देबु बानियाँ
झापा । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले नगरको समृद्धिको अभियानमा जेसीजकर्मीहरु सारथी बनेर आउन आग्रह गर्नु भएको छ ।
जेसीज पूर्व समाज झापाको तेस्रो वार्षिक साधारण सभाको शनिवार मेचीनगरको चारआलीमा उद्घाटन गर्दै नगर प्रमुख आचार्यले नगरका हरेक युवाहरुलाई व्यक्तित्व र नेतृत्व विकास गर्दै समग्र नगरको समृद्धिको अभियानमा लाग्न आग्रह गर्नु भएको हो ।
‘मेरो सोचाइमा जेसीज भनेको सेल्फी खिचेर फेसबुकमा फोटो हाल्ने मात्र होला जस्तो लाग्थ्यो’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख आचार्यले भन्नु भयो–‘तर, मेरो बुझाई र यथार्थमा फरक रहेछ । अहिले म पनि विस्तारै जेसीजलाई बुभ्mने प्रयास गर्दैछु । जेसीज यो समाज परिवर्तनको ठूलो हिस्सा रहेछ ।’
नगरले गर्ने हरेक काममा जेसीजलाई पनि सँगै लिएर अघि बढ्ने बताउँदै प्रमुख आचार्यले नगरमा रहेका हरेक युवाहरुलाई जेसीजको माध्यमबाट व्यवसायिह बनाउँदै थप उर्जावान बनाउन आग्रह गर्नु भयो । उहाँले यो वर्ष नगरका ४ वटा शाखालाई केही मात्रमा भए पनि वजेट विनियोजन गरेको बनाउँदै आगामी वर्षहरुमा थप गर्दै लैजाने बताउनु भयो । उहाँले सिंगो झापामा रहेका जेसीज शाखाहरुले युवाहरुको व्यक्त्वि विकास गर्दै समृद्ध देश निर्माणमा लाग्न आग्रह गर्नु भयो ।
नेपाल जेसीजका निर्वतमान राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीले झापा जिल्ला अन्य जिल्ला भन्दा पृथक रहेकाले यहाँ हरेक कुरामा एकता रहेको बताउनु भयो । झापाको यहि एकताका कारण आफुले राष्ट्रिय अध्यक्ष जस्तो पदमा रहेर काम गर्ने अवसर पाएको बताउनु हुँदै आगामी दिनमा पूर्व समाज झापालाई हरेक समय साथ र सहयोग गर्दै जाने बताउनु भयो ।
सोही साधारण सभाको अवसर पारेर समाजका सदस्य तथा पूर्व अध्यक्षहरु जसले स्थानीय निकायमा विभिन्न पदमा निर्वाचित भए उनीहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा विर्तामोड नगरका प्रमुख धुव्र सिवाकोटी, मेचीनगर ४ का वडा अध्यक्ष नविन बराल र कार्यकापालिका सदस्य कृष्ण कनाल रहेका छन् । धुव्र सिवाकोटी वीरता जेसीजका पूर्व अध्यक्ष, नविन बराल बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष तथा कृष्ण कनाल धुलावारी जेसीजका पूर्व अध्यक्ष हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख विमल आचार्यले सम्मान गरेका थिए । यसैगरी धुलावारी जेसीजका पूर्व अध्यक्ष अमृतलाल श्रेष्ठलाई उपचारका लागि नगद १५ हजार प्रदान गरिएको थियो ।
समाजका जिल्ला अध्यक्ष छविलाल खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रम चारआली जेसीजको आतिथ्यता ग्रहण गरेको थियो ।
उपाध्यक्ष विनोद बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव रमेशप्रसाद पोखरेलले गरेका थिए । आथित्यता शाखा चारआलीका अध्यक्ष रोहित दाहालले सहभागिलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष अनिल भेटवाल, वीरता जेसीजका संस्थापक अध्यक्ष गोपाकुमार बस्नेतलगायत झापाका विभिन्न शाखाका संस्थापक, पूर्व, वर्तमान अध्यक्ष तथा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।