको बयान दिएका छन्। तर छानबिन गर्न बनेको समितीले दुई करोड माग्नुको कुनै अर्थपूर्ण औचित्य नभएको र राम्रै कामका लागि भएको थियो भन्ने आधार नदेखिएको बताउँदै महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई सन्जेललाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ।
छानबिनका क्रममा सञ्जेल र गोरेबीच लामो समयदेखी नियमित भेटघाट र सम्पर्क रहेको छानबिन समितिको निष्कर्ष छ। गोरेले सन्जेललाई मामा भन्थे। तर, स्रोतका अनुसार गोरेले सबै प्रहरीलाई ‘मामा’ भनेर सम्बोधन गर्थे। उनले प्रहरीलाई सुन तस्करीका सूचनाहरु समेत दिने गर्थे। इनकाउन्टर स्पेसियलिष्ट र गुन्डागर्दीविरुद्धको अनुसन्धानमा राम्रो पहिचान बनाएका सन्जेल कार्यसम्पादनकै कारण जवानबाट बढुवा हुँदै सईसम्म भएका थिए। मोरङ सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा सन्जेलको बयान यस्तो छ–
मिति २०६६ साल वैशाख महिनादेखि महानगरीय अपराध महाशाखा हनुमान ढोका पिलर नं.४ मा फिल्डमा रही खबर संकलनको काम गर्दै आएकोमा लगभग २ बर्ष अगाडी, मैले नचिनेको मानिसले मलाई फोन गरी तपाई सञ्जेल हो भनि सोध्दा मैले हो भने र नीजले मलाई म एसएसपी श्याम बहादुर खत्रीको मानिस हुँ, हामीहरु कही भेटघाट गरौ भनी भनेको थियो ।
मैले उसलाई आफूले नचिनेको हुनाले भेटघाट नगर्ने भनी गाली गरी फोन राखिदिए। सोही दिन एसएसपी श्याम बहादुर खत्री सरले मसँगै अपराध महाशाखामा कार्यरत सई गजेन्द्र रावललाई फोन गरी सञ्जेल भन्ने को हो ? भनी सोधेका रहेछन्। त्यसपछि सई गजेन्द्र रावलले मलाई फोन गरी तिमीले कसैलाई गाली गरेका थियौ भनी सोध्दा मैले निजलाई मलाई एक नयाँ नंम्बरबाट एसएसपी श्याम खत्रीको मान्छे हुँ भनी मैले नचिनेको मानिसले फोन गरेको थियो र मैले निजलाई गाली समेत गरेको थिए भनी सई गजेन्द्र रावल सरलाई बताए ।
त्यसकोे भोलिपल्ट एसएसपी श्याम खत्री सरले सई गजेन्द्र रावललाई फोन गरी मलाई लिएर काठमाडौको बत्तिस पुतलीमा आउनु भनेर बोलाएका रहेछन र सई गजेन्द्र रावल सर काठमाडौंको बत्तिसपुतलीमा रहेको बाजेको सेकुवा कर्नरमा पुगेर एसएसपी श्याम खत्री सरलाई भेटेर निज सई गजेन्द्र रावल सरले मलाई समेत फोन गरी सोही स्थानमा बोलाएको हुँदा त्यहाँ पुगेर एसएसपी श्याम खत्री सरलाई भेट्दा उहाँले मलाई बाबु हिजो तिमीले फोनमा गाली गरेको मानिस मेरो मान्छे हो , ऊ राम्रो मानिस हो, उसलाई गाली नगरिदिनु भनी भनेका थिए र मैले समेत ‘हुन्छ सर’ भनी लगभग १० मिनेट जति सो स्थानमा बसी म आफ्नो डेरा (कोठा) थापाथलीतिर लागेँ।
