• चितवन, २४ वैशाख । निर्माणाधीन नारायणगढ–मुग्लिन सडकमा वर्षासँगै पहिरो खस्न थालेको छ । पहिरोकै कारण शनिबार उक्त सडक एक घण्टा अवरुद्ध हुन पुग्यो ।

    पहिरो नियन्त्रण :  नारायणगढ–मुग्लिन सडक विस्तारका लागि काटेको पहाडबाट पहिरो झर्न रोक्नका लागि गरेको ‘जुट नेटिङ’ । जुटको नेटले खुला ठाउँ छोपेर माटो समाउने बिरुवा रोपेपछि पहिरो नजाने प्राविधिकहरू बताउँछन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

    शनिबार चितवनमा हल्का वर्षा भएको थियो । यसले बर्खाको मुख्य सिजनमा थप समस्या निम्तिने चिन्ता बढाएको छ ।
    चितवन जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार यस वर्ष पहिरोले बाटै थुनिएको यो पहिलो घटना हो । यसअघिका पहिरोमा तत्कालै एकतर्फी गाडी चलाउन सकिन्थ्यो । अघिल्ला वर्ष समस्या मानिँदै आएको सुक्खा पहिरोले पनि यसपालि खासै अप्ठेरो पारेन ।

    आयोजना कार्यालयले भने पहिरो नियन्त्रणका काम सुरु भएकाले बर्खामा पनि ठूलो समस्या नहुने जनाएको छ । ‘पानी परेसँगै पहिरो खस्ने समस्या नदेखिएको हैन तर नियन्त्रणको काम पनि सुरु गरेकाले अघिल्ला वर्षजस्तो ठूलो समस्या दोहोरिने छैन,’ आयोजनाका डिभिजनल इन्जिनियर (डीई) गोविन्द खनालले भने । आयोजनाले गत महिनादेखि पहिरो नियन्त्रणको काम सुरु गरेको र यसमा १४ करोड रुपैयाँ खर्च हुने उनले जानकारी दिए ।

    विश्व बैंकको झन्डै तीन अर्ब रुपैयाँ ऋण सहयोगमा नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूप दुई लेनको बनाइँदै छ । सुरुमा दुई वर्षभित्र काम सक्ने गरी सम्झौता भएको थियो । तर, उक्त म्याद गत वर्ष नै सकिएको छ । त्यसपछि थपिएको म्याद सकिन पनि अब महिना दिनभन्दा कम समय बाँकी छ ।

    अहिलेसम्म ८२ प्रतिशत हाराहारीमा काम सकिएको डीई खनालले जानकारी दिए । पहिरो नियन्त्रणको काम भने असारसम्म सक्ने गरी ठेक्का सम्झौता भएको उनले बताए ।

    ‘३१ ठाउँमा पहिरो जोखिम देखिएकाले तिनै ठाउँमा नियन्त्रणको काम हुन्छ,’ खनालले भने, ‘चोरखोलादेखि मुग्लिनसम्म पाँच किलोमिटरभित्रै १६ ठाउँमा नियन्त्रण गर्नुपर्ने देखिएको छ ।’ नारायणगढदेखि ३१ किमि दूरीमा पर्छ चोरमारा । अहिले पहिरो खस्न पनि त्यही क्षेत्रमा थालेको छ ।

    ‘शनिबार चोरखोलामै पहिरो खसेर बाटो बन्द भयो । गत वर्ष पनि त्यहाँ ठूलै पहिरो गएर वरपरका घरसमेत हटाउनुपरेको थियो,’ डीई खनालले भने ।

    वर्षायाममा गत वर्ष ठाउँठाउँमा पहिरो जाँदा सो सडक लगातार ४३ घण्टासम्म ठप्पै भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । सडक विस्तारको काम सुरु भएपछि सुक्खा पहिरोले दुईजनाको ज्यान लिएको छ । त्यस्तै वर्षायामको पहिरोमा परेर तीन प्रहरी र एक चालकको ज्यान गएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…