• काठमाडौं , २३ वैशाख । प्रहरीले दरबारमार्गमा रहेको क्यासिनो प्यालेसमा छापा मारेको छ । दरबार हत्याकण्डपछि स्वतः नेपाल ट्रष्टमा जानुपर्ने होटल डेला अन्नपूर्णपरिसरमा रहेको उक्त क्यासिनोमा गृहमन्त्रीको आदेशमा प्रहरीले छापा मारेको हो ।

    नेपाल ट्रष्टमा जानुपर्ने अन्नपूर्ण होटलको सम्पत्तिलाई विभिन्न शक्तिकेन्द्रको आडमा व्यक्तिगत बनाउने काम गरेका कपिल राणा र सृजना राणाले उक्त अवैध क्यासिनो सञ्चालनको व्यवस्था मिलाएका हुन् । तत्कालीन राजा वीरेन्द्रको वंशनाशपछि राजपरिवारको उक्त सम्पत्ति लुकाउन राणाद्वय परिचालित छन् ।

    प्रहरीले छापा मारेर क्यासिनो प्यालेसमा रहेका सबै सामग्री नियन्त्रणमा लिएको छ । तरुण खट्टर, बलदेवराज अरोरा, आशिष गुलाटी, आनन्द एडकसहित १८ जना भारतीय नागरिक सञ्चालक रहेको भनिएको उक्त क्यासिनोमा जनही १० करोड हालेको बताइएको छ ।

    श्रीनिवासन नामको कम्पनी खोलेर अर्का नेपाली क्यासिनो दलाल विनय शाह तेलीसहित लालकिशोर शाह तेली सो कम्पनीको अध्यक्ष भनी उल्लेख गरिएको थियो ।

    भारतीय १८ जनाबाट एक सय ८० करोड ल्याएको थियो । भारतबाट एफडीआई नआएकाले सो रकम हुण्डीबाट नेपाल ल्याई अवैध रुपमा क्यासिनोमा लगानी गरेको समेत स्रोतको दाबी रहेको छ ।

    हुण्डीमार्फत नेपाल ल्याएको एक सय ८० करोड रुपैयाँमध्ये ४० करोड अन्नपूर्णमा खोलिएको अवैध क्यासिनो प्यालेसमा खर्च भएको विवरण राखिएको उच्च स्रोतको भनाइ छ ।

    त्यसमध्ये २० करोड होटललाई दिएको, १५ करोड ठाउँ मिलाइदिएबापत सृजना राणालाई घुस दिएको थियो । यसैगरी, एकपछि अर्कोलाई क्यासिनो चलाउन ठाउँ उपलब्ध गराइदिने भन्दै अवैध धन्दा नै चलाई बसेकी अन्नपूर्ण होटलकी सञ्चालिका सृजना राणाले सोही स्थान अफ्रिकन नागरिकलाई उपलब्ध गराइदिने भन्दै ५० प्रतिशत सेयर पनि दिने भनेर रकम लिएको स्रोतले जनाएको छ । यसअघि राणाले भारतीय नागरिक आशिष पटेल र धिरेन मोक्तानलाई इम्पेरियल क्यासिनो खोल्न दिएको थियो ।

    आशिषसँग सो क्यासिनो खोल्न दिने भनेर १० करोड रुपैयाँ लिन सृजनाको भाइ निरज मल्लले समेत विशेष पहल गरेका थिए । एकपछि अर्कोसँग ठाउँ मिलाइदिने भन्दै करोडौँ रुपैयाँ लिएर अकूत सम्पत्ति कमाएको राणा परिवारले पछिल्लो समयमा इम्पेरियलको प्रिलाइसेन्सलाई खारेज गरेर क्यासिनो दलाल विनय शाह तेलीलाई सृजनाले उपलब्ध गराएको आरोप समेत लागेको छ ।

    अन्नपूर्णमा पहिलो अन्ना क्यासिनो सञ्चालन हुँदै आएको थियो । क्यासिनो अन्नाले १६ करोड रुपैयाँ रोयल्टी तिर्न बाँकी रहेको छ । आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका कर्मचारी नेतृत्वसँगको मिलेमतोमा राजस्व समेत नतिरी अहिलेसम्म अटेर गर्दै बसेको छ । कर चुक्ता नगरी पर्यटन विभागसँगकै मिलेमतोमा क्यासिनो सञ्चालन गर्न अनुमति दिँदै आएको थियो ।