त्यस पश्चात होलीको दिन बत्तिसपुतलीस्थित बाजेको सेकुवा कर्नरमा पूर्वेली साथीहरुको होली मनाउने कार्यक्रम रहेको हुँदा म समेत सो स्थानमा गएको र सोही कार्यक्रममा एक जना मानिस म भएको स्थानमा आई मलाई तपाई सञ्जेल हो भनी सोध्दा मैले हो भनेँ र उसले मलाई अस्ती तपाईलाई एसएसपी श्याम खत्रीको मानिस हुँ भनी फोन गर्ने मानिस मै हुँ र मेरो नाम गोरे भन्ने चुडामणि उप्रेती हो र मेरो घर समेत पूर्वतिरै हो भनी मलाई बताएको थियो। गोरे भन्ने चुडामणि उप्रेति केन्द्रिय अनुसन्धान ब्युरो – सीआईबीले काठमाण्डौबाट पक्राउ गरेको ३३ केजी सुन मुद्दाको फरार अपराधी भन्ने सुनेको थिए ।
म भन्दा माथिका हाकिमहरुले भेट्ने र कुरा गर्ने र उक्त मुद्दा मिलाई सक्यो भन्ने सुनेको हुँदा मैले पनि खासै वास्ता गरिन। त्यस पश्चात हामीहरुको कहिले-काँही फोन सम्पर्क हुने गरेको थियो। गोरेले उसको सम्पर्कमा रहेका प्रहरी कर्मचारीहरुलाई ‘मामा’ भनी सम्बोधन गर्ने गरेको र मलाई समेत उसले ‘मामा’ भनी सम्बोधन गर्ने गरको थियो ।
यस्तैमा आज भन्दा ५/६ महिना अगाडि एक दिन प्रहरी जवान मेष बहादुर राना मसँंगै हुँदा गोरेले मलाई फोन गरेर कार्गो अगाडि गैरीधारामा तस्करीको सुन आउँदैछ, म पक्राई दिन्छु तुरून्तै आउनु भनेपछि मैल कति छ भनेर सोध्दा २० केजी छ भन्यो। त्यसपछि मैले सई गजेन्द्र रावललाई मलाई तस्करीको सुन सम्बन्धि एउटा सुचना आयो भनेर रिपोर्ट गरे, अपराध महाशाखाबाट डीएसपी अजय केसी सरको कमान्डमा सई गजेन्द्र रावल पनि आउनुभयो।
गोरे भन्ने चूडामणि उप्रेतीसँग सई गजेन्द्र रावल र मैले भेट्यौ। त्यो बेलामा अबदेखि मलाई यसैबाट फोन गर्नू भनी सीम सहितको २ वटा सामसुङ मोबाइल हामीलाई दियो । हामीले सुन कसरी पक्राउ गर्ने भनेर सल्लाह गर्यौै । गोरे ती गाडी नम्बर र सुन सम्बन्धि सबै सूचना दिएर फर्कियो । ऊ गएपछि मैले उक्त मोबाइल झाडीतिर फाली दिएँ, सई साबले आफैले लानुभयो। उसले दिएको सूचना अनुसार हामीले सोही दिन बागमती पुलमा मारूती भेन गाडीमा भित्री पार्टसमा लुकाई राखेको पौने २ केजी सुन र चालकलाई पक्रियौ ।
मैले त्यसपछि गोरेलाई सुराकी बापत पाउने भत्ताको लागि कसको नाम राखौ भनेर फोन गर्दा मलाई पर्दैन, तपाईहरूले मिलाउनु भनेपछि सई साबले आफ्नो मान्छेको नाम राख्नु भएछ। त्यसपछि गोरेले सई गजेन्द्र रावललाई फोन गरेर हुन्डी कारोबारको सूचना दिएछ, उसले नक्सालस्थित एक घर देखाएर गयो। सोही अनुसार अप्रेशनको लागि तयारी भएर बस्यौ ।
पैसा लिएर आउने मान्छेहरू उक्त घरमा नआएपछि काम भएन, सोही अनुसार गोरे भन्ने चूडामणि उप्रेतीलाई काम भएन भनेर सोध्दा ठिकै छ म फेरि अर्को सूचना दिन्छु भन्यो । म भाडामा बसेको घरका घर धनी कृष्ण दाहालले गौरीघाट नयाँबस्तीमा एउटा घर गोरेसँग खरिद गरेको रहेछ, घर धनी कृष्ण दाहालले घर किनेको सबै पैसा तिरी नसकेको हुँदा मलाई घर धनी कृष्ण दाहाल घरमा छ/छैन भनेर फोन गरी रहन्थ्यो ।
