काठमाडौं । काठमाडौंको गौसलास्थित पशुपतिनाथको मन्दिर हिन्दूहरुको एक पवित्र तीर्थस्थल हो । पशुपतिनाथलाई शिवको रुपमा लिइने भएकाले शिवरात्रीमा विशेष मेला लाग्ने गर्छ । यसबेला विदेशबाट हजारौं तीर्थालु र साधु सन्तहरु आउने गर्छन् ।
विश्व सम्पदामा सूचिकृत पशुपतिनाथमा रहेको शिव लिङ्गको बारेमा कमैलाई थाहा होला । पशुपतिनाथमा स्थापित ६ फीट अग्लो र पञ्चमुखी रहेको शिवलिङ्ग विग्रहमा चारै दिशामा चार मुख र पाँचौं मुख माथिल्लो भागमा छ ।
प्रत्येक मुखाकृतिको दाहिने हातमा रुद्राक्षको माला र देब्रे हातमा कमाण्डलु छ । प्रत्येक मुखको आ–आफ्नै महत्व र नाम रहेको छ ।
जसअनुसार पूर्व दिशातर्फको मुख तत्पुरुष, दक्षिणको अघोर, उत्तरको वामदेव र पश्चिमको सद्योजात भनिन्छ । यी चारै मुखलाई चार वेदको चिह्नका रूपमा लिइन्छ । शिवपुराणमा यी शिवलिङ्गलाई ज्योतिर्लिङ्गको रुपमा ब्याख्या गरिएको छ ।
पौराणिक कथामा उल्लेख भएअनुसार कृष्णसारको रूप धारण गरेर यहाँ आएका शिव निद्रामा थिए । देवताहरूले उनलाई लैजाने क्रममा कृष्णसार रुपी शिवको सिङ भाँच्चिएर चार टुक्रा भयो । अनि भगवान् पशुपति चतुर्मुख लिङ्गको रुपमा प्रकट भएर यहाँ बसेको धार्मिक कथन छ ।