    होटल अन्नपूर्णकै नाम फेरेर एटलाष्टिक रिक्रिएसन सेन्टरलाई क्यासिनो प्यालेस खोल्न प्रिलाइसेन्स दिएको थियो । अन्न क्यासिनोका मजदुरले ३३ करोड रुपैयाँ तलबभत्ता समेत नदिई सृजना राणाले विभिन्न समूहलाई नयाँ–नयाँ नाममा क्यासिनो सञ्चालन गर्न ठाउँ उपलब्ध गराउँदै आएकी थिइन् । मजदुरलाई उपलब्ध गराउनुपर्ने तलबभत्ता र इम्पेरियलको प्रिलाइसेन्स खारेजीको विरुद्धमा अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

    पर्यटन विभागका कर्मचारीले होटल अन्नपूर्णको प्रलोभनमा परेर अर्को क्यासिनो खोल्न दिएका थिए । विनय साह तेली पहिला अन्ना क्यासिनोको कामदारका रुपमा रहेका थिए । उनी डलर चोरीको आरोपमा निष्काशन गरिएका कर्मचारी हुन् ।

    विनय साह तेलीलाई सो क्यासिनोबाट निष्काशन गरेपछि होटल हायात रिजेन्सीमा गई प्राइड क्यासिनो चलाउँदै आएका थिए । त्यसमा पनि अहिलेसम्म एफआईडी नआएकाले सो क्यासिनो समेत अवैधरुपमा सञ्चालन हुँदै आएको छ । विभिन्न तवरबाट आर्जन गरेको कालोधनको प्रयोग पछिल्लो समयमा आएर क्यासिनो सञ्चालनमा हुँदै आएको छ ।

    यसैक्रममा अवैध रुपमा संकलन गरेको रकमकै कमिसन प्रहरी प्रशासनमा पु-याएर आफ्नो इच्छाअनुसार चलाउनसक्ने भन्दै विनय साह तेलीले अन्नाका मजदुरलाई धम्क्याउँदै आएको समेत मजदुरहरुको गुनासो छ । नेपाल प्रहरीको अपराध महाशाखाले शुक्रबार राति छापा मारेर कम्प्युटर, ल्यापटप, महत्वपूर्ण कागजात र अवैधरुपमा सञ्चालित १२ वटा सञ्चार सेट बरामद गरेको छ ।

    विनय साह तेली भने छापा मार्न आउने पूर्वसूचना पाएसँगै भागेका थिए । पुरानो क्यासिनोकै एक अर्ब ५० करोड रुपैयाँ राजस्व तिर्न बाँकी रहेको छ । छापामा संलग्न टोलीले सो क्यासिनो प्यालेसलाई एफआईडी स्वीकृतिको पत्रसहित उपस्थित हुन निर्देशन दिएको छ ।

    सो क्यासिनो सञ्चालकले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, पर्यटन विभाग र पर्यटन मन्त्रालयलाई खानपिन र लेनदेनबाट प्रभावित पारेर प्यालेस क्यासिनो ऐनकानुनविपरीत सञ्चालन गरेको पाइएको छ । अहिलेसम्म सो क्यासिनो ट्रायलको रुपमा चलाउन पाऊँ भन्दै भनसुनको भरमा चलाउँदै आएको समेत होटल अन्नामा रहेका एक उच्च स्रोतले जनाएको छ ।

    यसअघि अदालको अन्तरिम आदेशको भरमा चलेका क्यासिनोमाथि पर्यटन मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयले कारबाही गर्ने भनेपछि क्यासिनोका सञ्चालकहरु गृहमन्त्री थापालाई भेट्न पुगेका थिए । तर, मन्त्री थापाले आफू कानुनविपरीत काम नगर्ने र राजस्व छली गर्ने क्यासिनोलाई कारबाही गर्ने बताएपछि क्यासिनो सञ्चालकहरु केही पनि नबोली उठेर हिँडेका थिए । आर्थिक दैनिकबाट । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…