त्यही क्रममा आज भन्दा ३ महिना अगाडि गोरेले मलाई म तपाई बस्ने गरेको घरमा आएको छु, कृष्ण दाहाल कता छ? बुझिदिनू भनी फोन गरेर भन्यो र मैले निजलाई थाहा छैन भने । त्यसपछि पनि बिचमा कहिले काही मलाई गोरेले फोन गरी सामान्य कुरा गरीरहन्थ्यो ।
यस्तैमा गत फागुन १८ गते बिहान म मेरो हालको गोठाटारस्थित डेरा कोठामा रहेको समयमा मलाई गोरेले बिहान ६ बजेर ३७ मिनेट २४ सेकेन्डमा फोन गरी मामा मेरो सुन लुटियो, म बर्बाद भएँ, मलाई सहयोग गर्नुपर्यो भनेपछि मैले उसलाई हावा कुरा नगर, फिक्स कुरा गर, अनिमात्र म अफिसमा रिपोर्ट गर्छु भनेको र उसले मलाई म पछि भन्छु भनी फोन राख्यो । त्यसपछि उसले मलाई पुनः फोन गरी म एकजान मान्छे भन्छु त्यो मान्छे म भएको ठाँउमा ल्याईदिनुपर्छ मलाई सहयोग गरिदिनुपर्छ भन्दा मैले उसलाई हुन्छ ल ठीक छ सबै कुरा बुझ म अफिसमा भन्छु भनेर फोन राखेँ ।
त्यसपछि सोही दिन दिउँसो २ बजेर ७ मिनेटमा गोरेले मलाई फोन गरी यहाँ इन्डियनहरु आएर गोली हानेर मेरो साथी मारेँ, अरु भागे, मृतक लाश र उसलाई मार्ने घटनामा संलग्न १ जना मानिस यही छ। उसले घट्नाको जिम्मा लिन्छ, घटना स्विकार गर्छ, मलाई बचाउनु पर्यो , कति खर्च लाग्छ ? म ५ (पाँच ) करोडसम्म खर्च गर्छु भनेर मलाई भनेपछि मैले निजलाई पख, म एसएसपी दिवेश लोहनी सरलाई कुरा गर्छु र तिमीलाई खबर गर्छु भनी फोन राखेँ ।
सो पश्चात मैले लोहनी सरलाई, सर मोरङमा एक जना तस्करीले मानिस मारेछ, मलाई फोन गरेको थियो भनि मैले सरलाई जाहेर गर्दा सरले कुरा मिलाउन त भनेर भनेपछि मैले हैन सर यो डेन्जर केस हो, गोली हानेर मान्छे मारेको भनेको छ, के गर्ने सर ? त्यो फोन गर्ने गोरेसँग कुरा गर्ने कि नगर्ने ? भनी मैले सरलाई सोध्दा सरले मलाई उसँग कुरा गर्दै अफिसमा चाँडो आऊ भनेर बोलाएपछि म गोरेसँग कुरा गर्दै अफिस आएर लोहनी सरलाई भेटेँ।
मेरो गोरेसँग फोनमा भएको सबै कुरा सरलाई जाहेर गरेँ । त्यस पश्चात एसएसपी दिवेश लोहनी सरले मलाई प्रजित केसी सरलाई बोला भनेपछि मैले केसी सरलाई बोलाएँ । सोही समयमा मलाई एसएसपी लोहनी सरले एसपी सावहरुलाई पनि बोला भनेकोले मैले एसपी नरेन्द्र उप्रेती सर र एसपी उमाशंकर पन्जियार सरलाई बोलाँए। सो पश्चात लोहनी सरले मलाई ल भएको के हो सबै कुरा बताऊ भनी सोध्नुभयो।
