• काठमाडौं — पुराना तस्बिरहरूको संकलनकर्ता तन्नेरी जगदीश भण्डारी आफ्ना साथी मनोज मालाकारसँग संस्कृतिविद् सत्यमोहन जोशीलाई भेट्न पुगेका थिए ।
    उनी पुगेलगत्तै दुई टीभी पत्रकार पनि जोशीलाई खोज्दै त्यहीं पुगे । संयोग कस्तो भइदियो भने, सबैको झ्याप्प दाह्री थियो । जोशीले चारै जना एउटै टोलीको भन्ठानेर फ्याट्ट भनेछन्, ‘दाह्री ग्याङ नै भएर मलाई भेट्न आउनुभएछ ।’ जोशीलाई भेटेर फर्केपछि जगदीशको मनमा ‘दाह्री ग्याङ’ भन्ने शब्द खेलिरह्यो । 

     

    उनले यो कुरा केही साथीसँग साटे । अनिल पुरीले ‘दाह्री ग्याङ’ नाम राखेर फेसबुक पेज र इन्स्टाग्राम अकाउन्ट नै खोले । कम्प्युटर डिजाइनरको काम गर्ने दिपेश सिग्देल पनि यही समूहमा मिसिए र उनले ‘दाह्री ग्याङ’ का लागि विभिन्न लोगो डिजाइन गरे । रमाइलोका लागि खोलिएको फेसबुक पेज त रातारात हिट भयो । हजारौं तन्नेरीहरू पेजमा जोडिन थाले । जगदीशको मनमा केही साथी जम्मा भएर फुर्सदका बेला केही सामाजिक काम गर्ने 
    इच्छा थियो । सात महिनादेखि दाह्री पालेका जगदीशले भने, ‘अहिले त दाह्री पाल्ने प्रत्येक मान्छे आफ्नै ग्याङको जस्तो लाग्छ ।’ फेसबुक पेजपछि दाह्रीसम्बन्धी लोगो र स्लोगनको खोजी यसपछि सुरु भयो । जगदीशले नै अक्कल लगाए, ‘दाह्री ग्याङ’ को नाममा टिसर्ट छाप्ने । उनीहरूले सुरुमा ‘वियर्ड फर हर प्लेजर’ र ‘वेलकम टु जंगल’ शीर्षक राखेर टिसर्ट छापे । दुवै स्लोगनको डिजाइन दिपेशले नै गरे । जगदीशहरूको सहमति थियो, ‘प्रतिटिसर्ट पचास रुपैयाँ फाइदा निकाल्ने र त्यो रकम सामाजिक काममा खर्चने ।’ 
    अचम्मै भयो, आफ्नो समूहका लागि मात्रै छापेको टिसर्टको त देशैभरिका साथीले माग्न थाले । ‘दाह्री ग्याङ’ मा सदस्य भएका झापाका साथीहरूले पहिलो अर्डर गरे । पछि चितवन, पोखरा र अन्य ठाउँबाट पनि टिसर्टको माग आयो । त्यसपछि जगदीशले नयाँ स्लोगन निकाले, ‘मेरो दाह्री दुनियाँलाई किन भारी’ । अर्का साथी कपिल घिमिरेले नयाँ स्लोगन फुराए, ‘गालामा दाह्री काँधमा जिम्मेदारी’ । 
    यस्ता स्लोगनका टिसर्टको त झनै माग बढ्यो । अहिलेसम्म यो समूहले तीन सय टिसर्ट बेचिसकेको छ र त्यसबाट बचत रकम सामाजिक काममा खर्चिने योजना बनाइँदैछ । जगदीशलाई लाग्छ, ‘हाम्रो समाजमा दाह्री पाल्नु भनेको सेन्टी हुनु हो अर्थात् चिन्ता र पीर नपरी कसैले दाह्री पाल्दैन ।’ दाह्री पालेकै कारण जगदीशलाई धेरैले यस्तै प्रश्न सोधे । उनले भने, ‘कतिले जोगी बन्न लाग्या भनेर सोधे ।’ दाह्री पाल्नेप्रतिको यस्तो धारणा बदल्नुपर्छ भन्ने उनको बुझाइ छ । 
    सामाजिक सञ्जालबाटै यो ग्याङ कतिसम्म फैलिसक्यो भने झापाको दमक, भद्रपुर, धुलाबारी, मोरङको इटहरी र विराटनगर, चितवन, बुटवल, पोखरामा छुट्टाछुट्टै ‘दाह्री ग्याङ’ सक्रिय छन् । यस अलावा अन्य जिल्लामा पनि यो ग्याङ फैलिँदो छ । दाह्री पाल्ने र पाल्न रुचि राख्ने तन्नेरी यो लुज फोरममा आबद्ध छन् । तर समूहमा आबद्ध हुन दाह्री पालेकै हुनुपर्छ भन्ने छैन । यीमध्ये कतिपय ‘दाह्री ग्याङ’ ले सामाजिक काम पनि गरिरहेका छन् । 


