काठमाडौं । तीन वर्षमा ३८ क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट तस्करी र सनम शाक्य हत्या प्रकरणमा नयाँ–नयाँ तथ्य बाहिर आउन थालेका छन् ।
उक्त प्रकरणका मुख्य दोषी मानिएका फरार अभियुक्त मोरङ उर्लाबारीका चुडामणि उप्रेतीको डायरी र गृह मन्त्रालयको छानविन समितिको दाबीलाई मान्ने हो भने तीन वर्षमा गोरेका भागमा मात्रै लगभग एक अर्ब ५० करोड रूपैंया नाफा हुने देखिन्छ ।
गोरेको डायरीमा उल्लेख भएको विवरणअनुसार तस्करीको एक किलो सुनमा १२ लाख नेपाली रूपैंया नाफा हुन्छ । छानविन समितिको प्रतिवेदनअनुसार कम्तिमा ३८ सय किलो सुन तीन वर्षमा तस्करी भएको छ । गोरेले मात्रै कम्तिमा १२ सय ३४ किलो सुन पार गराएका छन् । यो परिमाणलाई गोरेको नाफाको हिसाब जोड्दा एक अर्ब ४८ करोड रूपैंया निस्कन्छ ।
‘गोरेको जीवनशैलीलाई हेर्दा यत्तिको नाफा हुनुपर्छ । उसको घर परिवार र विभिन्न व्यक्तिसँगको सम्बन्धका आधारले यस्तो प्रष्ट हुनसक्छ’, एक सुरक्षा अधिकारीले भने,‘यो कमाइमा उसले प्रहरीका निक्कै उपल्लो तहसम्मका अधिकारी, विमानस्थलका कर्मचारी, भरियासमेतलाई पालेको हुनसक्छ ।’
दुबईबाट सुन तस्करी गरेर भारतसम्म पुराउँदा नाफाको ५० प्रतिशतसम्म गोरेको भागमा पर्दथ्यो । त्यसकारण नै उसले नेपालको विमानस्थलदेखि भारतसम्म पार गराउने जिम्मा लिएको थियो ।
‘यतिधेरै मान्छेहरूको संलग्नता देखिँदा ऊ मुख्य नै देखिएको छ । त्यसकारण उसलाई मुख्य अभियुक्त ठहर गरी मुद्दा दायर गरिएको हो’, सुरक्षा स्रोतले भन्यो,‘सुन ढुवानीका लागि खरिद गरिएका सवारी, त्यसमा सहयोग गर्ने सय जनाभन्दा बढि मानिसहरू, विभिन्न प्रहरी विटहरू, राजश्वदेखि सवै निकायलाई गोरेले हप्ता बुझाएको हुनुपर्छ ।’