मैले गोरे भन्ने चुडामणी उप्रेति र मबीच फोनमा भएको सबै कुरा सरहरुलाई जाहेर गरे । मैल सो समयमा लोहनी सर लगायतलाई गोरेले केस मिलाई दिए बापत नेपाली रु.५ करोड दिन्छु भनेको कुरा सुनाउँदा लोहनी सरले ल त्यसो भए तिमी कुरा नगर सबै कुरा डीएसपी प्रजित केसीले गर्छन भनी मलाई भन्नुभयो । त्यसपछि ल तुरुन्त तिमीहरु प्लेनको टिकट गरेर मोरङ तिर गई हाल भन्ने आदेश भएपछि डीएसपी प्रजित केसी सर र मैले समेत प्लेनको टिकटको लागि ट्राभल एजेन्सीहरुमा फोन गर्दा अपरान्ह चार बजेको टिकट मिल्यो।
तर सो समयमा हामीहरु तयार भई एयरपोर्टसम्म पुग्न नभ्याउने भएकोले हामीहरुले अफिसको गाडी नै लिएर जाने कुरा गरी डीएसपी केसी र म सरको घर काठमाडौंको बुढानिलकण्ठ तिर लाग्यौ । हामीहरु बुढानिलकण्ठ तिर जादै गरेको समयमा गोरेले मलाई पटक पटक फोन गरिरहेको थियो। त्यस समयमा डीएसपी सरले र मैले गोरेसँंग कुरा गरेको र सो समयमा डीएसपी प्रजित केसी सरले गोरेसँग तत्काल नेपाली २ करोड लिने र पछि नेपाली ३ करोड लिने कुरा गरेको सुनेको थिएँ ।
हामीहरुले निजलाई हामीहरु सरको घरमा पुगरे खाजा खाएर हिडिहाल्छौ भन्दै कुरा गर्दै डीएसपी सरको घरमा पुगी १०/१५ मिनेट जती बसेर निस्कियौ । हामीहरु सिन्धुली पुग्दासम्म पटक पटक गोरेसँग हामीहरुको कुरा भई रहेको थियो ।
हामीहरू सिन्धुली पुगेर खाना खाई अगाडी लागेपछी गोरेले मेरो मोबाईलमा मलाई फोन गरी उसको मोवाईलमा ब्याट्रीको चार्ज सकिएर मोबाइल अफ हुन लागेको हुनाले उसले अर्को नम्बरबाट मलाई फोन गर्ने कुराको जानकारी दियो र पछि मलाई अर्को नम्बरबाट एक जना मानिसले फोन गर्यो । मसँग फोनमा कुरा गर्ने मानिस गोरे नै होला भनेर मैले कुरा गरे। तर, मसँंग कुरा गर्ने मानिस गोरे हैन रहेछ भन्ने कुरा मैले थाहा पाएपछि मैले डीएसपी सरलाई सर यो त गोरे भन्ने चुडामणी उप्रेति हैन रहेछ भनी जानकारी गराएँ ।
प्रजित सरले तिम्रो फोन मलाई देऊ त म कुरा गर्छु भनी मसँग फोन माग्नु भएको हुँदा मैले सरलाई मेरो फोन दिएँ र सरले पनि कुरा गर्नुभयो । फोनमा बोल्ने मानिस गोरेको मानिस रहेछ र ऊ गाडीमा लाश लिएर बसेको कुरा समेत उसले हामीहरुलाई बताएको थियो । त्यस समयमा हामीहरुले उसलाई गोरे खै त ? भनी सोध्दा उसले हामीलाई गोरे यतै छ भनी बताएको थियो ।
हामीहरु धरान तर्फ जाँदै गरेको समयमा गोरेको सो मानिससँग हामीहरुको पटक पटक फोन सम्पर्क भएको थियो। हामीहरुले ती मानिसलाई हामीहरु आउँदै छौ तिमी त्यही बसि राख भनेका थियौँ । हामीहरु यसरी नै अगाडी बढिरह्यौँ । हामीहरुले ती व्यक्तिलाई हामीहरुको वास्तविक लोकेशन नदिएर फरक-फरक लोकेशन दिदै अगाडी बढेका थियौ ।
