• काठमाडौँ, २३ वैशाखः अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताउनुभएको छ ।

    रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले फुटबललाई व्यावसायिक रुपमा विकास गर्न देशभरबाट जनशक्ति उत्पादन गर्न ती प्रतिष्ठान खोलिने बताउँदै तल्लोस्तरसम्मै खेलको वातावरण निर्माण गर्न सोमबार बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने बताउनुभयो ।

    ‘म्याचफिक्सिङ’ रोक्न तत्काल कानून आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “म्याचफिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउन सरोकारवाला निकाय, सरकार र संसद्ले विशेष पहल लिनुपर्छ ।”

    नवनिर्वाचित अध्यक्ष शेर्पाले अनुशासन कमिटी र अपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतो तथा अनियमितता रोक्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामी सबै खेलाडीको गतिविधि नियाल्छौँ, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् ? त्यसको विषयमा पनि जानकारी लिन्छौँ ।”

    अहिले विभिन्न खेलमा ‘म्याचफिक्सिङ’ हुन थालेको र त्यसलाई रोक्नका लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको जानकारी गराउँदै उहाँले भन्नुभयोे, “त्यो सफ्टवेयरमार्फत नेचुरल (स्वाभाविक) र अननेचुरल (अस्वाभाविक) गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फत हामी अघि बढ्छौँ ।”

    पछिल्लो समय फुटबलमा ‘म्याचफिक्सिङ’ गरेको आरोप लागेको बताउँदै उहाँले भन्नुभयो, “फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्नेमा नयाँ नेतृत्व केन्द्रित हुन्छ, यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौँ ।” एन्फामा देखिएको अनियमितता रोक्नका लागि आर्थिक नियमावली जारी गरेर पारदर्शीता कायम गर्ने उहाँको भनाइ थियो ।

    अध्यक्ष शेर्पाले फुटबल प्रशासनलाई सूचना प्रविधिमा लैजाने विश्वास दिलाउँदै क्लब दर्तादेखि लिएर खेलाडीको दर्ता पनि अब अनलाइनबाटै गरिने र उनीहरुहरुले क्लब परिवर्तन गर्दा पनि अब अनलाइनबाटै गर्नसक्ने व्यवस्थाको विकास गरिने जानकारी दिनुभयो ।

    नेपाली फुटबलको विकासका लागि सबै क्लबलाई आर्थिक तथा भौतिक रुपमा दिगो बनाउने आफ्नो लक्ष्य रहेको सुनाउँदै उहाँले भन्नुभयोे, “म छुट्टीको दिनमा पनि स्तरीय लिग खेल खेलाउने तयारीमा छु ।”

    अध्यक्ष शेर्पाले अझैपनि नेपाली फुटबल खेलाडीले मासिक रु डेढ लाखदेखि दुई लाखसम्म कमाउन सक्ने अवस्था रहेको बताउँदै अब एन्फाले व्यावसायिक लिग खेलाउने तयारी गरिरहेको बताउनुभयो । (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…