    जगदीश भन्छन्, ‘दाह्री पाल्ने बैरागी र समाजप्रति जिम्मेवार हुँदैनन् भन्ने सोच बदल्नुपर्छ ।’ असार ४ मा मात्रै इटहरीको ‘दाह्री ग्याङ’ ले ‘इटहरी जाउँ पानीपुरी खाउँ’ शीर्षकमा कार्यक्रम गर्‍यो । त्यसमा ग्याङका तन्नेरीले पानीपुरी बनाएर बेचे र नाफा भएको पैसा क्यान्सरपीडित चारवर्षे बालकलाई दिए । पोखरको ‘दाह्री ग्याङ’ ले त किड्नीको बिरामीलाई सहयोग नै गर्‍यो । काठमाडौंको ‘दाह्री ग्याङ’ ले भने काभ्रेको कुनै एक गाउँमा भूकम्पपछि भत्केका गोठ बनाउने तयारी गरिरहेको छ । 
    जिल्ला–जिल्लामा खुलेका ‘दाह्री ग्याङ’ ले बैठक नै गर्न थालेपछि जगदीश र साथीले ४ असारमा काठमाडौंमा ‘दाह्री ग्याङ’ को भेला डाके । जसमा सहभागी पचासमध्ये केही चितवन र काभ्रेबाट समेत आएका थिए । यसअघि दाह्री ग्याङको भेला चितवन, झापा र पोखरालगायतका ठाउँमा भइसक्यो । ‘दाह्री ग्याङ’ का साथीले अहिले सबै सदस्यको ब्लड डाटाबेस तयार पार्दैछन् । ताकि कहीं कतै आपतकालीन रगत चाहियो भने सदस्यहरूले तुरुन्तै दिन सकून् । फेसन जस्तो देखिए पनि ‘दाह्री ग्याङ’ का साथी समाजप्रति उत्तिकै जिम्मेवार देखिन्छन् । जगदीशले सुनाए, ‘दाह्री त सिम्बोल मात्रै हो । यो साथीभाइ भेला हुने र केही नयाँ नौलो काम गर्ने प्लेटफर्म हो ।’ ‘दाह्री ग्याङ’ को लोकप्रियता विस्तारै बढ्दै छ । चार महिनाअघि खुलेको यसको फेसबुक पेजमा समेत २३ हजारभन्दा धेरै सदस्य छन् । त्यहाँ दाह्रीसँग जोडिएका रमाइला किस्सा र दाह्री स्याहारका टिप्स मात्रै छैनन्, दाह्री पाल्ने साथीका अनेक ढाँचा र ढर्राका फोटो पनि छन् । 


    चर्चित फुटबल खेलाडी मेस्सीले झुस्स दाह्री पालेर युरो कपको मैदानमा उत्रिएपछि त ‘दाह्री ग्याङ’ का साथी झनै खुसी भए । जगदीशले हँस्यौली पारामा भने, ‘हाम्रो ‘दाह्री ग्याङ’ बाट मेस्सी प्रभावित भएछन् क्यार ।’ तर हैरानीको कुरा । टिसर्ट बजारमा ‘हिट’ भएपछि अनाम व्यापारीले लोगो र स्लोगन कपी गरेछन् । जगदीशले गुनासो सुनाए, ‘हामीले टिसर्टको नाफा रकम सामाजिक काममा खर्चौंला भन्ने सोचेका थियौं, केही व्यापारीले बेइमानी गरे ।’ कान्तिपुरबाट साभार । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…