राति अन्दाजी १/२ बजे तिर हामीहरु धरान पुगेर मैले गोरेको मानिसलाई फोन गरी हामीहरु धरानको भानुचोकमा छौं, तिमी कता हो ? भन्दा निजले म नजिकै छु म आई हालें भनेर फोन राखेको केही समयमा एउटा स्कार्पीयो गाडी हामीहरु भएको स्थानमा आयो । त्यो गाडी भानुचोकमा आई सो गाडीको चालकले मलाई फोन गर्यो । मैले ईसारा दिएपछि सो गाडी रोकी त्यो मान्छे हामीहरु नजिक आयो र त्यो मानिससँग हामीहरुले परिचय गर्यौ। परिचय गर्ने क्रममा नाम सोध्दा उसले आफ्नो नाम टेकराज मल्ल ठकूरी रहेको बतायो। हामीहरुले उसँग केहीबेर घटना के हो र के, कसरी, कुन स्थानमा घटेको हो ? भनी सोध्यौं।
उसले पनि आफूलाई घटनाबारे खास कुरा थाहा नभएको, गोरेले आफूलाई अपराध महाशाखाबाट आउने प्रहरी कर्मचारीहरुलाई भेट्नु , सबै कुरा अपराध महाशाखाका प्रहरी कर्मचारीहरुले मिलाउने छन् भनी बताएको उल्लेख गर्यो। हामीले उसलाई गोरे खै त ? केस मिलाउन त गोरे चाहिन्छ भनेर सोध्दा दाई यतै हुनुहुन्छ भन्यो। हामीहरुले उसलाई गोरेलाई फोन लगाऊ भन्दा उसले गोरेको फोन अफ छ भन्यो। त्यसपश्चात हामीहरुले उसलाई यो घट्नामा संलग्न अरु को को छन भनी सोध्यौं। उसले अरु दुई जना मानिसहरु समेत सो घट्नामा संलग्न रहेको कुरा हामीहरुलाई बतायो।
हामीले उसलाई ती मानिसहरुलाई समेत फोन गरी बोलाऊ भनेको र उसले तिनीहरुको पनि फोन अफ छ भोलि बिहान बोलाउँछु भनी हामीहरुलाई भनेको थियो । त्यस पश्चात हामीहरुको ईटहरीको कुनै होटेलमा गएर केही समय रेष्ट गर्ने सल्लाह भएको र सोही बमोजिम म र मेष राना, टेकराजले चलाएको लाश सहितको गाडीमा चढ्यौ भने डीएसपी सर र प्रहरी जवान सुरेन्द्र कार्की प्रहरीको गाडीमा चढे ।
हामीहरु ईटहरीमा गई एउटा होटल खोजेर सो होटेलमा ३ वटा रुम लिएर केही समय रेष्ट गर्यौं। सो होटेलको एक रुममा डीएसपी प्रजित के सी सर, अर्को एक रुममा म र अर्को एक रुममा टेकराज , मेष र प्रहरी जवान सुरेन्द्र कार्की बसेका थियौ ।
हामीहरु सो होटेलमा पुग्दा बिहानको अन्दाजी ३/४ बजेको थियो होला । हामीहरु सो होटेलमा बस्दा लाश भएको गाडी र हाम्रो गाडी पहिले होटेलको अगाडिसँगै पार्किङ गरेकोमा केही समय पश्चात प्रहरी जवान मेष रानाले स्कार्पियो गाडी र मैले हामीहरु आएको प्रहरीको गाडी चलाएर हामीहरु ईलाका प्रहरी कार्यालय ईटहरीमा पुगेर प्रहरीको गाडी पार्किङ गरेर स्कार्पियो गाडीमा हामीहरु बसेको होटेलमा आएर सुत्यौ ।
हामीहरु पालै पालो गाडीको निगरानी गर्दै सो होटेलमा आराम गर्यौ र बिहान अन्दाजी ०५ः३० बजे तिर म सुति रहेको थिएँ, गोरेले मलाई फोन गरी उसले टेकराजलाई फोन गरेको तर फोन नउठेको कुरा हामीहरुलाई बताएर हामीहरुलाई तपाईहरू कहाँ हो भनेर सोध्यो । मैले हामी ईटहरीमा छौ भनि तिमीले के गरेको ? छिटो आऊ, तिम्रो लागि भनेर म त्यति टाढाबाट आएँ, मलाई नराम्रो भयो, तिमी जसरी पनि आऊ, ३/४ जना मान्छे चाहिन्छ, काँचो कागज र ल्याप्चे पनि लिएर आऊ ५ मिनेटको काम छ, मुचुल्का गरेपछि तिमी जाँदा हुन्छ भनेँ ।
