देबु बानियाँ
ताप्लेजुङ । इटहरीबाट पाथीभरा दर्शनका लागि ताप्लेजुङ पुगेकी सीता गुरुङ पहाडको बाटो हिड्न सकिनन् । पहिलो पटक ताप्लेजुङ पुगेकी उनको पहाडको यात्रा पनि पहिलो थियो । तराईमा जन्मिएकी उनका लागि ३ घण्टाको बाटो हिड्न कुनै सहज थिएन भने अर्काेतिर लेक लाग्ने समस्या त थियो नै । गाडीबाट झरेर केही समय त हिड्ने प्रयास गरिन् तर सम्भव नभएपछि उनको विकल्पको रुपमा भरियालाई बोकाएर जानु मात्र थियो । विर्तामोडकी नर्वदा थापाको पनि समस्य उही हो । उनी पनि मन्दिर दर्शनका लागि ताप्लेजुङ त पुगिन तर, हिड्न नसकेपछि भरियाको भरमा मन्दिर पुगिन ।
सीता र नर्वदा त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता धेरै दर्शन गर्ने दर्शनार्थीहरुका लागि हिड्न नसक्दाको एउटै विकल्पको रुपमा यहाँका भरिया हुने गरेका छन् । नेपालीको आस्थाको धरोहरका रुपमा रहेकी पाथीभरा माताको दर्शनका लागि जाने दर्शनार्थीहरु हिड्न नसकेपछि यहाँका भरियाहरुले उनीहरुलाई बोकेर मन्दिर पुर्याउने गरेका छन् ।
धेरै दर्शाथीहरुलाई लेक लागेका कारण हिड्न गाह्रो हुने गरेको छ भने धेरै हिड्ने बानी नभएका कारण । यसो त बालबालिकादेखि बृद्धसम्मलाई पनि यति लामो बाटो हिडेर पुग्नु निकै कष्टकर बन्ने गरेको छ ।
फागुन महिनादेखि बैशाख अन्तिम सम्म पाथीभराको दर्शन गर्न आउने मानिसहरुको सेवामा यहाँका भरिया भरपर्दा साधनका रुपमा रहेका छन् । उनीहरुले हिड्न नसक्ने व्यक्तिहरुलाई सहजै रुपमा मन्दिर पुर्याएर सेवा दिने गरेका छन् । प्रतिकेजी २ सय रुपयाँका दरले मानिसलाई बोक्छन् उनीहरु । उनीहरुको यसबाट कमाइ पनि राम्रै हुने गरेको छ । विशेष गरेर २ जनाले एक व्यक्तिलाई पालै पालो बोकेर माथि मन्दिर पुर्याएर ल्याउने गरेका छन् । एक दिनमा २ टिमसम्म लगाउने उनीहरुको एक सिजनको कमाइ १ लाख देखि २ लाख सम्म हुने गरेको बताउँछन् ।
५० केजीको एक जना मान्छे मन्दिर पुर्याएर ल्याउँदा १० हजार कमाइ हुन्छ । यदि नानीको आमा बोक्न परेमा ५ वर्षसम्मको बच्चालाई निःशुल्क बोक्ने सुविधा दिएका छन् उनीहरुले । विशेष गरेर ३ महिना मन्दिरमा पुजा गर्न आउँछन् । ताप्लेजुङ बजारबाट ट्याक्सीमा ३ सय भाडाको यात्रा सकिएपरिसम्म हिडेर ३ घण्टादेखि ६ घण्टासम्म लाग्छ । हिड्न बानी भएकाले ३ घण्टामा पुरा गर्छन भने बानी नहुनेलाई ६ घण्टा लाग्छ । सरकारले केवलकारको अवधारणा ल्याएको छ । यदि यहाँ केवलकार सञ्चालन हुने हो भने सहज हुनेछ ।