देबु बानियाँ
इटहरी । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अमिष ढकालले एरिया ‘ए’ अन्तरगत रहेका आफ्नो निरुपित शाखाहरुको भ्रमण गर्नु भएको छ ।
नेपाल जेसीजको वार्षिक कार्यक्रम अनुसार राष्ट्रिय उपाध्यक्षहरुले आफ्नो क्षेत्रमा रहेका निरुपित शाखाहरुको अवलोकन गरेर त्यहाँको शाखाको जानकारी लिनु पर्ने हुन्छ । सोही कार्यक्रम अनुसार ढकालले आफ्नो क्षेत्रमा रहेका शाखाहरु भ्रमण गर्नु भएको हो । शाखा अवलोकनका क्रममा विभिन्न शाखाहरुले राष्ट्रिय उपाध्यक्ष ढकाललाई भव्य स्वागत तथा सम्मान गरेका थिए । उपाध्यक्ष ढकालको क्षेत्रमा ११ वटा शाखाहरु रहेका छन् ।
जसमध्ये इटहरी जेसीज, इटहरी लेडी जेसीज, चक्करघट्टी जेसीज, इनरुवा जेसीज, जनकपुर, उदयपुर, लहान सिटि, गोलबजार जेसीजको भ्रमण सम्पन्न भइसकेको छ । भ्रमणको क्रममा उहाँले हरेक शाखाहरुले गरेका यो वर्षका गतिविधि, आगामी योजनाका बारेमा जानकारी लिनु भएको इटहरी लेडी जेसीजकी अध्यक्ष मिनु न्यौपानेले बताउनु भयो । अध्यक्ष मिनु न्यौपानेका अनुसार सुरुङ्गामा हुने एरिया कन्फ्रेन्स र जनकपुरमा हुने राष्ट्रिय महाधिवेशनलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो । साथै नेपाल जेसीजका वर्तमान भइरहेका र आगामी कार्यक्रमहरु समेत शाखाहरुलाई जानकारी गराइएको थियो । उपाध्यक्ष ढकाललाई इटहरी जेसीजका अध्यक्ष सोमनाथ गौतम इटहरी लेडी जेसीजकी अध्यक्ष मिनु न्यौपाने, चक्करघट्टी जेसीजका अध्यक्ष देवकुमार चौधरी, इनरुवा जेसीजका अध्यक्ष कुन्दनराज मेहेता, राजविराज जेसीजका अध्यक्ष कृष्णकुमार देव, उदयपुर जेसीजका धुव्र पोखरेल, लाहान सिटि जेसीजका उमेश चौधरीले मायाको चिनोसहित सम्मान गरेका थिए । उपाध्यक्ष ढकालले बाँकी रहेका मलंगवा, टंकी र झुम्का जेसीजको एक साताभित्रमा सम्पन्न गरिसक्ने बताउनु भयो ।