हामीहरुलाई बताए अनुसार गोरे, सुरेन्द्र गौतम, रोहित आचार्य, टुक बहादुर राना मगर लगायत १५/१६ जनाले सनम शाक्य, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की लगायतलाई नियन्त्रणमा लिएर शारिरीक यातना दिने क्रममा सनम शाक्यको मृत्यु भएको कुरा हामीहरुलाई बताएका थिए ।
उसले हुन्छ म आउँछु भन्यो । म उसँग बोलिसकेपछि उठी टेकराज सुतेको कोठामा जाँदा टेकराज रुदैं गोरेसँग बोल्दै थियो। त्यही समयमा डीएसपी सरसँग पनि गोरेको फोनमा कुरा भयो र गोरेले फोन राख्यो । त्यस पश्चात हामीहरुले केश मिलाउन घट्नामा संलग्न कोही मानिस त चाहियो नी भनी टेकराजलाई भन्दा उसले घटनाको बारेमा हामीहरुलाई बास्तविकता बतायो । हामीहरुलाई उसले घटनामा गोरे, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की र आफू लगायत १५/१६ जना मानिसहरुको संलग्नता रहेको भनी बतायो । हामीहरुले टेकराजलाई मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई फोन गरि बोलाऊ भन्यौं।
उसले तिनीहरुलाई फोन गरेर बोलाएको केही समयमा एउटा सिल्भर रंगको टाटा पिकअप गाडीमा कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्ले त्यहाँ आई पुगे । हामीहरुले उनीहरुलाई सोधपुछ गर्दा उनीहरु गोरेको लागि काम गर्ने रहेछन् । उनीहरुले समेत करेन्ट लगाएर सनमलाई मार्ने टेकराज समेत रहेको कुरा हामीहरुलाई बताए।
उनीहरुले हामीहरुलाई बताए अनुसार गोरे, सुरेन्द्र गौतम, रोहित आचार्य, टुक बहादुर राना मगर लगायत १५/१६ जनाले सनम शाक्य, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की लगायतलाई नियन्त्रणमा लिएर शारिरीक यातना दिने क्रममा सनम शाक्यको मृत्यु भएको कुरा हामीहरुलाई बताएका थिए । सो पश्चात घट्नामा सम्बन्धित अन्य व्यक्तिहरुलाई तत्काल सम्पर्कमा ल्याउन समय लाग्ने जस्तो देखिएपछि त्यहाँ भएका सम्पूर्ण कुराहरु डिएसपी दिवेश लोहनी सरलाई रिपोर्ट गरी गाडी कहाँ सर्च गरौ भनेर सोध्नु भएको र एसएसपी सरले डीएसपी सरलाई ईटहरीमा गाडी सर्च गर्दा ईटहरीको डिएसपी संजय बहादुर राउतसँंग गोरेको चिनजान रहेको कुरा मलाई जानकारी गराउनु भयो ।
सोही समयमा कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्ले समेतले गोरे अघिल्लो दिन मात्र ईटहरीका डिएसपी सञ्जय बहादुर राउतसँग भेटघाट गरेको थियो भनी हामीहरुलाई जानकारी गराएका हुँनाले त्यस ठाँउमा गाडी सर्च हुँदा अनुसन्धान प्रभावित हुन सक्ने भएकाले मोरङको कुनै स्थानमा सर्च गर्ने भनी एसएसपी सर र डिएसपी केसी सरबीच सर-सल्लाह भए बमोजिम लाश भएको गाडी टेकराजले चलाई त्यसमा मेष राना र हाम्रो अफिसको गाडीमा डिएसपी प्रजित केसी, चालक जवान सुरेन्द्र कार्की र कृष्ण भन्ने नरेन्द्र कार्की र अर्को मे १ च ५३९५ नं.को गाडीमा म र चालक मोहन काफ्ले बसी बिराटनगरको पोखरीयामा पुगेर गाडी रोकी सर्च गर्दा लाश गाडी भित्रै भएको एकिन भयो।
हामीहरु सो स्थानमा गाडी सर्च गर्दा वरिपरि मानिसहरुको भिडभाड बढ्दै थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङमा समन्वय गरि प्रहरी निरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको प्रहरी टोली सो स्थानमा आई त्यहाँ रहेका मानिसहरुलाई व्यवस्थापन गरेको र हामिहरुले समेत टेकराज , मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीलाई जिम्मा लगायौ।
जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले लास जाँच मुचुल्का गर्न थाल्यो । मुचुल्का गर्दा गर्दै गोरेले मेरो मोबाइलमा फोन गर्यो र मैले गोरेलाई डिएसपी केसी सरसँग कुरा गर्नु भनेर मेरो फोन डिएसपी केसी सरलाई फोन दिएँ । सरले फोन राखिसकेपछि मैले गोरेसँग हजुरको के कुरा भयो सर भनी सोध्दा गोरेलाई अझै केही बिग्रिएको छैन तिमी आऊ, तिमीलाई सहज हुन्छ, सत्य कुरा बाहिर आउँछ भनेर भनेको कुरा मलाई बताउनुभयो। मेरो मोवाईलमा कल रेकर्ड नहुने हुनाले मलाई डिएसपी केसी सरले तिम्रो सीम झिक अब म तिम्रो सीम मेरो मोबाइलमा लगाई गोरेले के के कुरा भन्छ मेरो मोबाइलमा रेकर्ड हुन्छ, उसको कुरा रेकर्ड गर्नुपर्छ भनी भन्नु भएकोले मैले मेरो मोवाईलमा रहेको सिम सरलाई दिएँ।
लाश जाँच प्रकृति मुचुल्का सकेपश्चात हामीहरु समेत डीएसपी सरको आफन्तको घरमा गई खाना खाएर केही समय आराम गरी जिल्ला प्रहरी कार्यालय मोरङ गयौँ । हामीहरु जिल्ला प्रहरी कार्यालय मोरङमा एक दुई घन्टा बसेपछि डीएसपी सर मेरो सीमसहित उहाँको आफन्तको घरतर्फ जानुभयो भने हामीहरु जिल्ला प्रहरी कार्यालय मोरङको ब्यारेकमा गएर आरामा गरी बस्यौ । त्यही दिन अपरान्ह जिल्ला प्रहरी कार्यालय मोरङको टीम र म समेत कृष्ण भन्ने नरेन्द्र कार्की समेतलाई लिएर जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.१ स्थित घट्नास्थलतिर गयौ र सोही बेलुका हामीहरु पुनः जिल्ला प्रहरी कार्यालय मोरङ पुगेको र सो पश्चात म,मेष राना र .सुरेन्द्र कार्की ईटहरीमा गएर एक होटेलमा बस्यौ ।
अफिस गएको १/२ दिनपछि हामीहरुले जिल्ला मोरङ बिराटनगरमा फेला परी जिल्ला प्रहरी कार्यालय मोरङलाई जिम्मा लगाएको लास हामीहरुले पहिले नै धरानमा फेला पारी बिराटनगर पुर्याएको भनी विभिनन पत्र पत्रिकामा आयो।
भोलिपल्ट बिहान हामीहरु सबै जना धरानको बुढा सुब्बा मन्दिर गयौ । त्यसपछि बिहान १० बजेतिर हामीहरु जिल्ला प्रहरी कार्यालय मोरङ गयौ । जिल्ला प्रहरी कार्यालय मोरङ गएपछि डिएसपी केसी सरलाई हामीहरु धरानबाट आई पुग्यौं भनी जानकारी गराउँदा सरले म भएको स्थानमा मलाई लिन आऊ भनी हामीलाई बोलाउनु भएको हुँदा प्रहरी जवान सुरेन्द्र कार्की सरलाई लिन गयो।
डीएसपी सर जिल्ला प्रहरी कार्यालय मोरङमा आए पश्चात डीएसपी सरलाई मैले मेरो सीम दिनुहोस मेरो प्राईभेट कल समेत आउँछ भनी सरले प्रयोग गरेको मेरो सीम मागेँ। सोही क्रममा मैले सरलाई, सर गोरसँग हजुरको के-के कुरा भयो भनी सोध्दा उहाँले गोरेसँग कुरा भईरहेको छ, गोरेले मलाई सिङ्गापुरतिर भेटौला भनेको छ, उसँग राम्रै कुरा भई राखेको छ, ठीक छ हेरौं भन्नुभयो । त्यसपछि मैले मेरो सीम मेरो मोबाइलमा हालेँ । त्यसपछि उक्त दिन बेलुका सर समेत हामी चार जना नै ईटहरी गएर ईटहरीको होटलमा बसी भोलिपल्ट काठमाण्डौ आएका हौं ।
यत्तिकैमा अफिस गएको १/२ दिनपछि हामीहरुले जिल्ला मोरङ बिराटनगरमा फेला परी जिल्ला प्रहरी कार्यालय मोरङलाई जिम्मा लगाएको लास हामीहरुले पहिले नै धरानमा फेला पारी बिराटनगर पुर्याएको भनी विभिनन पत्र पत्रिकामा आएपछि अब हामीले गोरेलाई जसरी पनि समात्नुपर्छ भनी लोहनी सर , प्रजित र अपराध महाशाखाकै सई गजेन्द्र रावल र मबीच सल्लाह भएपछि गोरेलाई पक्राउ गर्न उसको श्रीमती र आफन्तलाई फकाई फुल्याई गरी पक्राउ गर्नको लागि गोरेको श्रीमती निरू भन्ने नर्बदा खरेल उप्रेतीसँग फोन सम्पर्क गरी भेट्ने कुरा भई सोही अनुसार काठमाण्डौको गैरीगाँउस्थित बाजेको सेकुवामा भेट्ने सल्लाह भयो।
त्यसबारे एसएसपी लोहनी सरलाई समेत जाकारी गराएपछि एक्लै नजानु सिआईबीका डिएसपी अंगुर जिसीलाई लिएर जानु, उनीसँग कुरा गर्छु भन्नुभयो र मलाई डिएसपी जिसीको फोन नम्बर दिनुभयो। मैले जिसी सरसँग फोन सम्पर्क गरेपछि भेट्न बोलाउनु भयो । मैले चलाउने गरेको स्कुटीमा चढी बाजेको सेकुवा रहेको ठाँउ गैरीगाऊ गई गोरेको श्रीमती निरूसँग भेट भई कुराकानी हुँदा डिएसपी प्रजित केसीले गोरेलाई फोनमा गाली गरेपछि डराएको र सरहरूसँंग भेट्न नआएको कुरा जानकारी गराईन्।
मैले चाँडो ल्याउनु भन्दै निरूलाई फकाएर कुरा गरेँ । केही खबर आयो भने हामीलाई जानकारी गराउनू भनी हामी त्यहाबाट फर्कियौ । त्यसपछि गोरेको बारेमा मैले निरूलाई फोन गरी सोध्दा २/४ दिन पश्चात आउने कुरा गर्थिन र २/४ दिन पश्चात समेत कुरा गर्दा गोरेसँग निरूको सम्पर्क नभएको कुरा बताएपछि उनीसँग मैले फोन सम्पर्क गर्नै छाडी दिएँ ।